• १८ असार २०८१, मङ्गलबार

गलेश्वरधाममा भक्तालुहरुको घुइँचो

blog

अमृतप्रसाद पौडेल

म्याग्दी, साउन २ गते । साउन महिनाको पहिलो सोमबार हिमाली जिल्ला म्याग्दीको पवित्र तीर्थस्थल गलेश्वरधाममा दर्शनार्थीहरुको भीड लागेको छ । म्याग्दीको बेनी नगरपालिका–९, गलेश्वरमा अवस्थित प्रमुख तथा प्रसिद्ध धार्मिक तीर्थस्थल गलेश्वर मन्दिरमा गएर सर्वोच्च अदालतका पूर्व प्रधानन्यायाधीश गोपाल पराजुलीले पनि दर्शन गर्नुभयो ।

गलेश्वर दर्शनका लागि आइपुग्नुभएका सर्वोच्च अदालतका पूर्व मुख्य न्यायाधीश पराजुलीले काठमाडौंको पशुपति क्षेत्र र म्याग्दीको गलेश्वर धार्मिक मान्यताका हिसाबले हेर्दा उस्तै भएकोले गलेश्वर दर्शन गर्न परिवारसहित आएको उहाँले बताउनुभयो । 

पराजुलीले आफू केही दिनअघि पोखरा आइपुगेको र आज साउनको पहिलो सोमबार भएकाले पोखरादेखि गलेश्वर दर्शन गर्नकै लागि आएको बताउनुभयो । गलेश्वर शिवालय क्षेत्र विकास कोषका अनुसार यसवर्ष बिहान ५ बजेभन्दा पहिलादेखि नै भक्तजनहरु गलेश्वर मन्दिरमा दर्शन तथा पूजा अर्चनाका लागि आएको गलेश्वर शिवालय क्षेत्र विकास कोषका कार्यालय सचिव रामबहादुर बानियाँले बताउनुभयो । 

यसवर्ष साउन महिनाको पहिलो सोमबारका दिन म्याग्दीसहित देशका विभिन्न जिल्लाबाट दर्शनार्थी भक्तजनले शिवालयमा पूजाआजा गरेको उहाँले बताउनुभयो । गलेश्वर मन्दिरको दर्शन गर्न आउने भक्तजनलाई लक्षित गरेर शिवालय क्षेत्र विकास कोषले सहज पूजाआजाको व्यवस्थापन मिलाएको जनाएको छ । 

खासगरी साउन महिना र सोमबारको दिनलाई भगवान् शिवको प्रिय महिना र दिनका रुपमा मान्ने गरिन्छ । सोमबारको दिन ब्रत बस्ने तथा शिवालय पुगेर पूजाआजा गरेमा मनोकाङ्क्षा पूरा हुने जनविश्वास रहिआएको छ । साउन महिनामा विवाहित महिला आफ्नो श्रीमानको दीर्घायु र अविवाहितहरु योग्य वरको कामनासहित हरियो चुरासहितको पहिरनमा सजिएर शिवालय जाने गर्दछन् । विवाहित महिला श्रीमानको दीर्घायुको कामनासहित पूजाअर्चना गर्दछन् ।