• ७ जेठ २०८१, सोमबार

गर्मीले बाँकेको जनजीवन प्रभावित

blog

गर्मीले बिरामी भएपछि भेरी अस्पतालमा पुगेका सर्वसाधारणको भीड। तस्बिर : सिराज खान

सिराज खान 

नेपालगञ्ज, असार ३२ गते। केही दिन पानी नपर्दा अत्यधिक गर्मीले बाँकेसहित पश्चिमका तराईका जिल्लाको जनजीवन प्रभावित भएको छ।

बाँकेको नेपालगञ्जसहित बर्दियामा दुई सातादेखि निरन्तर टन्टलापुर घाम लाग्दा जनजीवन प्रभावित बनेको छ। गत दुई सातादेखि यहाँको अधिकतम तापक्रम मध्याह्नपख ३८ देखि ४२ डिग्री सेल्सियसको हाराहारीमा पुग्ने गरेको छ। 

बिहान सबेरैदेखि साँझसम्म नै एकनासले टन्टलापुर घाम लाग्दा गर्मी भएर जनजीवन अस्तव्यस्त बनेको स्थानीय नरेश श्रेष्ठले बताउनुभयो। बेलाबेलामा हल्का वर्षा भए पनि बेस्सरी पानी नपर्दा यस क्षेत्रमा गर्मी कम हुन सकेको छैन। केहीबेर मात्र पानी परेर मौसम उघ्रिनासाथ अत्यधिक गर्मी हुने गरेको छ। 

चर्को घाम र अत्यधिक गर्मीका कारण अधिकांश मानिस मध्यान्हको समयमा घर बाहिर निस्कनै नसकेको नेपालगञ्ज ११ का जावेद राईले बताउनुभयो।

 उहाँका अनुसार दिनमा मुख्य बजारका सडक प्रायः सुनसान हुने गरेको छ। सरकारी कार्यालयमा सेवाग्राहीको सङ्ख्या घटेको छ। गर्मीका कारण विद्यालय, उद्योग व्यवसाय सबै प्रभावित भएका छन्।

दिउँसोको समयमा सडक र सरकारी कार्यालयमा सर्वसाधारणको उपस्थिति निकै कम हुने गरेको छ। चर्को घाम र छहारीमा बस्दासमेत पसिना आउने गर्मीले सर्वसाधारणको जनजीवन कष्टकर बन्दै गएको छ। अत्यधिक गर्मी हुँदा गर्मीजन्य सङ्क्रमणका बिरामी पनि बढिरहेको स्वास्थ्यकर्मीले बताएका छन्।

गर्मीका कारण घाउ, खटिरा, आउँमासी, टाइफाइड ज्वरो, झाडापखालालगायत सरुवा रोगका बिरामीको चाप पनि स्थानीय अस्पताल तथा स्वास्थ्य संस्थामा बढ्न थालेको जानकारी आएको स्वास्थ्य कार्यालय बाँकेका प्रमुख धिरजंग शाहले बताउनुभयो।