• २८ वैशाख २०८१, शुक्रबार

खानेपानी आयोजना निर्माणमा ढिलाइ

blog

रेखीराम राना

पाल्पा, साउन ३ गते । तानसेन लिफ्टिङ खानेपानी आयोजनाको निर्माण कार्यमा ढिलाइ भएको छ । पहिलो चरणमा निर्माण गरिएको इनारबाट पानी पम्पिङ हुन नसकेपछि दोस्रो चरणको कामले गति लिन नसकेको हो ।   पहिलो चरणअन्तर्गतको तानसेन–१३, बौघागुम्हास्थित कालीगण्डकी नदीबाट लिफ्टिङ गरेर प्रतिसेकेन्ड ३६ लिटर पानी झार्ने योजना थियो तर पहिलो चरणमा निर्माण गरेको इनारबाट ‘स्टिमेट’ गरेअनुसारको पानी पम्प हुन नसकेपछि दोस्रो आयोजना अगाडि बढ्न सकेको छैन । तानसेनवासीको कालीगण्डकीको पानी पिउने सपना तत्काल साकार नहुने अवस्था देखिएको छ । सात महिनाअघि छवटा स्टेसनमार्फत एक हजार ४४ मिटर उचाइमा रहेको रिजर्भ ट्याङ्कीमा पानी ल्याइएको थियो । 

तर उक्त स्थानबाट पानी धमिलो आएको र स्टिमेटअनुसार पानी नझरेको प्राविधिकको भनाइ छ । पहिलो चरणको इनारबाट प्रतिसेकेन्ड ३६ लिटर पानी नझरेकाले दोस्रो चरणमा २०७७ माघ २९ गते पुनः इनार र फिल्टर गर्ने ट्याङ्की बनाउन ठेक्का भएको थियो ।    पहिलो चरणमा कालीगण्डकीदेखि तानसेनको खानेपानी रिजर्भ ट्याङ्कीसम्म पर्याप्त पानी नआएको उपभोक्ता समितिका सचिव केशव पौडेलले बताउनुभयो । दोस्रो चरणको काममा समेत ठेकेदारले मुहानमा फिल्टर ट्याङ्की र पम्पिङ गर्ने ट्याङ्की बनाउन ढिलाइ गरिरहेको छ, उहाँले भन्नुभयो ।  

दोस्रो चरणको काम गर्न भीमेश्वर राजेश्वरी र जीएस जेभीले दुई वर्षअघि छ करोड २८ लाख ९३ हजारमा ठेक्का लिएको थियो तर म्यादभित्र काम नसकेपछि दोस्रो पटक आगामी २०७९ कात्तिक ८ गतेसम्ममा काम सक्ने गरी म्याद थप गरिएको सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना अर्घाखाँचीका सब–इन्जिनियर योगेन्द्र यादवले बताउनुभयो ।

 उहाँले दोस्रो चरणअन्तर्गतको काममा पानी प्रशोधन ट्याङ्की र रिजर्भ ट्याङ्की बनाएर ८० प्रतिशत काम सकिएको बताउनुभयो । पहिलो चरणमा छवटा पम्प स्टेसन, पाँचवटा ट्याङ्की निर्माण, पम्प हाउस र मान्छे कुर्ने घर निर्माणको काम सकिएको छ । यस्तै पाइप बिस्तार, विद्युत् बिस्तार, मूल ट्याङ्की बनाउने कामसमेत सकिएको छ । पाँच वर्षअघि पहिलो चरणको काम गर्न रमन मृत सञ्जीवनी जेभी काठमाडौँसँग २५ करोड ३९ लाखमा सम्झौता भएको थियो ।

महìवाकाङ्क्षी आयोजनाका रूपमा रहेको तानसेन खानेपानी आयोजनाको सङ्घीय सरकारको ९० प्रतिशत र तानसेनका उपभोक्ताको १० प्रतिशत लगानी छ । तानसेनको ५० हजार जनसङ्ख्यालाई दैनिक ३५ लाख लिटर खानेपानीको आवश्यकता परिपूर्ति गर्न कालीगण्डकीबाट लिफ्टिङ गरी तानसेनमा पानी ल्याउने योजना अघि बढाइएको थियो । अहिले तानसेनमा खानेपानीको अभावका कारण सातामा एक दिन मात्र उपभोक्ताको घरमा पानी आउने गरेको छ । नेपाल सरकारले तानसेनलाई सुक्खा क्षेत्र घोषणा गरेर बजेट तथा योजना छनोट गरेको हो ।