• १३ साउन २०८१, आइतबार

एकता र विभाजनमा मधेश केन्द्रित दल, पार्टी खोल्ने भट्टराईको पहल

blog

आशा साह / सपना थामी

काठमाडौं, साउन २ गते । वैधानिक र औपचारिक रुपमा सत्ता साझेदार दल जनता समाजवादी पार्टी, नेपाल (जसपा) विभाजन हुन मात्र बाँकी छ । राजनीतिक रुपमा जसपा पार्टी दुई टुक्रामा विभाजित भइसकेको छ । जसपा दुई टुक्रा हुने भएसँगै नेपालमा कम्युनिष्ट वामपन्थी र मधेश केन्द्रित पार्टीहरुको एकता र विभाजनका शृङ्खलाहरु बढ्ने देखिन्छ  ।

जसपा अध्यक्ष उपेन्द्र यादवको अध्यक्षतामा गत असार २९ र ३० गते वीरगञ्जमा बसेको केन्द्रीय समितिको बैठकले पूर्व प्रधानमन्त्री समेत रहनुभएका  सङ्घीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईसहित नौजनालाई पार्टी विधान विपरीत काम गरेको भन्दै कारबाही गरेको थियो ।

भट्टराईसहित केन्द्रीय कार्यकारिणी समिति सदस्य महेन्द्र राय यादव, हिसिला यमी, दुर्गा शेर्पा, प्रशान्त सिंह, गङ्गा श्रेष्ठ, रमेश यादव, दानबहादुर चौधरी र भक्तबहादुर शाहलाई जिम्मेवारीबाट मुक्त गर्ने निर्णय गरेको थियो । अध्यक्ष यादवका प्रेस संयोजक महेश चौरसियाका अनुसार यस कारबाहीबारे निर्वाचन आयोगलाई औपचारिक जानकारी दिइनेछ ।


कारबाहीबारे   

भट्टराई पक्षका नेता डम्बर खतिवडाले त्यसको कुनै अर्थ नभएको प्रतिक्रिया दिनुभयो । ‘कारबाही हावादारी कुरा छ, त्यसको अर्थ छैन । हामी पार्टी नै छोडेर आएपछि के को कारबाही ?’ उहाँले भन्नुभयो, ‘प्रवक्तासमेत भनिएका उहाँले सोही पार्टीको सार्वभौमसत्तालाई स्वीकार गरेर भविष्यमा पनि त्यही पार्टीमा बस्ने भए मात्रै कारबाहीको अर्थ रहन्छ ।’

पार्टी नै छुट्यो, राजनीतिक लाइन नै फरक भएपछि कारबाहीको कुनै अर्थ नभएको बताउनुहुँदै उहाँले भन्नुभयो, ‘जसपा लगभग छुटिसकेको र यसले कानुनी रुप लिन मात्रै बाँकी छ ।’ 

उहाँले अध्यक्ष यादव नेतृत्वको वीरगञ्ज बैठकमा पनि धेरै जना उपस्थित नभएको दाबी गर्नुहुँदै भन्नुभयो, ‘अब नयाँ पार्टी बनाउने, १५ दिनदेखि एक महिनाभित्र नयाँ पार्टी घोषणा गर्ने हो ।’

नयाँ पार्टी गठनका लागि विधानअनुरुप बहुमत पुराउनुपर्ने विषयमा प्रतिक्रिया दिनुहुँदै प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन हुन तीन महिना बाँकी रहेकाले सांसदको पद दुई महिना मात्रै बाँकी रहँदा कारबाहीको कुनै तुक नरहेको उहाँ बताउनुहुन्छ ।

नयाँ पार्टीको नाम, झण्डा, चुनाव चिह्न र नेतृत्वको विषयमा कुनै छलफल  नभएको जानकारी दिनुहुँदै भन्नुभयो, ‘नयाँ पार्टी खोल्न बहुमत चाहिँदैन । आम नागरिकलाई पार्टी खोल्ने अधिकार छ ।’ 

जसपा केन्द्रीय पुनःगठन कमिटी

जसपा नेता हिसिला यमीले आफ्नो पक्षको नीति अङ्गिकार हुने दिशामा नरहेपछि छुट्टै भेला गरेर यस कमिटी गठन भएको जानकारी दिनुभयो ।

नीति (एजेण्डा) जसको हो उसैको नेतृत्वमा पार्टी हुनुपर्छ भन्ने मूल सिद्धान्तमा आफूहरु रहेकाले बताउनुहुँदै उहाँले जसपा पुनःगठनमा बहुसङ्ख्यक केन्द्रीय समितिका सदस्यहरु गोलबन्द हुने विश्वास व्यक्त गर्नुभयो । 

करिब एक वर्षअघि छुट्टै भेला गर्न लाग्दा आफ्नो पक्षमा बहुमत पुगेको बताउनुहुँदै भन्नुभयो, ‘दुवै पक्षले आह्वान गरेका भेलाहरुमा पुग्नुभएका अधिकांश केन्द्रीय सदस्यहरुले यही पक्ष भनेर सार्वजनिक नहुँदासम्म यही तदर्थ समितिले पार्टीका कामहरु गर्नेछ, त्यसपछि औपचारिक रुपमा नयाँ पार्टी गठन हुनेछ ।

डा. बाबुरामको राजनीतिक इतिहास

नेपालमा सबैभन्दा अस्थिर राजनीति कम्युनिष्ट वामपन्थी र मधेसी दलहरुको हुन्छ भन्ने प्रमाण पुनः एक पटक पुष्टि हुँदैछ । राजनीतिक दलहरुसँग एकता र विभाजन गर्न सक्ने नेताहरुमा सबैभन्दा बढी अग्रस्थानमा डा. बाबुराम भट्टराई रहनुभएको छ । उहाँले अहिलेसम्म आधा दर्जनभन्दा बढी पार्टीहरुसँग एकता र विभाजन गर्नुभएको छ ।


– नेकपा (माओवादी) काे एक कार्यक्रममा अध्यक्ष प्रचण्डसहित नेता भट्टराई

नयाँ दिल्लीमा विद्यावारिधि गर्दै नेकपा (मसाल) का कार्यकर्ता बन्नुभएका भट्टराईले केही वर्ष सो पार्टीमा रहेर केन्द्रीय नेता बनेपछि विद्रोह गर्नुभएको हो । नेकपा (विद्राेही मसाल) को संयोजकको रुपमा रहेर उहाँले मोहन वैद्य 'किरण' नेतृत्वमा रहेको नेकपा (मशाल) सँग एकता गर्नुभयो । त्यसपछि अन्य पार्टीहरुसँगको एकतापछि नेकपा (एकता केन्द्र)मा पुग्नुभयो ।

एकता केन्द्रको बहुमत पक्ष दीर्घकालीन जनयुद्ध गर्ने कार्यनीति पास गर्नमा महत्वपूर्ण भूमिका खेल्नुभएका भट्टराई नेकपा (माओवादी)को सङ्घीय जनपरिषदका प्रमुखको रुपमा सार्वजनिक हुनुभयो ।

यसअघि सो पार्टीको बाहिरी मोर्चाको रुपमा रहेको संयुक्त जनमोर्चाको अध्यक्षको रुपमा उहाँले काम गर्नुभएको थियो । दशवर्षे जनयुद्धपछि विभिन्न पार्टीसँग एकता गरेपछि एकीकृत नेकपा (माओवादी) बनेको हो । यही कार्यकालमा उहाँ प्रधानमन्त्रीसमेत हुन सफल हुनुभयो ।


–प्रधानमन्त्री बन्नुभएपछि भट्टराई

सो पार्टीबाट मोहन वैद्य ‘किरण’ समूहले छुट्टै पार्टी गठन गरेपछि एकीकृत नेकपा (माओवादी)का वरिष्ठ उपाध्यक्षको रुपमा उहाँलाई जिम्मेवारी दिइएको थियो ।

सो पार्टीबाट अलग हुँदै उहाँले ‘जसको नीति उसको नेतृत्व’को मूल सिद्धान्तमा आफ्नै नेतृत्वमा नयाँ शक्ति, नेपाल गठन गर्नुभयो । मध्यावधि चुनावमा सोचेजस्तो नभएपछि उहाँले उपेन्द्र यादव नेतृत्वको सङ्घीय समाजवादी फोरमसँग एकता गरेर राष्ट्रिय जनता पार्टी बनाउनुभयो ।

महन्थ ठाकुरको नेतृत्वमा रहेको राष्ट्रिय जनता पार्टीसँग एकता गरेर जनता समाजवादी पार्टी बन्याे । तर छाेटाे समयमा ठाकुर पक्ष जसपाबाट अलग भएर लोकतान्त्रिक समाजवादी पार्टी निर्माण गर्नुभयो । 

अहिले आएर जसपा पार्टी पुनः एक पटक दुई जना अध्यक्षकाे कारणले विभाजित हुने दिशामा छ । 


–जनता समाजवादी पार्टी गठन भएपछि नेताहरू 

मधेश केन्द्रित दल : जुट्दै–छुट्दै 

मधेशलाई राजनीतिको मुख्य केन्द्र बनाएर राजनीति गर्दै आएका मधेश केन्द्रित दलहरुको एक वर्षमा जुट्ने र फुट्ने क्रम जारी छ । 

पार्टीभित्रको विवाद समाधान गर्न अध्यक्ष यादव, सङ्घीय परिषद् अध्यक्ष भट्टराई र वरिष्ठ नेता अशोक राई सम्मिलित हेडक्वार्टर गठन भए पनि छलफल नगरी एकलौटी गर्न खोज्नुभएको भट्टराई पक्षको आरोप छ । 

असार १६ गते बसेको यादव पक्षको बैठकले पार्टीबाट मन्त्री बनेकाहरुलाई फिर्ता बोलाउने र नयाँ मन्त्री पठाउने निर्णय गरेपछि यादव र  भट्टराईबीच थप विवाद चर्किएपछि अलग अलग हुने सहमतिमा पुग्नुभएको हो । 

यादव नेतृत्वको पार्टी र भट्टराई नेतृत्वको पार्टीबीच २०७६ वैशाखमा बनेको सङ्घीय समाजवादी पार्टीसँग २०७७ वैशाख १० गते महन्थ ठाकुर नेतृत्वको पार्टीसँग एकता गरेर जनता समाजवादी पार्टी बनेको थियो । 

जसपामा ३३ सदस्यीय केन्द्रीय कार्यकारिणी समिति छ । राष्ट्रिय सभाबाहेक २१ जना सांसद् छन् । कार्यकारिणी समितिमा भट्टराई नेतृत्वको तत्कालीन नयाँ शक्ति पार्टीका आठ जना नेता हुनुहुन्छ । केन्द्रीय समिति ५०३ सदस्यीय छ ।



–सद्भावना पार्टीका संस्थापक अध्यक्ष गजेन्द्रनारायण सिंह

मधेश केन्द्रित दलको स्थापना 

मधेश केन्द्रित दल स्थापना गर्ने श्रेय गजेन्द्रनारायण सिंहलाई दिने गरिएको छ । विसं. २०४६ सालको जनआन्दोलनपछि सिंहले मधेश केन्द्रित राजनीतिको जग हाल्नुभयो । सिंहको नेतृत्वमा गठित सद्भावना पार्टीले बहुदल आएपछिको पहिलो निर्वाचन २०४८ सालमा ६ सिट ल्याएर आफ्नो उपस्थिति देखाएको थियो । त्यस्तै, विसं. २०५१ मा तीन र २०५६ मा पाँच सिट ल्यायो । सद्भावनाबाट विभाजित मधेश केन्द्रित दलले मधेशी जनताको हक र अधिकारका लागि भन्दै आफ्नो आवाज उठाउन छोडेनन् । 


मधेश केन्द्रित दलमा टुटफुटको शृङ्खला 

– विसं. २०७६ वैशाख २३ गते सङ्घीय समाजवादी फोरम र नयाँ शक्तिबीच एकता 

– विसं. २०७४ असार ३१ गते विजय गच्छदार नेतृत्वको मधेसी जनअधिकार फोरम लोकतान्त्रिक कांग्रेसमा प्रवेश

– विसं. २०७४ वैशाख ७ गते तराई मधेस केन्द्रित छ दलबीच एकता गरी राष्ट्रिय जनता पार्टी गठन । राजपामा महन्थ ठाकुर नेतृत्वको तमलोपा, राजेन्द्र महतो नेतृत्वको सद्भावना, अनिल झाको सद्भावना पार्टी, शरदसिंह भण्डारी नेतृत्वको राष्ट्रिय मधेस समाजवादी पार्टी, राजकिशोर यादव नेतृत्वको फोरम गणतान्त्रिक र महेन्द्र राय यादव नेतृत्वको तराई मधेस सद्भावना पार्टीबीच एकता भएको थियो ।

– विसं. २०७२ जेठ ३२ गते मधेशी जनअधिकार फोरम र सङ्घीय समाजवादी पार्टीबीच एकता

– विसं. २०६९ असार १३ गते विजय गच्छदारबाट अलग भई शरदसिंह भण्डारीको नेतृत्वमा राष्ट्रिय मधेस समाजवादी पार्टी गठन

– विसं. २०६९ मा सद्भावनाबाट अलग भई तराई मधेस सद्भावना पार्टी गठन 

– विसं. २०६८ मा रामनरेश राय यादवले आफ्नो नेतृत्वमा पार्टी फुटाएका, जसमा महेन्द्र यादवले तराई मधेस सद्भावना पार्टी निर्माण 

– विसं. २०६८ सालमा अनिल झाको नेतृत्वमा सङ्घीय सद्भावना पार्टी गठन 

– विसं. २०६८ जेठ ९ गते मधेसी जनअधिकार फोरमबाट अलग भई जेपी गुप्ताको नेतृत्वमा फोरम गणतान्त्रिक गठन   

– विसं. २०६६ जेठमा मधेसी जनअधिकार फोरमबाट विभाजन भई मधेसी जनअधिकार लोकतान्त्रिक गठन 

– विसं. २०६४ माघ २ गते अन्तरिम संविधान जलाएर आन्दोलन घोषणा 

– विसं. २०५४ सालमा उपेन्द्र यादवको नेतृत्वमा मधेशी जनअधिकार फोरम स्थापना राजपा

– विसं. २०६४ सालमा महन्थ ठाकुरको नेतृत्वमा तराई मधेश लोकतान्त्रिक पार्टी गठन, तमलोमा हृदयेश त्रिपाठी पनि सहभागी 

– विसं. २०६३ सालमा राजेन्द्र महतोले आफ्नो नेतृत्वमा सद्भावना पार्टी नेपाल गठन

– विसं. २०५८ माघ १० गते गजेन्द्रनारायण सिंहको निधनलगत्तै बद्रीप्रसाद मण्डलको नेतृत्वमा पुगेपछि दरबार प्रवेश, पार्टी तीन टुक्रामा विभाजित

– विसं. २०४७ वैशाख ३ गते नेपाल सद्भावना पार्टी स्थापना  

– विसं. २०४० सालमा गजेन्द्रनारायण सिंह, रामजनम तिवारी र रामचन्द्र मिश्रलगायतको पहलमा नेपाल सद्भावना परिषद् गठन । –तस्विरहरू विभिन्न स्राेतहरूबाट