• १६ भदौ २०८१, आइतबार

डोटीमा तरकारीको मूल्यवृद्धि, उपभोक्ता मारमा

blog

डोटी,  साउन  १ गते । डोटीमा महिनैपिच्छे खानेतेल, साग, तरकारीलगायत उपभोग्य वस्तुको मूल्यवृद्धि भएपछि उपभोक्ता मारमा परेका छन् । मूल्यवृद्धिले विपन्न वर्गलाई बढी असर पु¥याएको छ । मूल्यवृद्धिसँगै उपभोक्ताले दैनिक आवश्यक पर्ने साग, तरकारीदेखि खानेतेल किन्न सकेका छैनन् ।यहाँका विपन्न परिवारलाई साँझ–बिहान खानुपर्ने तरकारीको जोहो कसरी गर्ने भन्ने चिन्ता बढेको दिपायल पिपल्लाका सोनु कामीले बताउनुभयो । उहाँले भन्नुभयो, “मूल्यवृद्धिका कारण दैनिक आवश्यक पर्ने तेल, तरकारी किन्न सक्ने अवस्था पनि भएन, हामी गरिखाने वर्ग मारमा प¥यौँ ।” सोनुका अनुसार डोटीका पसलहरूमा खानेतेल, साग र तरकारीको मूल्य महिनैपिच्छे वृद्धि हुँदै गइरहेको छ ।

दिपायल बजारमा प्रतिलिटर खानेतेलको मूल्य रु. ३६० सम्म पर्ने गरेको उपभोक्ताको गुनासो छ । यसैगरी गेलभेँडाको मूल्य बढेर अहिले रु. १६० पुगेको छ । आलु प्रतिकिलो रु. १००, भिन्डी रु. ७०, काउली रु. ९०, रायोको साग मुठाको रु. ५०, लौका र फर्सी एक किलोको रु. ४० देखि ५० पुगेको स्थानीयवासी दीपकबहादुर साउदले बताउनुुभयो । उहाँका अनुसार तरकारी र तेलको मूल्य महँगो हुँदा विपन्न समुदाय निकै मारमा परेका छन् ।

तराईका जिल्लाबाट तरकारी तथा तेल आयात गरिने भएका कारण ती क्षेत्रमा मूल्यवृद्धि भएपछि यहाँ पनि मूल्यवृद्धि भएको दिपायल पिपल्लाकी तरकारी व्यवसायी बब्ली श्रीवास्तवले बताउनुभयो । उहाँले भन्नुभयो, “तरकारी, खानेतेल सबै तराईबाट आउँछ, उता भाउ बढेका कारण यहाँ महँगो भएको हो, हामीले आफूखुसी मूल्य बढाएका छैनौँ ।”