बेलौरी समाचारदाता
बेलौरी (कञ्चनपुर), माघ २१ गते । आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा शुक्लाफाँटा वन्यजन्तु आरक्ष (हाल राष्ट्रिय निकुञ्ज) विस्थापितले मत नखसाल्ने मनसाय बनाएका छन् । झन्डै चार सय परिवारका आठ सयभन्दा बढी निकुञ्ज विस्थापितले आंशिक मागसमेत पूरा नगरिए उम्मेदवारलाई मत नखसाल्ने बताएका हुन् ।
अस्थायी टहरा बनाएर महेन्द्रनगरस्थित जडीबुटीको सार्वजनिक भूमिमा बसोबास गर्दै आउनुभएका आरक्ष पीडित अस्थायी शिविर बसोबासका लागि कागज बनाइदिन आग्रह गर्दै आएका छन् । नियमित रूपमा दलका प्रतिनिधि तथा उम्मेदवारसँघ भेटघाट गर्दै अस्थायी शिविर बसोबासको व्यवस्था मिलाउन आग्रह गरिरहेको निकुञ्ज पीडित बताउँछन् । आरक्षपीडित जिल्ला सङ्घर्ष समितिका संयोजक जयबहादुर रोकायाले आगामी प्रतिनिधि सभा निर्वाचनपूर्व नै आफूहरूको अस्थायी बसोबासको व्यवस्था मिलाउन दलका प्रतिनिधिसँग भेटघाट गर्दै छलफल गर्दै आएको बताउनुभयो । हाल बसोबास गर्दै आएको जडीबुटीको जमिनमा खानेपानी, शौचालयलगायतका आधारभूत आवश्यकतासमेत पूर्ति गर्न समस्या भएपछि आगामी निर्वाचनपूर्व नै अस्थायी बसोबासको व्यवस्था मिलाउन दलका प्रतिनिधिसँग आग्रह गरिएको उहाँले बताउनुभयो ।
कृष्णपुर नगरपालिका–१ स्थित जयशङ्कर सामुदायिक वन कञ्जकलीमा अस्थायी शिविर बसोबासका लागि प्रशासनबाट कागज बनाई माग्न अनुरोध गरेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “विगतका आयोगले प्रस्तावित गरेका स्थानमा पुगाउनुपर्ने आफूहरूको माग हो । पुगाउन नसकेमा मत नखसाल्ने र निर्वाचन पनि बहिष्कार गर्ने मनसाय बनाएका छौँ ।”
आरक्षपीडित शेरबहादुर चुनाराले निर्वाचन क्षेत्र–२ मा आफूले विगतका निर्वाचनमा मत खसाल्दै आएको बताउनुभयो । विगतका झुटा आश्वासन मात्रै दिलाएका सांसदका कारण हाल कुनै व्यवस्था नमिलाइँदा यस जडीबुटीको जमिनमा कष्टकर जीवनयापन गर्नु परेको उहाँले गुनासो गर्नुभयो । आगामी निर्वाचनमा भने आफूहरूको अस्थायी शिविर बसोबासको व्यवस्था मिलाउने तथा निर्वाचित भएपछि जमिन उपलब्ध गराउने उम्मेदवारलाई मात्रै मत खसाल्ने उहाँले बताउनुभयो ।