• २६ माघ २०८२, सोमबार

मतदाताको जिम्मेवारी

blog

मुलुकको समग्र विकासको मुख्य सारथि राजनीतिक नेतृत्व हो तर राजनीतिक नेतृत्वले जनभावना अनुकूल राष्ट्र र जनताको हितमा इमानदारीपूर्वक कार्य गर्न नसक्दा नेतृत्वप्रति आशा, भरोसा र विश्वास कमजोर हुँदै जान्छ । मुलुकको मौजुदा शासन पद्धतिले राजनीतिक नेतृत्वबाटै शासकीय प्रबन्ध गर्नुपर्ने आधार तयार गरेका कारण निर्वाचनका माध्यमबाटै मतदाताले योग्य व्यक्तिलाई छानी शासनको जिम्मेवारी दिनुपर्ने अवस्था छ । 

आफ्नो मतबाट योग्य प्रतिनिधि छान्ने कानुनी अधिकार भएका व्यक्ति मतदाता हुन् । मतदाताको सुझबुझ, विवेक र बुद्धिका आधारमा देशको शासकीय अधिकार प्रयोग गर्ने व्यक्ति छानिन्छ । त्यसैले मतदानको कार्यलाई एउटा विशिष्टीकृत र महत्वपूर्ण कार्यको रूपमा लिइन्छ । त्यसैले यस कार्यलाई खेलाँची, रमाइलो वा हचुवामा गर्न नहुने कार्यका रूपमा पनि लिइन्छ ।

देशको शासकीय स्वरूप बहुलवादमा आधारित बहुदलीय प्रतिस्पर्धात्मक सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक संसदीय शासन प्रणाली भएकाले संसदीय निर्वाचनबाट आउने जनप्रतिनिधिबाट नै मन्त्रीपरिषद् गठन भई कार्यकारिणी अधिकारको प्रयोग हुने भएकाले मतदाताको महत्व उच्च रहेको छ । साथै मौजुदा संविधान र कानुनको अधीनमा रही मुलुकको शासन व्यवस्थाको सामान्य निर्देशन, नियन्त्रण र सञ्चालन गर्ने अभिभारा मन्त्रीपरिषद्मा नै हुने भएकाले मतदाताको भूमिका सर्वोत्कृष्ट रहेको हो ।

मतदाताले इमानदार, योग्य, सक्षम र परिवर्तन उन्मुख जनप्रतिनिधि छान्न नसक्दा मुलुकमा सुशासन कायम हुन नसकेको गुनासा रहेका छन् । यस सन्दर्भमा मतदाताले आफ्नो महत्वपूर्ण मतबाट शाासकीय नेतृत्वमा पुग्ने व्यक्ति स्वच्छ, इमानदार, निष्पक्ष र सक्षम भए नभएको अध्ययन विश्लेषण गरी मतदान गर्नु जरुरी छ । मुलुकको निर्वाचनलाई स्वच्छ, प्रभावकारी र प्रतिफलयोग्य गराउन मतदाताको अर्थपूर्ण सहभागिता हुनु निर्वाचनको महत्वपूर्ण पक्ष हो । सबै मतदातालाई सचेत, विवेकशील र जानिफकार बनाउन निर्वाचन आयोगलगायत सबै राजनीतिक दलले निर्वाचन शिक्षालाई प्रचारप्रसार गर्नु आवश्यक छ । 

आफ्नो मतको महत्व र भूमिका बुझ्नु मतदाताको पहिलो महत्वपूर्ण जिम्मेवारी हो । आफूले चाहेको राजनीतिक दल वा उम्मेदवारलाई डरबिना, धम्की, लोभ लालचमा नपरी स्वतन्त्र र गोप्य रूपमा मतदान गर्न तयार हुनु पर्छ । मतदान गर्नुभन्दा पहिले सम्बन्धित राजनीतिक दल वा व्यक्तिका घोषणापत्र र कार्यक्रमबारे पर्याप्त र स्पष्ट जानकारी लिई उम्मेदवारको योग्यता, योगदान, आचरण र प्रवृत्तिसमेत विश्लेषण गरी सुनिश्चित भएर मतदान गर्ने कार्यमा लाग्नु पर्छ । उम्मेदवार सरकारी वा सार्वजनिक सम्पत्तिको हिनामिना गर्न संलग्न भए नभएको, भ्रष्टाचार अनियमिततामा तानिएका वा अनुसन्धानको दायरामा परे नपरेको सम्बन्धमा मतदाताले ध्यान दिनु पर्छ । जातीय, वर्गीय एवं क्षेत्रीय विवाद उक्साउने कार्यमा संलग्न रहे नरहेको, महिला हिंसा वा बलात्कारमा संलग्न भए नभएको, राष्ट्रिय एकता र राष्ट्रहितविरुद्ध लागेको वा नलागेको आदि कुरा बुझेर मतदानमा सहभागी हुनु पर्छ । साथै जनताको अत्यावश्यक काम गर्न पटक पटक आश्वासन दिने तर जिम्मेवारी पूरा नगर्ने पवृत्तिका उम्मेदवारलाई मतदान नगरी निष्कलङ्कित, इमानदार, नवीन सोच र ऊर्जा भएको उम्मेदवारलाई मतदान गर्न जिम्मेवार हुनु पर्छ । 

निर्वाचनका समयमा उम्मेदवारले गर्ने अनावश्यक र अधिक खर्चले भ्रष्टाचार गर्न उत्प्रेरित गर्ने भएकाले फजुल खर्चमा संलग्न हुने उम्मेदवारलाई जाँचबुझ गरेर मात्र मतदान गर्नु पर्छ । मतदाता निर्वाचनसम्बन्धी सही सूचना वा जानकारी लिन तत्पर हुनु पर्छ । बालिग मताधिकारको सिद्धान्त, मतको गोपनीयताको सिद्धान्त, एक व्यक्ति एक मतको सिद्धान्त, आवधिक निर्वाचनमा मतदानको महत्व, सबै योग्य मतदातालाई बिनाअवरोध गोप्य मतदान गर्ने सुनिश्चितता जस्ता सवालमा छलफल तथा विश्लेषण गर्न जरुरी हुन्छ । संविधान सभाबाट बनेको लोकप्रिय संविधानको पालना र लोकतन्त्रको सबलीकरण आवधिक निर्वाचनबाट नै हुने र आगामी निर्वाचनलाई अघिल्ला निर्वाचनभन्दा बढी फलदायी बनाउन राष्ट्र र जनताको हितमा काम गर्ने चरित्रवान् व्यक्ति छान्नु हरेक मतदाताको जिम्मेवारी भएको छ ।

 पु¥याउनुपर्ने होसियारी 

निर्वाचनमा मतदाताले गर्ने मतका आधारमा जनप्रतिनिधि छानिने र छानिएका जनप्रतिनिधिको सरकारले मुलुकको शासन सञ्चालन गर्ने भएकाले सुशासनको प्रत्याभूत गर्न सक्ने नेतृत्व छान्न सबै मतदाता होसियार हुनु आवश्यक छ । पुरानो सोच, आवरण र आश्वासनमै निर्वाचित हुन चाहने र नवीन सोच, ऊर्जा र परिवर्तनको अवधारणामा निर्वाचित हुन खोज्नेका बिचमा तुलनात्मक अध्ययन, विश्लेषण गर्नु पर्छ । साथै घोषणापत्र वा आश्वासन पूरा गर्न सक्ने आधार र सूचकहरूको आकलन गरी उम्मेदवारप्रति धारणा बनाउन आवश्यक छ । दलको सिद्धान्त, उद्देश्य र प्रतिष्ठाको मूल्यमान्यतालाई अवमूल्यन गरी सत्ताका लागि निर्वाचनमा गरिने अप्राकृतिक गठबन्धन गर्ने प्रवृत्तिप्रति होसियार हुनु पर्छ । सत्ता प्राप्तिका लागि हुने दलगत मिलेमतोको संस्कारले सार्वजनिक सम्पत्तिमाथिको अतिक्रमण र भ्रष्टाचारको संस्कार विकास गर्ने भएकाले मतदाता यसतर्फ सधैँ सजग हुनु जरुरी छ । 

मतदाताको सचेतनाबाट योग्य र सक्षम व्यक्ति छानिने भएकाले मुलुकमा सुशासन कायम गर्न टेवा पुग्ने हुन्छ । यसका लागि मतदाताको व्यक्तिगत होसियारी, सामूहिक छलफल, अध्ययन एवं विश्लेषण प्रभावकारी हुनु पर्छ । आफ्नो मतदान केन्द्र पहिचान गरी तोके अनुसारको प्रमाणसहित मतदान केन्द्रमा मतदान गर्न जाने, निर्वाचनका समग्र सूचनाबारे सरोकारवालालाई पनि जानकारी गराउने, महिला, वृद्धवृद्धा, अपाङ्गता भएका व्यक्ति, अशक्त मतदातालाई आफूले चाहेको वा रोजेको दल वा उम्मेदवारलाई मतदान गराउन आवश्यक सहयोग गर्न तत्पर हुनु पर्छ । आचारसंहिता उल्लङ्घन भएको देखेमा निर्वाचन आयोग वा निर्वाचनमा खटिएका कर्मचारीलाई सोको सूचना दिने जस्ता सवालमा मतदाता निरन्तर होसियार हुनु आवश्यक छ ।

मतदाताको आचरण 

निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र प्रभावकारी गराउन निर्वाचन आयोगले सरोकारवालाले पालना गर्नुपर्ने आचारण कार्यान्वयनमा ल्याएको छ । नेपाल सरकार र नेपाल सरकारका पदाधिकारी, स्थानीय तह र स्थानीय तहका कर्मचारी, सार्वजनिक संस्थाका कार्यालय तथा कर्मचारी, सरकारी तथा अर्धसरकारी संस्थाको कार्यालय तथा कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल जस्ता सुरक्षा निकायमा कार्यरत सुरक्षाकर्मी, राजनीतिक दल तथा राजनीतिक दलको भ्रातृ सङ्गठन, उम्मेदवारले पालना गर्नुपर्ने आचारण कार्यान्वयनमा रहेका छन् । मतदान कार्यलाई स्वतन्त्र, निष्पक्ष, निर्भीक र निष्कलङ्कित गराउन आचरण पालना गराउनुपर्ने भएकाले निर्वाचनमा सरोकार राख्ने सबैको आचरण पालना भए नभएका सम्बन्धमा सम्बन्धित मतदाताले निगरानी गर्ने र आवश्यक सूचना निर्वाचनको कार्यालयमा समयमा दिने गर्नु पर्छ । 

मतदाता स्वयम् निर्वाचनको आचरण पालना गर्न उदाहरणीय भूमिकामा रहनु पर्छ । मतदाताले मतदानका दिन मतदान केन्द्रमा जाँदा प्रज्वलनशील पदार्थ, मोबाइल, क्यामरा साथमा लिएर जान हुँदैन । कुनै नशालु पदार्थ वा मादक पदार्थ सेवन गर्न हुँदैन । मतदातालाई मतदान गर्न जान वा मतदान गर्नबाट वञ्चित गराउने अभिप्रायले झुट्टा अफवाह, भ्रामक समाचार फैलाउन वा कुनै अवरोध गर्ने काम गर्न वा गराउन नहुने आचरण पालना गर्नुपर्ने हुन्छ । साथै मतदाताले मतदान गर्न जाँदा दल वा उम्मेदवारको निर्वाचन चिह्न वा झन्डा अङ्कित कपडा, टोपी वा क्याप, लोगो, ब्याच, मास्क, स्टिकर लगाउन वा झोला बोक्न नहुने, मतदाताको शरीरको कुनै भागमा बनाइएको उम्मेदवारको फोटो, दल वा उम्मेदवारको निर्वाचन चिह्न वा झन्डा अङ्कित ट्याटु प्रदर्शन गर्न नहुने, कसैको पक्ष वा विपक्षमा एसएमएस, सामाजिक सञ्जाल तथा अन्य विद्युतीय माध्यम प्रयोग गरी तथ्यहीन सामग्री प्रकाशन, प्रसारण वा सम्प्रेषण गर्न नहुने आचारण पालना गर्नुपर्ने हुन्छ । 

निर्वाचनपछिको निगरानी 

निर्वाचित भएर सार्वजनिक जिम्मेवारीका पदमा पुग्ने राजनीतिक नेतृत्वले निर्वाचनको समयमा मतदातासमक्ष गरेको प्रतिबद्धता र आश्वासनको बेवास्ता गर्ने प्रवृत्तिमा सुधार हुन सकेको छैन । यसका कारण राजनीतिक नेतृत्वप्रति मतदाताको विश्वास एवं धारणा सकारात्मक हुन सकेको छैन । यस सन्दर्भमा निर्वाचित जनप्रतिनिधिलाई उनीहरूको प्रतिबद्धतताप्रति जिम्मेवार गराउन मतदाता निरन्तर निगरानीमा रहनु आवश्यक छ । मतदाताले जनप्रतिनिधिबाट गरिने कामको चासो, चियो चर्चो र परीक्षण नगरेका कारण अनियमितता, भ्रष्टाचार, कमिसनलगायत सामाजिक विकृति बढेका छन् । यस प्रवृत्तिलाई नियन्त्रण गर्न मतदाता एवं सरोकारवालाले निर्वाचित जनप्रतिनिधिले गर्ने कार्यको निरन्तर निगरानी गर्न जरुरी छ ।