• ११ मंसिर २०८१, मङ्गलबार

थपिए साढे दुई लाख मतदाता

blog

काठमाडौँ, साउन गते । एक महिनामा दुई लाख ५० हजारभन्दा बढी मतदाता थपिएका छन् । निर्वाचन आयोगले प्रतिनिधि र प्रदेश सभा सदस्य निर्वाचनको तयारीस्वरूप असार १ गतेदेखि मतदाता नामावली सङ्कलन सुरु गरेको थियो । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले असार ३० गतेसम्म दर्ता भएकामध्ये दुई लाख ३० हजार ९९२ जना जिल्लाअन्तर्गत र १९ हजार ७३४ जना बाह्य जिल्ला दर्ता (ओडीआर)का रहेको जानकारी दिनुभयो । 

काठमाडौँमा बसोबास गरी काठमाडौँमै मतदान गर्नका लागि १० हजार ९१६ जनाले नामावली दर्ता गराएको आयोगले जनाएको छ । बाहिरी जिल्लामा मतदान गर्ने तर काठमाडौँमा नामावली दर्ता गराएका १० हजार २७७ जना छन् ।मतदाता नामावली दर्ता कार्यक्रम जारी छ । आयोगले नामावली दर्ता गर्न जिल्ला निर्वाचन कार्यालय, इलाका प्रशासन कार्यालय र जिल्ला प्रशासन कार्यालय पुग्ने सर्वसाधारणले घण्टौँसम्म कुर्नुपर्ने अवस्थालाई अन्त्य गर्न अनलाइन दर्तासमेत सुरु गरिसकेको छ । 

असार २९ गतेदेखि काठमाडौँ उपत्यकाका तीन जिल्लामा ‘पाइलट अप्रेसन’का रूपमा अनलाइन दर्ता हुँदैछ । आयोगका अनुसार सबैभन्दा बढी बागमती प्रदेशबाट ६२ हजार ८०५ जनाले नामावली दर्ता गराएका छन् । प्रदेश १ बाट ५३ हजार ७७५ र मधेश प्रदेशबाट ४७ हजार ७५२ जनाले नामावली दर्ता गराएका छन् । 

नामावली दर्ता गराउनेमा सबैभन्दा बढी झापाका १३ हजार ७४४ छन् । १३ हजार ४५५ जनाले नामावली दर्ता गराएको मोरङ दोस्रो सबैभन्दा बढी नामावली दर्ता भएको जिल्ला हो । सबैभन्दा बढी नामावली दर्ता भएका दस जिल्लामध्ये मधेश प्रदेशका रौतहट, बारा र धनुषा गरी तीन जिल्ला छन् । 

आयोगले मतदाता नामावली सुरु गर्दा बाहिरी जिल्लाका मतदाताले आफू अस्थायी रूपमा बसोबास गरिरहेको जिल्लामा समेत स्थायी बसोबास गरेको स्थानका लागि नामावली दर्ता गराउन पाउने व्यवस्था गरेको छ । सरकारले स्थानीय चुनाव वैशाख ३० गते गर्ने निर्णय गरेपछि माघ २४ गते मतदाता नामावली सङ्कलन कार्य रोकिएको थियो ।