• ७ जेठ २०८१, सोमबार

लुम्बिनी प्रदेशमा रगत निःशुल्क

blog

 बुटवल, साउन १ गते । लुम्बिनी प्रदेश सरकारले साउन १ गते आइतबारदेखि सरकारी अस्पतालबाट सेवा लिने बिरामीका लागि रगतसम्बन्धी सबै सेवा शुल्क निःशुल्क उपलब्ध गराउने भएको छ । प्रदेश सरकारले नयाँ आर्थिक बर्ष २०७८/७९ को नीति तथा कार्यक्रममा प्रदेशका कुनै पनि सरकारी अस्पतालमा सेवा लिने बिरामीका लागि रगत निःशुल्क उपलब्ध गराउने उल्लेख गरेको थियो ।

प्रदेश सरकारको उक्त कार्यक्रम कार्यान्वयन गर्दै लुम्बिनी प्रादेशिक अस्पताल बुटवल र रक्तसञ्चार केन्द्र बुटवलबीच साउन १ देखि रगतका लागि लाग्ने सबै सेवा शुल्क निःशुल्क गर्ने सहमति भएको हो । 

अस्पतालका तर्फबाट मेडिकल सुपरिन्टेन्डेज्ट डा. इन्द्र ढकाल र रक्तसञ्चार केन्द्रका तर्फबाट संयोजक कृष्ण पङ्गेनीले सम्झौता पत्रमा हस्ताक्षर गर्नुभएको छ ।  अहिलेसम्म सरकारी अस्पतालले बिरामीलाई रगत चाहिएको सिफारिस गरेमा रक्तसञ्चार केन्द्रले एक पोका रगत आठसय रुपियाँ लिएर उपलब्ध गराउँदै आएको थियो । 

साउन १ गतेदेखि अस्पतालको सिफारिसमा रक्तसञ्चार केन्द्रले कुनै पनि सेवा शुल्क नलिई रगत उपलब्ध गराउने रक्तसञ्चार केन्द्रका संयोजक कृष्ण पङ्गेनीले बताउनुभयो । पङ्गेनीले लुम्बिनी प्रदेश सरकारले नयाँ आर्थिक वर्षको बजेटबाट रगतमा लाग्ने सेवा शुल्क सरकारले दिने गरी बिरामीलाई रगत चाहिँदा शुल्क नलाग्ने बताउनुभयो । 

पङ्गेनीका अनुसार प्रदेशभरि ६० हजार पोइन्ट रगत सङ्कलन र व्यवस्थापन रेडक्रसमार्फत भइरहेको छ । अब सरकारी अस्पतालमा रगतका लागि लाग्ने सेवा शुल्क पनि सरकारले दिने भएपछि लुम्बिनीमा रगत पूर्ण रूपमा निःशुल्क भएको छ । 

लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका मेडिकल सुपन्रिटेन्डेन्ट डा. इन्द्र ढकालले अस्पतालमा आएका बिरामीलाई रगत आवश्यक पर्ने भए चिकित्सकहरूको सिफारिसमा रक्तसञ्चार केन्द्रले पूर्ण रूपमा निःशुल्क रगत उपलब्ध गराउने बताउनुभयो ।  यसअघि रक्तसंचार केन्द्रले रगत, रगत राख्ने पोका, थैली, पाइपलगायत गरी प्रतिपोका आठसय रुपियाँ लिँदै आएको थियो ।