• ६ जेठ २०८१, आइतबार

गाउँपालिकालाई निश्पक्ष काम गर्न अनुरोध

blog

बिन्दु थापा 

तानसेन, साउन २ गते । रिब्दिकोट गाँउपालिका कार्यपालिकाको बैठकबाट ९२ जना कर्मचारीमध्ये ८२ जना कर्मचारीको म्याद थप गरेको छ  । म्याद थप नभएका कर्मचारीले आफुहरु प्रतिपक्षी दलसँग सम्बन्धित भएकाकारण म्याद थप नभएको आरोप लगाउनुभएको छ । 

६० बर्ष उमेर पुगेका, दरबन्दी नभएका तथा स्थानीयले आरोप लगाएका कर्मचारीको म्याद थप नगरिएको गाउँपालिकाका प्रमुख नारायणबहादुर कार्कीले बताउनुभयो । कर्मचारी जुनसुकै पार्टीको भएपनि जनताको सेवा गर्ने हुनुपर्ने भएकाले राजनीतिक पुर्वाग्रह नरहेको बताउनुभयो ।

गाउँपालिकालाई आवश्यक कर्मचारीको मात्रै म्याद थप गरिएको गाउँपालिकाका प्रशासकीय अधिकृत पवन अर्यालले बताउनुभयो । तत्काल कर्मचारी ८२ बाटै व्यवस्थापन गरिने र पछि आवश्यकता भए फेरि थप गरिने जानकारी उहाँले दिनुभयो । रिब्दिकोट गाउँपालिकामा ९२ मध्ये १० जना कर्मचारीको म्याद थप भएको छैन । 

म्याद थप नभएका कर्मचारीहरुमध्ये ३ जना महिला कर्मचारी गाउँपालिकाको कार्यालय सहयोगी रहेका छन् । केही कर्मचारीले राजनैतिक पूर्वाग्रहका कारण आफुहरुलाई हटाइएको आरोप लगाएका छन् । गाउँपालिकालाई निष्पक्ष रुपमा काम गर्न उहाँहरुले आग्रह गर्नुभएको छ ।

गाउँपालिकामा कार्यालय सहयोगीको कामबाट आफनो घरखर्च चलाइरहेका तीन महिलाले छोराछोरी पढाउने र साँझबिहानको छाक टार्ने समस्या आइलागेको बताउनुभयो । रिब्दिकोट गाउँपालिका ७ का बसुन्धरा थापाले भन्नुभयो “नयाँ सरकार आएपछि तलबमा बृद्धि होला, घरखर्च चलाउन राहत मिल्ला भनेको उल्टै साँझ बिहान बल्ने चुल्हो पनि निभ्यो ।” 

जागीरबाट विदा गरिएका संगिता खत्री र पवित्रा पुनले पनि फरक पार्टीको भएका कारण म्याद थप नभएको बताउनुभयो । नेकपा (एमाले) रिब्दिकोट गाउँपालिका संसदीय दलका पदाधिकारी चिरन्जीवी पोखरेलले राजनैतीक पुर्वाग्रहको आधारमा छानी छानी ज्यालादारी कर्मचारीलाई म्याद थप नगरिएको गुनासो गर्नुभयो ।