फूलबारी समाचारदाता
फूलबारी (कैलाली), माघ २१ गते । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै सुदूरपश्चिम प्रदेशका १६ वटै निर्वाचन क्षेत्रमा सशस्त्र प्रहरी बल नेपालले सुरक्षा योजना तयार गरी कार्यान्वयनमा ल्याएको छ । सशस्त्र प्रहरी बल नेपाल नम्बर वैद्यनाथ बाहिनी मुख्यालय अत्तरिया कैलालीका अनुसार माघ २१ गतेदेखि प्रत्येक निर्वाचन क्षेत्रमा निर्वाचन क्षेत्र सुरक्षा बेस स्थापना गरिने छ । ती सुरक्षा बेसमा सशस्त्र प्रहरी नायब उपरीक्षक (डिएसपी) को कमान्डमा सुरक्षा फौज तैनाथ गरिने व्यवस्था मिलाइएको छ ।
निमित्त बाहिनीपति सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक दिग्विजय सुवेदीले सञ्चारकर्मीसँगको अन्तर्क्रियामा निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र भयरहित बनाउन व्यापक सुरक्षा तयारी गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार फागुन ६ गतेदेखि छुट्टाछुट्टै मोबाइल टोली परिचालन गरिने छ । यस्तै डिएसपीको कमान्डमा बाहिनीस्तरीय रिजर्भ टोलीसमेत तयारी अवस्थामा रहने उहाँको भनाइ छ ।
निर्वाचनविरोधी गतिविधि रोक्न अनुगमन टोली परिचालन गरिने र सूचनाको प्राप्ति तथा विश्लेषणलाई निरन्तरता दिइने सुवेदीले बताउनुभयो । निर्वाचन सुरक्षामा करिब पाँच हजार एक सय सशस्त्र प्रहरी परिचालन गरिने उहाँको भनाइ छ ।
सुरक्षा व्यवस्थापनलाई थप प्रभावकारी बनाउन नेपाली सेना, नेपाल प्रहरी, जिल्ला प्रशासन कार्यालय तथा निर्वाचन आयोगसँग निरन्तर समन्वय र सहकार्य भइरहेको उहाँको भनाइ छ । सवारीसाधनको अभाव भएका स्थानमा आवश्यक सवारीसाधन भाडामा लिने व्यवस्था गरिएको छ ।
पहाडी क्षेत्रमा सञ्चार तथा सूचना प्रणालीलाई प्रभावकारी बनाउन रिपिटर टावर निर्माण गरिएको, सशस्त्र प्रहरीलाई निर्वाचन सुरक्षासम्बन्धी तालिम प्रदान गरिएको तथा सामाजिक सञ्जालमार्फत फैलिन सक्ने गलत सूचना नियन्त्रणका लागि सूक्ष्म निगरानी राखिएको जानकारी दिइएको छ । सम्भावित विपत् जोखिमलाई ध्यानमा राख्दै आवश्यक तयारी पूरा गरिएको र समग्र सुरक्षा रणनीति बनाएर सशस्त्र प्रहरी बल सक्रिय रूपमा परिचालन भइरहेकोसमेत सशस्त्र प्रहरीका बाहिनीपति सुवेदीको भनाइ छ ।