• ११ फागुन २०८२, सोमबार

नेवानिले दियो धेरै यात्रुलाई सेवा

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, फागुन ११ गते । नेपालबाट अन्तर्राष्ट्रिय उडान गर्दै आएका ३० वटा वायुसेवा कम्पनीमध्ये यस वर्ष नेपाल वायुसेवा निगमले सबैभन्दा धेरै यात्रुलाई हवाईसेवा दिएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार सन् २०२६ को जनवरीमा निगमले तीन सय उडान अवतरण गरेर ५४ हजार ३९८ यात्रुलाई हवाईसेवा दिएको छ । 

यो सङ्ख्या जनवरीमा नेपालमा सबैभन्दा बढी उडान गरेको एयर अरेबियाको भन्दा बढी हो । एयर अरेबियाले जनवरीमा गरेका ३७२ उडान अवतरणमार्फत ४७ हजार ५१९ यात्रुलाई सेवा दिएको छ । विमानस्थल कार्यालयका अनुसार कतार एयरवेजले १५८ उडान अवतरणबाट ४२ हजार ११ यात्रुलाई उडान सेवा दिएको छ । हिमालय एयरलाइन्सले २७० उडान अवतरणबाट ३५ हजार ५४ यात्रुलाई सेवा दिएको छ भने इन्डिगो एयरलाइन्सले २३२ उडान अवतरणबाट ३४ हजार ४७८ यात्रुलाई उडान सेवा दिएको छ ।  

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट जनवरीमा अन्तर्राष्ट्रियतर्फ भएका दुई हजार ९४९ उडान अवतरणमार्फत चार लाख ३१ हजार ६३५ यात्रुले हवाईयात्रा गरेका छन् । 

त्यस्तै आन्तरिकतर्फ सोही अवधिमा भएका छ हजार ८०९ उडान अवतरणमार्फत तीन लाख १८ हजार ५४८ यात्रुले देशका विभिन्न गन्तव्यमा ओहोरदोहोर गरेका छन् ।

जनवरीमा सबैभन्दा बढी बुद्ध एयरका तीन हजार १६१ उडान अवतरणमार्फत एक लाख ७५ हजार ६१५ यात्रुले उडान भरेका छन् । श्री एयरलाइन्सका एक हजार ५० उडान अवतरणमार्फत ६९ हजार ६१२ र यती एयरलाइन्सका एक हजार १२ उडानमार्फत ६६ हजार ७७४ यात्रुले उडान भरेका छन् ।

हाल नेपालको ४२ देशसँग द्विपक्षीय हवाई सम्झौता रहे पनि १४ वटा देशका वायुसेवा कम्पनीले नियमित उडान गर्दै आएका छन् । सबैभन्दा बढी भारत र चीनबाट चार/चार वटा वायुसेवा कम्पनीले उडान गर्दै आएका छन् । त्यस्तै थाइल्यान्ड र संयुक्त अरब इमिरेट्सबाट तीन तथा मलेसिया, भुटान र कुवेतबाट दुई/दुई वायुसेवा कम्पनीले नेपालमा उडान गर्दै आएका छन् । नेपालबाट निगम, हिमालय र बुद्ध एयरले अन्तर्राष्ट्रिय उडान गर्दै आएका छन् ।