• १६ फागुन २०८२, शनिबार

मगर समुदायको मेला सुखडमा

blog

कैलालीको सुखडमा आयोजित ४४ औँ मगर दिवस कार्यक्रममा उपस्थित मगर समुदाय । तस्बिर : चाँदनी आचार्य

घोडाघोडी समाचारदाता

घोडाघोडी (कैलाली), फागुन १६ गते । नेपाल मगर सङ्घको ४४ औँ स्थापना दिवस कैलालीको सुखडमा भव्य रूपमा मनाइएको छ । शुक्रबार नेपाल मगर सङ्घ कैलालीले घोडाघोडी नगरपालिका–१, सुखडस्थित हेलिप्याडमा दिवसका अवसरमा विभिन्न कार्यक्रम गरिएको छ । घोडाघोडी नगरपालिकाका नगरप्रमुख खडकबहादुर रावतको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा कैलाली जिल्लाका सबै पालिका तथा छिमेकी जिल्लाबाट ठुलो सङ्ख्यामा मगर समुदायको उपस्थिति रहेको थियो ।

ऐतिहासिक मगर सभ्यताको गर्विलो इतिहासलाई पुनर्लेखन गरौँ, मगरात दर्शन निर्माणको सङ्कल्प गर्दै सङ्घको ४४ औँ स्थापना दिवस कार्यक्रमको आयोजना गरिएको सङ्घका कैलाली जिल्ला अध्यक्ष वीरेन्द्र थापामगरले बताउनुभयो । कार्यक्रममा मगर समुदायका विभिन्न सांस्कृतिक नाच, झाँकी प्रस्तुत गरिएको छ । मगर समुदाय, खेलाडी, कलाकारलगायत सामाजिक क्षेत्रमा योगदान पु¥याएका व्यक्तिलाई सम्मान गरिएको छ । 

मगर समुदायको वेशभूषा,भाषा, संस्कृतिको जर्गेना गर्न र सामाजिक, आर्थिक र शैक्षिक रूपबाट समुदायभित्र रहेको विकृतिलाई हटाउँदै समृद्ध मगर समाज निर्माणका लागि दस्ताबेजीकरण गराउन विभिन्न कार्यक्रम गरी दिवस मनाउँदै आएको सङ्घले जनाएको छ । मगर सङ्घका  केन्द्रीय सहअध्यक्ष खासु मगरले मगर समुदायले आफ्नो भाषा, वेशभूषा, संस्कृति, संस्कार, खानपान, धर्म संरक्षणसँगै पुस्तान्तरण गर्नुपर्ने आवश्यकता रहेको बताउनुभयो । उहाँले मगर समुदायलाई सामाजिक, आर्थिक, राजनीतिक रूपमा सशक्त बनाउन दिवस कार्यक्रमले सहयोग गर्दै आएको उल्लेख गर्नुभयो ।

नगरप्रमुख रावतले नगरमा विभिन्न जातजाति, समुदायको बसोबास रहेको उल्लेख गर्दै हरेक समुदायको चौतर्फी विकास र संस्कृति संरक्षणका लागि नगर सरकारले सक्दो सहयोग गर्दै आएको बताउनुभयो ।

नेपाल मगर सङ्घको स्थापना २०३९ साल फागुन १५ गते भएको थियो । सोही दिनलाई देशभर हरेक वर्ष दिवसका रूपमा विभिन्न कार्यक्रम गरी मनाउँदै आएको कैलाली जिल्ला उपाध्यक्ष बिमा पुनमगरले बताउनुभयो । उहाँले गत वर्ष धनगढीमा दिवस मनाइएको उल्लेख गर्दै कैलालीमा २०५२ सालदेखि दिवस मनाइँदै आएको जानकारी दिनुभयो । यस वर्ष दुई दिनसम्म मनाइने दिवसको दोस्रो दिन समीक्षासहित समापन हुने जनाइएको छ ।