• १३ साउन २०८१, आइतबार

अस्पतालमा बिरामीको चाप बढ्दो

blog

अमरराज नहर्की
तनहुँ, साउन २ गते ।
तनहुँको सदरमुकामस्थित दमौली अस्पतालमा गर्मी बढेसँगै झाडापखला र टाइफाइटका बिरामीको सङ्ख्या बढ्दै गएको छ ।

सामान्य अवस्थामा १५० जना बिरामी आउने गरेकोमा हाल दैनिक २५० भन्दा बढी बिरामी उपचारका लागि आउने गरेको दमौली अस्पतालका निमित्त सुपरिटेण्डेन्ट डा.दिवस ढकालले जानकारी दिनुभयो ।

बिरामीको सङ्ख्यामा वृद्धि भएपछि अस्पतालले क्षमताभन्दा बढी बिरामी भर्ना लिएको छ ।

अस्पतालका निमित्त सुपरिटेण्डेन्ट डा. ढकालले बिरामीको चाप ह्वात्तै बढेपछि चिकित्सकलाई भेट्न पालो कुर्नपर्ने र चेकजाँचका लागि समस्या हुने गरेको बताउनुभयो ।

अस्पताल आउनेहरुमा झाडापखाला, ज्वरो, टाइफाइट, रुघाखोकी र छालाका बिरामी धेरै भएको उहाँले जानकारी दिनुभयो । यसका अतिरिक्त सुगर, प्रेसर, हाड जोर्नी, आँखा र दाँतका बिरामी उपचारका लागि आउने गरेको उहाँ बताउनुहुन्छ ।
उपचारका लागि इमर्जेन्सीमा ३० जनाभन्दा बढी बिरामी आउने गरेको अस्पतालले जनाएको छ  ।

अस्पतालमा १५० को हाराहारीमा बिरामी उपचारका लागि आउने गरेकोमा हाल भाइरल ज्वरोका बिरामीको सङ्ख्या बढेको अस्ततालले जनाएको छ ।

उपचारका लागि लमजुङको मध्यनेपाल नगरपालिकाबाट बढी बिरामी आउने गरेको अस्पतालले जनाएको छ । यसैगरी, उपचारका लागि आएका बालबालिकामध्ये धेरैमा निमोनिया देखिएको छ ।

१५ शय्या क्षमताको अस्पतालले आँखा, दाँत, डायलाइसिस, भिडियो एक्सरे, एक्सरे, प्रसूति सेवा, ओपिडी, मानसिक, एचआइभी सङ्क्रमितका लागि एआरटी, क्षयरोग, प्रयोगशाला, स्वास्थ्य बीमा, गर्भवती, खोपलगायत सेवा प्रदान गर्दै आएको छ । अस्पतालमा विशेष गरी ग्रामीण क्षेत्रका बासिन्दा उपचार गर्न आउँछन् ।