• १३ साउन २०८१, आइतबार

मूर्तिमा जडित सुनचाँदीको गहना चोर्ने तीन पक्राउ

blog

मूर्तिमा जडित सुनचाँदीको गहना चोर्ने तीन जनालाई पक्राउपछि सार्वजनिक गर्दै प्रहरी । तस्बिर : महानगरीय प्रहरी परिषर

गोरखापत्र अनलाइन

काठमाडौं, साउन २ गते । प्रहरीले काठमाडौंको नक्सालस्थित सन्तोषी माताको मूर्तिमा जडित सुनचाँदीको गहना चोरी गरेको आरोपमा तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोक चौतारा घर भई हाल काठमाडौं गौरीघाट बस्ने १८ वर्षीया सबिना पराजुली, गुल्मी मुर्साकोट नगरपालिका–२ घर भई हाल काठमाडौं खरिबोट बस्ने २५ वर्षीय विष्णु पछाई र सर्लाहीको लालबन्दी नगरपालिका–१६ घर भई हाल काठमाडौं गौरीघाट बस्ने २० वर्षीय सिद्धार्थ बुढाथोकी रहेका छन् ।

उनीहरुलाई मूर्तिमा जडित सुनचाँदीको गहना चोरी गरेको आरोपमा प्रहरीले आइतबार नियन्त्रणमा लिएको हो । उनीहरुको साथबाट एक थान सुनको तिलहरी, दुई थान चाँदीको करुवा, एक थान चाँदीको सिसा दानी, एक थान चाँदीको चुकुन्दा, एक थान चाँदीको ऐना, एक थान चाँदीको मुकुट, दुई थान चाँदीको पाता, पाँच थान चाँदीको दियो, दुई थान चाँदीको गिलास, चार थान कचौरा, तीन थान चम्चा, एक थान अर्घ ११ थान चाँदीको दियो बाल्ने, एक थान चाँदीको लकेट, दुई थान चाँदीको माला, एक थान चाँदीको बथनी र १३४ थान विभिन्न सिक्का प्रहरीले बरामद गरेको छ । 

गत असार २३ गते काठमाडौं महानगरपालिका–१ नक्साल नागपोखरीस्थित सन्तोषी माताको मन्दिरको ताल्चा तोडर सुनचाँदीका अन्दाजी १०–१२ लाख बराबरको गरगहना चोरी भएको थियो । चोरी भएको सूचना प्रहरीले प्राप्त गरेपछि मन्दिर पुगेर विभिन्न प्रविधिहरुको प्रयोग गरी घटनाको अनुसन्धान गरेको थियो ।

अनुसन्धानका क्रममा प्रहरीले घटनामा संलग्न रहेकाहरुको पहिचान गरी चोरी भएका गरहगनासहित पक्राउ गर्न सफल भएको महानगरीय प्रहरी परिसरका प्रवक्ता दिनेशराज मैनालीले बताउनुभयो । उहाँका अनुसार उनीहरुमाथि मुलुकी अपराध (संहिता) ऐन, २०७४ को परिच्छेद–२० को चोरी तथा डाँकासम्बन्धी कसूरको देहाय २४१ ‘चोरी गर्न नहुने’ कसूरमा जिल्ला अदालत काठमाडौंबाट सात दिनको म्याद लिई प्रहरी बृत्त मालीगाउँले थप अनुसन्धान गरिरहेको छ ।