• २६ माघ २०८२, सोमबार

शेरचनको सालिक अनावरण

blog

कास्की समाचारदाता

कास्की, माघ २६  गते । लोकगायक कल्याण शेरचनको सालिक अनावरण गरिएको छ । कल्याण शेरचन स्मृति प्रतिष्ठान, पोखराले १५ औँ कल्याण शेरचन स्मृति दिवसका अवसरमा पोखरा–१८ स्थित सहिद स्मारक तथा राष्ट्रिय विभूति पार्कमा अनावरण गरेको हो । सालिकको पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले अनावरण गर्नुभएको हो । 

प्रमुख आचार्यले सालिकलाई अनावरण गरेसँगै दिगो संरक्षणमा पनि ध्यान दिनुपर्ने बताउनुभयो । उहाँले कल्याण शेरचन प्रतिभाशाली व्यक्तित्व भएको स्मरण गर्दै उहाँलाई अमर राख्न प्रतिष्ठानले पु¥याएको योगदानको प्रशंसा गर्नुभयो । सालिक वरिष्ठ कलाकार विष्णुप्रसाद बरालले बनाउनुभएको हो । 

ग्रामीण कुनाकन्दरामा गाइने सयौँ मौलिक भाकालाई सङ्कलन गरेर कालजयी बनाउन महत्वपूर्ण योगदान दिनुभएका शेरचनको २०६७ साल माघ २४ गते ६४ वर्षको उमेरमा निधन भएको थियो । शेरचनको ‘सोह्र वर्षे उमेरैमा,’ ‘च्याङ्बा’ सहित, ‘सुखी ज्यानलाई गुँदरी काम्लो,’ ‘कलिलो तामालाई सोध रामलाई,’ घर मेरो खुँदीमा,’ ‘काली पनि देखेँ मैले, गोरी पनि देखेँ,’ ‘ए भेना यो साल, ल्याइदेऊ मलाई पछ्यौरी मलमल,’ ‘रात काटेँ रोएर, दिन काटेँ जसरी तसरी’ लगायत दर्जनौँ गीत आजपर्यन्त चर्चित छन् ।

प्रतिष्ठानका अध्यक्ष क्याप्टेन पूर्णबहादुर गुरुङले नेपाली मौलिक सङ्गीतमा शेरचनको योगदान बिर्सन नहुने बताउनुभयो । “उहाँ हामीमाझ नभए पनि उहाँका कालजयी गीत छाडेर जानुभएको छ । उहाँको सम्झना र सम्मानका लागि यो सालिक निर्माण भएको छ । यसमा साथ सपोट गर्नुहुने सबैप्रति आभार प्रकट गर्दछु,” उहाँले भन्नुभयो । कार्यक्रममा कलाकार तारापति सुवेदी, पार्वती जिसी, रामजी पौडेल, लक्ष्मी नेपाली, तुलसी क्षेत्री र नवराज अधिकारीले कल्याण शेरचनका चर्चित गीत गाउनुभएको थियो ।