• ११ मंसिर २०८१, मङ्गलबार

शङ्कास्पद आगलागीको छानबिन गर्न समिति

blog

काठमाडौँ, साउन २ गते । काठमाडौँकोे भृकुटीमण्डपस्थित समाज कल्याण परिषद्को गोदामघरमा गत बुधबार भएको आगलागीको छानबिन गर्न समिति गठन गरिएको छ । आगलागीबाट परिषद्का महत्त्वपूर्ण दस्तावेज नष्ट भएको थियो तर त्यसको क्षतिको विवरण अहिलेसम्म आएको छैन ।

समाज कल्याण परिषद्का अध्यक्षसमेत रहनुभएका महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीको अध्यक्षतामा आइतबार बसेको कार्यसमितिको बैठकले तीन सदस्यीय छानबिन समिति गठन गरेको हो । समितिको संयोजकमा परिषद्का सञ्चालक समितिका सदस्य शम्भुजङ्ग राणा रहनुभएको छ । कानुनविद्का रूपमा राजेन्द्र पाण्डे र विभागीय प्रमुख सञ्जयकुमार मल्लिक सदस्य रहनुभएको छ । 

समितिले सोमबार पहिलो बैठक बसेर १० दिनभित्र नै आगलागीबाट भएको क्षतिको विवरण सङ्कलन गर्ने र त्यसको कारण पत्ता लगाउने संयोजक राणाले बताउनुभयो ।  परिषद्को गोदामघरमा आगलागी हुनुलाई शङ्कास्पद रूपमा हेरिएको भन्ने विषयमा आइतबार गोरखापत्र दैनिकमा समाचार प्रकाशित भएको थियो । आगलागीबाट परिषद्का निकै महत्त्वपूर्ण कागजात र विवरण नष्ट भएका छन् । 

गृहमन्त्री बालकृष्ण खाणले आइतबार आगलागी भएको भग्नावशेषको निरीक्षण गरी समाज कल्याण परिषद्का महत्त्वपूर्ण दस्तावेज जल्नु दुःखद भएको बताउनुभयो । आगो लाग्नुका कारण र क्षतिका विवरण खोजिने उहाँले बताउनुभयो । उहाँले यसबारे सरकारले गम्भीर अनुसन्धान गर्ने र सत्यतथ्य सार्वजनिक गर्ने बताउनुभयो ।