• २६ माघ २०८२, सोमबार

तीनवटा मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, दुई घाइते

blog

बोमलाल गिरी
नवलपुर, माघ २६ गते ।
तीन वटा मोटरसाइकल एकआपसमा ठोक्किँदा नवलपुरमा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।

गएराति ९ बजे कावासोती १४ अग्यौलीस्थित भित्रि सडक खण्डमा ग.प्र.०४–००१ प ८५९२ नम्बरको मोटरसाइकल, प्रदेश ०३–०३ प २५२१ नम्बरको मोटरसाइकल र ग.प्र.०४–००२ प १८४७ नम्बरको बुलेट मोटरसाइकल एकआपसमा ठोक्किएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

कार्यालयका सूचना अधिकारी, प्रहरी निरीक्षक बीरबहादुर गुरुङका अनुसार दुर्घटनामा ग.प्र.०४–००१ प ८५९२ नम्बरको मोटरसाइकलका चालक देवचुली नगरपालिका १७ का २८ वर्षीय ओम प्रकाश खोजवारको मृत्यु भएको छ । उहाँको उपचारको क्रममा मध्यविन्दु प्रादेशीक अस्पताल डण्डामा मृत्यु भएको गुरुङले बताउनुभयो ।

दुर्घटनामा प्रदेश ०३–०३ प २५२१ नम्बरको मोटरसाइकलको पछाडी सवार कावासोती नगरपालिका–१७ गोछाडाका ४४ वर्षीया  प्रमेश्वरी महतो र उहाँका ४ वर्षीय छोरा जेसन महतो सामान्य घाइते हुनु भएको प्रहरीले जनाएको छ ।

प्रहरीले तीनवटै मोटरसाइकल र बुलेट मोटरसाइकलका चालक कावासोती–११ का २५ वर्षीय  दिपक महतो भनि चिनिने घनश्याम महतोलाई नियन्त्रणमा लिइ अनुसन्धान गरिरहेको जनाएको छ ।