• २८ वैशाख २०८१, शुक्रबार

पोखरामा गत आर्थिक वर्षमा झण्डै पाँच अर्ब राजस्व सङ्कलन

blog

काठमाडौं, साउन ३ गते । आन्तरिक राजस्व कार्यालय पोखराले गत आर्थिक वर्षमा चार अर्ब ८८ करोड रुपियाँ राजस्व सङ्कलन गरेको छ ।

गत आर्थिक वर्ष २०७८/०७९ मा कुल पाँच अर्ब १० करोड रुपियाँ राजस्व सङ्कलन गर्ने लक्ष्य रहेकोमा कार्यालयले लक्ष्य नजिक ९६ प्रतिशत राजस्व सङ्कलन गरेको उल्लेख गरेको छ ।

कार्यालयले आर्थिक वर्ष २०७७/०७८ मा चार अर्ब ४० करोड मात्र राजस्व सङ्कलन गरेको थियो । अघिल्लो आर्थिक वर्षभन्दा यो वर्ष राजस्व सङ्कलन बढेको छ । पोखरा आन्तरिक राजस्व कार्यालय प्रमुख रमेश शर्माले आर्थिक वर्ष २०७८/०७९ मा आयकर १०६ प्रतिशत, घरबहाल कर १२२ प्रतिशत, ब्याजकर ७३ प्रतिशत, मूल्य अभिवृद्धिकर ८५ प्रतिशत, अन्तःशुल्क कर ६९ प्रतिशत, स्वास्थ्य १७७ र शिक्षातर्फ ४ प्रतिशत गरी जम्मा ९६ प्रतिशत राजश्व सङ्कलन भएको बताउनुभयो ।

उहाँले मूल्य अभिवृद्धि कर भने लक्ष्य अनुसार सङ्कलन हुन नसकेको जानकारी दिनुभयो । प्रमुख शर्माले कोरोनाको प्रभावका कारण व्यापार व्यवसायले राम्रोसँग लयमा आउन नसक्नु र स्थानीय, प्रदेश सरकारले बजेट पूर्ण रुपमा खर्च नगरेकोले मूल्य अभिवृद्धिकर कम भएको बताउनुभयो ।

राजस्व सङ्कलन वृद्धिदरअनुसार कमै भए पनि यो रकम सन्तोषजनक नै मान्नुपर्ने उहाँको भनाइ छ । कार्यालय प्रमुख शर्माले पोखराको राजस्व सङ्कलनको मुख्य स्राेत पर्यटन रहेको भन्दै कोरोनाले पर्यटन व्यवसाय तङ्ग्रिन नसकेकोले लक्ष्य हासिल हुन नसकेको स्वीकार गर्नुभयो ।

आन्तरिक राजस्व कार्यालय पोखरामा हाल करदाता एक लाख ७५ हजार छन् । तीमध्ये ६१ हजार भ्याटमा छन् । प्रमुख शर्माले फर्म दर्ता नगरी सञ्चालन गरेकालाई करको दायरामा ल्याउने बताउनुभयो ।

उहाँका अनुसार कार्यालयले पनि बेलाबेलामा करदाता शिक्षा र बजार अनुगमन गर्दै आएको छ । करको दायरा वृद्धि गर्दै कर छल्ने प्रवृत्ति र चुहावट घटाउनेतर्फ पनि कार्यालय लागि परेको छ । विगतमा गण्डकीका विभिन्न जिल्लाको राजस्व प्रदेश राजधानी पोखरामै हुने गरेकोमा अहिले स्याङ्जा, बागलुङ, तनहुँ र नवलपुरबाट समेत राजस्व सङ्कलन गरिन्छ  ।