• २१ माघ २०८२, बुधबार

मुख्य दलबिच प्रतिस्पर्धा

blog

खलङ्गा समाचारदाता

खलङ्गा (दार्चुला), माघ २१ गते । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा दार्चुलाबाट ११ दलका उम्मेदवारले उम्मेदवारी दिएका छन् । तीमध्ये मुख्य चार दल कांग्रेस, एमाले, नेकपा र रास्वपाबिच कडा प्रतिस्पर्धा हुने देखिएको छ ।

दार्चुलाबाट २०७० को संविधान सभा र २०७४ को प्रतिनिधि सभा निर्वाचन जितेका नेकपा (एमाले) का नेता एवं पूर्वमन्त्री गणेशसिंह ठगुन्ना र २०६४ सालको संविधान सभा निर्वाचनमा विजयी नेकपाका नेता लक्ष्मणदत्त जोशी पुराना नेता हुनुहुन्छ । कांग्रेसका उम्मेदवार धर्मानन्द जोशी र राष्ट्रिय स्वतन्त्र पार्टीका नेता राजेशसिंह सामन्त राजनीतिमा नयाँ हुनुहुन्छ । 

यी चार दलका उम्मेदवारमध्ये एमालेका उम्मेदवार ठगुन्नाले विगतमा आफूले गरेका विकासनिर्माणका काम, राष्ट्रिय हितका लागि गरेको पहल र सीमा क्षेत्रको विषयलाई सदनमा उठाएको कुरालाई प्राथमिकतामा राख्दै आफ्नो चुनावी प्रचारप्रसार गरिरहनुभएको छ । यस्तै नेपाली कांग्रेसका उम्मेदवार धर्मानन्द जोशी पनि पार्टीले जिल्लामा गरेका विकासनिर्माणबारे प्रचार गर्दै र भ्रष्टाचार न्यूनीकरण गरी देश र जिल्लाको विकासमा सहयोग पु¥याउने प्रतिबद्धतासहित चुनावमा होमिनुभएको छ । 

यसै गरी रास्वपाका उम्मेदवार राजेशसिंह सामन्तले राज्यका हरेक प्रणालीमा सुधार गर्ने, भारतसँगको सीमाका सवाल सम्बोधन हुने गरी जोडदार रूपमा उठान गर्ने र विकासको लहर ल्याउने भन्दै प्रचारप्रसार गरिरहनुभएको छ । 

नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार लक्ष्मणदत्त जोशीले २०६४ सालपछि मात्रै जिल्लामा विभिन्न विकासनिर्माणका काम आफ्नो पार्टीले सुरु गरेको, ती काम हालसम्म पूरा नभएको र तिनलाई पूर्णता दिन आफ्नो उम्मेदवारी भएको भन्दै प्रचारप्रसार गरिरहनुभएको छ ।