• १० मंसिर २०८१, सोमबार

गल्फर शुक्रलाई आर्थिक सहयोग

blog

गल्फर शुक्रबहादुर राईलाई आर्थिक सहयोग हस्तान्तरण गरिंदै । तस्बिर सौजन्य : ग्राफिक आर्टस

काठमाडौं, साउन २ गते । भारतीय ब्यवसायिक गल्फ टुर (पीजीटीआई) मा भाग लिईरहनु भएका नेपालका नम्बर एक प्रोफेसनल गल्फर शुक्रबहादुर राईलाई गल्फ खेलमा आवद्ध ब्यक्तित्वहरुले आर्थिक सहयोग गरेका छन् । शुक्रलाई सोमबार एक कार्यक्रमबीच आठ लाख ५० हजार रुपियाँ सहयोग प्रदान गरिएको हो । 

नेपाल गल्फ संघका अध्यक्ष तासी घले र नेपाल प्रोफेसनल गल्फर्स एसोसिएसनका अध्यक्ष रवीन्द्रमान श्रेष्ठले शुक्रलाई संकलित रकम हस्तान्तरण गर्नुभयो । पीजीटीआई टुरमा छनोट हुनुभएका सुक्रलाई खेलमा लाग्न आर्थिक सहयोग पुगोस् भन्ने हेतुले गल्फ प्रेमीबाट संकलित रकम सहयोग गरिएको संघका अध्यक्ष घलेले बताउनुभयो । 

एसोएिसनका अध्यक्ष श्रेष्ठले गल्फ खेलमा शुक्र क्षमतावान खेलाडी भएको र उहाँबाट नेपालले धेरै आशा गरेको बताउनुभयो । उहाँले यस्तै प्रकारको सहयोग विगतमा गल्फर शिवराम श्रेष्ठलाई पनि गरिएको जानकारी दिनुभयो । शुक्रले आफ्नो गल्फ यात्रामा सहयोग गर्ने सबैलाई धन्यवाद दिनुभयो । ‘मलाई पीजीटीआईमा राम्रो गर्न धेरै हौसला मिलेको छ । आफ्नो तर्फबाट सकभर राम्रो गर्ने प्रयास गर्नेेछु,’ शुक्रले भन्नुभयो ।

चीनमा आयोजना हुने १९औं एसियाली खेलकुद (एसियाड) को छनोटमा रहनुभएका शुक्रले भारतमा पीजीटीआई खेल्नुका साथै एक महिना बेंगलोरस्थित तरुण सरदेशाई गल्फ एकेडेमीमा प्रशिक्षण समेत गर्नुहुनेछ । पीजीटीआई टुरमा हालसम्म्म ६ खेल खेल्नुभएका शुक्रले तीनवटा प्रतियोगितामा कट (फाइनल यात्रा तय) गर्नुभएको थियो । 

पीजीटीआईमा शुक्रले अगस्ट १७ देखि डिसेम्बर १८ सम्म अब १६ वटा प्रतियोगितामा प्रतिस्पर्धा गर्न पाउनु हुनेछ । शुक्र मंगलबार भारत प्रस्थान गर्ने बताईएको छ । सुक्रलाई आर्थिक सहयोग गर्नेहरुमा रविन्दर सैनी, सुहृद घिमिरे, चन्द्र टन्डन, आरआर पाण्डे, टासी घले, प्रवेश फुयाल, टिजी श्रेष्ठ, किशन अग्रवाल, टेण्डी शेर्पा, नोर्बु छिरिङ शेर्पा, दीपक आचार्य, संजय लामा, रवीन्द्रमान श्रेष्ठ र ब्रिटिस गोर्खा समाज रहेका छन् ।