• १३ साउन २०८१, आइतबार

मानव तस्करको निशानामा चेलीबेटी

blog

जानु पाण्डे

कपिलवस्तु, साउन ३ गते । अर्घाखाँचीकी सीमा (नाम परिवर्तित) फुपूसँगै अध्ययनका लागि भारत गइन । आफ्नै सहोदर फुपूले नै अध्यापन गराउँछु भनेपछि आफन्तको रोहवरमा १५ वर्षको उमेरमै सीमा भारत पुगिन् । भारत गएको वर्षदिन नबित्दै फुपूले सीमाको एक भारतीयसँग जबरजस्ती विवाह गराइदिइन् । त्यसपछि श्रीमान् भनिएका ती भारतीय नागरिकले सीमालाई होटेलमा अवैध क्रियाकलाप गर्न बाध्य बनाए । 

अध्ययन गर्न भनेर गएकी सीमालाई होटलमा देहव्यापार गर्न बाध्य पारेपछि फुपूको कर्तुत राम्रैसँग थाहा पाइन् र कसो–कसो गरी भागेर नेपाल पर्किन सफल भइन् । सीमा यो घटनाका एक पात्र हुन् । धेरैजसो नेपाली चेलीबेटीलाई यस्तै प्रलोभन देखाई भारत पु-याई देहव्यापारमा लगाउने गरेको पाइएको छ । 

यो मानव तस्करको एक डरलाग्दो जालो हो । आफ्ना आफन्त र नातागोताका व्यक्तिहरू नै प्रलोभनमा पर्दा सीमा जस्तै सयौँ नेपाली चेली हरेक वर्ष नराम्रो कामका लागि भारत पु-याइने गरेको छ । नेपाल प्रहरीले कपिलवस्तुका सीमा नाका हुँदै भारत तथा तेस्रो मुलुकतर्फ लैजाँदै गरेका ३५८ जना नेपाली चेलीको उद्धार गरेको छ । रोजगारी दिलाउने बहाना बनाई भारत हुँदै खाडी पु-याउन सीमा नाकामा पु-याइएकाको उद्धार गरिएको प्रहरीले जनाएको छ । 

नेपाल–भारत सीमा नाकाबाट उद्धार गरिएकामध्ये अधिकांश २० देखि २५ उमेर समूहका युवती छन् । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक जेसी शाहका अनुसार भारततर्फ अवैध रूपमा जाने धेरैजसो विपन्न परिवारका छोरी चेली छन् । 

मानव तस्करीमा संलग्न ‘दलाल’ले महिलालाई विभिन्न प्रलोभनमा पारी सुरक्षाकर्मी र सीमा नाकामा कार्यरत संस्थाका प्रतिनिधिलाई झुक्काएर सीमा पार गराउँदै आएका छन् । सीमा पार गर्ने क्रममा शङ्काको आधारमा सोधपुछ गर्दा धेरै महिलाको उद्धार गरिएको  प्रवक्ता शाहले बताउनुभयो । 

कृष्णनगर नाकाबाट शान्ति पुनस्र्थापना गृहले गत वर्ष मात्र २६७ चेलीबेटीलाई उद्धार गरी परिवारको जिम्मा लगाएको छ । भारततर्फ अवैध रूपमा जाँदै गरेका छ हजार २५५ जनालाई परामर्श दिएको छ ।सो गृहले केही महिनाअघि भारत पुगेका दुई किशोरीको उद्धार गरेको थियो । उनीहरू तीन महिनादेखि अलपत्र परेका थिए । जसमध्ये अर्घाखाँची घर भएकी चेलीलाई देहरादुनबाट र नुवाकोटका एक जनालाई विहारबाट उद्धार गरिएको थियो ।

यसैगरी मानव तस्करको जालमा परी भारत जाँदै गरेका १०६ युवतीलाई आफन्त नेपाल संस्थाले उद्धार गरेको छ । आफन्त नेपालका कार्यक्रम संयोजक केशर विश्वकर्माका अनुसार ९२ जनालाई गत आर्थिक वर्षमा परिवारको जिम्मा लगाइएको थियो ।

उहाँका अनुसार बहुविवाह, घरेलु हिंसा, कर्जाको किस्ता तिर्न नसकेका, जागिर पाउने आश र बिहे गर्ने प्रलोभनमा परी दलालमार्फत महिला भारत जाने गर्छन् । गत आर्थिक वर्षमा रोजगारीलगायतका प्रलोभन देखाई भारत पु-याइ अवैध क्रियाकलापमा संलग्न गराउने कार्यमा संलग्न पाँच जनाविरुद्ध प्रहरीको सहयोगमा अदालतमा मुद्दा दर्ता गरिएको थियो ।