नौरते नेपाली
सिँजा (जुम्ला), माघ २१ गते । नेकपा (एमाले) का प्रतिनिधि सभा सदस्य उम्मेदवार शान्तिलाल महत चुनाव प्रचारका लागि सिँजा क्षेत्रमा पुग्नुभएको छ । उहाँले सिँजा क्षेत्र अन्तर्गतका तिला, हिमा, सिँजा र कनकासुन्दरी गाउँपालिकामा पालिकास्तरीय भेलामार्फत चुनाव प्रचार गरिरहनुभएको छ । चुनाव प्रचारका क्रममा उम्मेदवार महतले सिँजा क्षेत्रका लागि व्यवस्थित अस्पताल स्थापना गर्ने प्रमुख चुनावी मुद्दा अघि सार्नुभएको छ ।
सिँजा क्षेत्रका हिमा, सिँजा र कनकासुन्दरी गाउँपालिकाका स्थानीय नागरिकले स्वास्थ्य उपचारका लागि करिब छ घण्टा यात्रा गर्नुपर्ने बाध्यतालाई ध्यानमा राख्दै सिँजा क्षेत्रमै पायक पर्ने स्थानमा व्यवस्थित अस्पताल स्थापना गर्ने प्रतिबद्धता उहाँले व्यक्त गर्नुभयो । घरआँगनमै गुणस्तरीय स्वास्थ्य सेवा पाउनु नागरिकको अधिकार भएको उल्लेख गर्दै महतले जनताको मत सङ्कलनका लागि मात्र अस्पतालको कुरा अघि नसारेको बताउनुभयो ।
उहाँले जनताको वास्तविक आवश्यकतालाई आधार मानेर यो एजेन्डा अघि सारिएको अवगत गराउनुभयो । सिँजा क्षेत्र नेपाली भाषाको उद्गमस्थल तथा खस भाषाको जननी भएकाले भाषा, साहित्य र संस्कृतिको संरक्षणका लागि विशेष पहल गर्ने प्रतिबद्धता पनि उहाँले जनाउनुभयो । सिँजामा रहेको सिँजा क्याम्पसलाई कर्णाली प्रदेशकै खस भाषा, साहित्य र संस्कृतिको अध्ययन तथा अनुसन्धान केन्द्रका रूपमा विकास गर्दै मूल क्याम्पसका रूपमा स्थापित गर्ने योजना रहेको महतले बताउनुभयो ।
नेपाली कम्युनिस्ट पार्टीबाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार नरेश भण्डारीले सिँजा सभ्यता विधेयक कानुनका रूपमा अघि बढेकाले जुम्लालाई सांस्कृतिक राजधानी बनाउने आधार तयार भएको बताउनुभएको छ । उहाँले तथ्य र तथ्याङ्कका आधारमा जुम्लालाई सांस्कृतिक राजधानी घोषणा गर्न संसद्मा बहस सुरु गर्ने बताउनुभयो ।
सिँजा सभ्यता विधेयक पारित भएमा सांस्कृतिक राजधानीको ढोका खुल्ने दाबी गर्दै भण्डारीले कर्णाली भाषा, संस्कृति र सभ्यताका हिसाबले अग्रस्थानमा रहेकाले जुम्ला सांस्कृतिक राजधानीका लागि उपयुक्त रहेको बताउनुभयो । देशको प्रशासनिक र राजनीतिक राजधानी काठमाडौँ हुन सक्छ भने जुम्ला किन सांस्कृतिक राजधानी हुन सक्दैन ? भन्दै उहाँले यस विषयमा राष्ट्रिय बहसको आवश्यकता औँल्याउनुभयो ।
नेपाली भाषाको जननी भूमिमा सांस्कृतिक राजधानी घोषणा गराउन आफू निर्वाचित भए संसद्मा यसलाई बहसको विषय बनाउने उहाँको भनाइ छ । यद्यपि यसै विषयमा मत नमाग्ने उहाँले स्पष्ट पार्नुभयो । भण्डारीले सिँजा क्षेत्रलाई विशेष आर्थिक क्षेत्रका रूपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।