• १३ साउन २०८१, आइतबार

सभामुख सापकोटा र नेपालका लागि भारतीय राजदूत श्रीवास्तवबीच शिष्टाचार भेट

blog

काठमाडौं, साउन १ गते। सङ्घीय संसद्, प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटा र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवबीच आइतबार शिष्टाचार भेटवार्ता भएको छ । सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा भएको भेटमा सभामुख सापकोटाले लामो अनुभव र महत्त्वपूर्ण जिम्मेवारी बहनको अनुभवसहित नेपालको राजदूतमा नियुक्त श्रीवास्तवको कार्यकाल दुई देशबीचको सम्बन्धलाई गुणात्मक उचाइमा पुर्याउन सफल हुने विश्वास व्यक्त गर्नुभएको छ।

नेपाल र भारतबीच मौलिक एवं बहुआयामिक सम्बन्ध रहेको चर्चा गर्दै सभामुख सापकोटाले दुई देशबीच कूटनीतिक सम्बन्ध स्थापनाको ७५ औं वर्ष र भारतले आफ्नो स्वतन्त्रताको ७५ औं वर्ष मनाइरहेको सन्दर्भ स्मरण गर्नुभयो।

सभामुख सापकोटाले नेपाल र भारतबीच सदियौंदेखि सामाजिक, सांस्कृतिक, धार्मिक र आर्थिक सम्बन्ध रहेको चर्चा गर्दै दुई देशका जनताका बीचको सम्बन्ध अझ गहिरो रहेको धारणा राख्नुभएको उहाँका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले जानकारी दिनुभयो।

राजदूत श्रीवास्तवसँगको भेटमा सभामुख सापकोटाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पछिल्लो लुम्बिनी भ्रमणले धार्मिक पर्यटनमा ठूलो योगदान पुर्याएको र नयाँ अध्यायको सुरुवात गरेको उल्लेख गर्नुभएको छ।दुई देशबाट भएका उच्चस्तरीय भ्रमणले नेपाल भारत सम्बन्धलाई थप बलियो बनाएको सभामुख सापकोटाको विश्वास छ।

भेटमा सभामुख सापकोटाले कोभिड–१९ को महामारीका बेला भारतले गरेको सहयोगका लागि धन्यवाद दिनुभएको छ। जलवायु परिवर्तन लगायत विश्व राजनीतिक मञ्चमा देखा परेका संकट समाधानमा दुबै देशले साझा समझदारी बनाउँदा राम्रो हुने सभामुख सापकोटाको धारणा छ।

सभामुख सापकोटासँगको भेटमा नवनियुक्त भारतीय राजदूत नवीन श्रीवास्तवले भारतले ‘छिमेकी पहिलो नीति’ रहेको चर्चा गर्दै आठ वर्षमा पाँच पटक प्रधानमन्त्रीको तहबाट नेपाल भ्रमण भएको सम्झना गर्नुभएको छ।

लामो र ऐतिहासिक सम्बन्ध रहेको दुबै देशका बीचमा सहकार्यका थुप्रै सम्भावना रहेको चर्चा गर्दै उहाँले ‘कनेक्टिभिटी’लाई अझ विस्तार गर्न सकिने धारणा राख्नुभयो।जलवायु परिवर्तनको असर दक्षिण एसियाको साझा समस्या रहेको बताउँदै राजदूत श्रीवास्तवले सामूहिक रुपमा समाधान खोज्नुपर्नेमा जोड दिनुभएको छ।