• २१ माघ २०८२, बुधबार

सन्दर्भ : विश्व क्यान्सर दिवस

रोकथाम पहिलो प्राथमिकता

blog

नेपालमा क्यान्सर रोग बढिरहेको छ । नसर्ने रोगमध्ये क्यान्सर एक प्रमुख रोग हो । क्यान्सर दिवसको दिन मात्र जनचेतनाका कार्यक्रम गर्ने चलन छ, जुन गलत हो । क्यान्सरसम्बन्धी जनचेतना सधैँभरि जगाउनु पर्छ । विश्व क्यान्सर दिवस प्रत्येक वर्ष फेब्रुअरी ४ मा मनाइन्छ । यो वर्षको विश्व क्यान्सर दिवसको नारा ‘सबै मिलेर सहकार्य गरौँ’ भन्ने रहेको छ । जनचेतनाका कार्यक्रम दिवसलाई लक्षित गरेर मात्र बनाइनु हुँदैन । 

नेपालमा पहिले क्यान्सर पत्ता लगाउने प्रविधि थिएनन् । मानिसहरू स्वास्थ्यको पहुँचबाटै टाढै थिए । यसैले क्यान्सरबारे थाहा हुँदैन थियो । अहिले क्यान्सर उपचारमा धेरै प्रगति भइसकेको छ । क्यान्सरको उपचारका लागि बाहिर जानुपर्ने कुनै आवश्यकता छैन । नेपालमै क्यान्सरको सम्पूर्ण उपचार हुने गरेको छ । अपवादमा परीक्षण गर्नका लागि जाने बेग्लै हो तर अब सम्पूर्ण क्यान्सरको उपचार नेपालमै हुने गरेको छ । अहिले यो रोग उपचार गर्न प्रविधि बढेको छ । चिकित्सक बढेका छन् । मानिस पनि स्वास्थ्यप्रति सचेत हुँदै गएका छन् । सचेतनालले क्यान्सरको पहिचान गर्न सघाएको छ । यसबाट पनि क्यान्सर रोगीहरू बढिरहेका छन् । 

मानिसले खानपिनमा अझै ध्यान दिएका छैनन् । जीवनशैली विकृत छ । जङ्कफुड (पत्रुखाना) खान्छौँ । फलफूल र तरकारीबाट पनि नेपालमा क्यान्सर बढिरहेको छ । यी विषयमा कसैले ध्यान दिएको पाइँदैन । तरकारी कहाँ उत्पादन भयो ? कति विषादी प्रयोग भएको छ ? उपभोक्तालाई केही पनि थाहा हुँदैन । त्यस्तै फलफूलमा पनि व्यापक मात्रामा विषादी प्रयोग भएको हुन्छ । नेपालमा क्यान्सर रोग बढ्नुको कारण तरकारी र फलफूलमा प्रयोग भएको विषादी पनि हो । उपभोक्ताले फलफूल र तरकारी उपभोग गर्दा चनाखो हुनु पर्छ । गाजर, मूला काँक्रो किन्दा बाङ्गो किन्नु पर्छ । साग किन्दा किरा लागेको किन्नु पर्छ । त्यहाँ विष हुँदैन । 

विश्व स्वास्थ्य सङ्गठनले खानपानमा ध्यान दिने हो भने ६० प्रतिशत क्यान्सरबाट बच्न सकिन्छ भनेको छ । खानपान, जीवनशैली, नियमित व्यायाम र तौलको सन्तुलन राख्न सक्नु पर्छ । एक दिन व्यायाम गरेर सात दिन नगरी बस्नु हुँदैन । कति बिरामी चुरोट छोडेँ तर सुर्ती सेवन गर्न थालेँ भन्नुहुन्छ । यो बिल्कुलै गलत हो । चुरोट, सुर्ती एउटै हो भन्ने थाहा पाउनु पर्छ । कतिपय क्यान्सर वंशाणुगत हुने गर्छ । 

जनसङ्ख्यामा आधारित क्यान्सर रोगीको तथ्याङ्क हमीकहाँ छैन । अस्पतालमा आधारित तथ्याङ्क मात्र छ । अहिले अस्पतामा आधारित तथ्याङ्क अनुसार फोक्सोको क्यान्सर पहिलो नम्बरमा छ । भक्तपुर क्यान्सर अस्पतालमा पाचन प्रणालीको क्यान्सर धेरै देखिएको छ । बिपी कोइराला क्यान्सर अस्पतालमा मुखको क्यान्सर भएका बिरामी धेरै छन् । महिलाको हकमा नेपाललगायत सार्क राष्ट्रमै पाठेघरको मुखको क्यान्सर पहिलो नम्बरमा छ । स्तन क्यान्सर दोस्रोमा थियो तर अहिले भारत र नेपालमा स्तन क्यान्सर पहिलो नम्बरमा छ । पाठेघरको मुखको क्यान्सरमा एचपिभी भ्याक्सिन लगाएर पनि रोकथाम गर्न सकिन्छ । स्तन क्यान्सर बढ्नुको कारणमा ढिलो विवाह, बच्चालाई स्तनपान नगराउने, धेरै विकिरण लिने आदि रहेका छन् । विकिरणले क्यान्सरको उपचार गरिन्छ भने त्यही विकिरणले क्यान्सर पनि लाग्न सक्छ । दोस्रो विश्व युद्धमा अमेरिकाले जापानमा बम खसाल्दाको असर अहिलेसम्म देखा परेको छ । त्यहाँ क्यान्सरको प्रकोप बढी छ । नेपालमा वंशाणुगत परीक्षण हुन सकेको छैन । क्यान्सरबाट बच्नका लागि समय समयमा स्क्रिनिङ गर्नै पर्छ । यो हुन सकेको छैन । बिरामी क्यान्सरको तेस्रो या चौथो स्टेजमा पुगिसकेपछि मात्र अस्पताल पुग्ने गर्छन् । 

नेपालमा क्यान्सर रोग पछिल्ला वर्ष गम्भीर सार्वजनिक स्वास्थ्य समस्याका रूपमा देखिएको छ । जुन कुरा अस्पतालमा लागेको भिडले देखाउँछ । जीवनशैलीमा आएको परिवर्तन, अस्वस्थ आहार, धूमपान, मद्यपान, प्रदूषण तथा समयमै जाँच नहुनु क्यान्सर बढ्नुका प्रमुख कारण मानिन्छन् तर यति गम्भीर समस्याको सामना गर्न राज्यले अपनाएको नीति भने अझै पनि उपचारमुखीमै सीमित देखिन्छ । प्रदेश सरकारले पनि क्यान्सर पीडितलाई आर्थिक सहयोग प्रदान गरिरहेका छन्, जुन सकारात्मक कदम हो तर क्यान्सर जस्तो दीर्घकालीन र खर्चिलो रोगमा उपचारभन्दा पनि रोकथाम र जनचेतनालाई प्राथमिकता दिनु अझ प्रभावकारी हुन्छ । अहिले क्यान्सर उपचारमा खर्च भइरहेको ठुलो रकममध्ये एक तिहाइ मात्र रकम जनचेतना, प्रारम्भिक परीक्षण र रोकथामका कार्यक्रममा लगानी गर्न सकियो भने धेरै हदसम्म क्यान्सर लाग्नै नदिने अवस्था बनाउन सकिन्थ्यो । विशेष गरी दुर्गमका गाउँबस्तीमा क्यान्सरबारे ज्ञानको अभाव अझै गहिरो छ । क्यान्सरका प्रारम्भिक लक्षण, नियमित स्वास्थ्य परीक्षण आदिबारे पर्याप्त जानकारी नहुँदा रोग ढिलो पत्ता लाग्ने गरेको छ । जब बिरामी अस्पताल पुग्छन्, रोग जटिल अवस्थामा पुगिसकेको हुन्छ । यसले उपचार खर्च मात्र होइन, ज्यान नै जोखिममा पारेको छ । 

जनचेतना कार्यक्रम प्रभावकारी बनाउन स्थानीय तह, विद्यालय, स्वास्थ्य चौकी, महिला समूह, युवा क्लब तथा सञ्चार माध्यमलाई सक्रिय रूपमा परिचालन गर्न सकिन्छ । अनलाइन, रेडियो, टेलिभिजन, सामाजिक सञ्जाल तथा स्थानीय भाषामा तयार गरिएका सूचना सामग्रीमार्फत क्यान्सरबारे जानकारी पु¥याउन सकिन्छ । साथै, गाउँ–गाउँमा निःशुल्क स्वास्थ्य परीक्षण शिविर, मुख, पाठेघर, स्तन क्यान्सर जस्ता सामान्य तर घातक क्यान्सरको प्रारम्भिक जाँचलाई नियमित बनाउनु आवश्यक छ । 

प्रदेश सरकारले अहिले दिइरहेको आर्थिक सहयोगलाई उपचारमा मात्र सीमित नराखी रोकथाममुखी योजनासँग जोड्न सकिन्छ । उदाहरणका लागि धूमपान तथा सुर्तीजन्य पदार्थ नियन्त्रण, स्वस्थ खानपान प्रवर्धन, खोप कार्यक्रम विस्तार र वातावरणीय प्रदूषण न्यूनीकरण जस्ता काममा लगानी बढाउन सकिन्छ । यस्ता प्रयासले दीर्घकालमा राज्यको स्वास्थ्य खर्च घटाउनुका साथै नागरिकको जीवनस्तर उकास्न मद्दत पु¥याउँछ । क्यान्सर नियन्त्रणको दिगो समाधान उपचारमा होइन, समयमै जानकारी, सचेतना र रोकथाम भएमा यस रोगबाट धेरैलाई बचाउन सकिन्छ । अबको आवश्यकता उपचारमुखी सोचबाट बाहिर निस्केर रोकथाम र जनचेतनालाई राष्ट्रिय प्राथमिकतामा राख्नु पर्छ । 

विकसित देशमा उपचारमा भन्दा बढी स्क्रिनिङमा ध्यान दिइन्छ, जसले क्यान्सरको पहिचान सुरु अवस्थामै हुन्छ । सुरु अवस्थामा चाल पाउन सके क्यान्सरको पूर्ण उपचार गर्न सकिन्छ । नेपालमा क्यान्सरका बिरामीमध्ये ८० प्रतिशत तेस्रो र चौथो चरणमा मात्र आउने हुँदा उपचार गरेर आयु लम्ब्याउन मात्र सकिन्छ । चौथो चरणको क्यान्सरलाई पूर्ण रूपमा ठिक गर्न सकिन्न । विदेशमा स्वास्थ्य परीक्षण गर्ने समय तालिका दिइएको हुन्छ तर नेपालमा बिरामी भएर उपचार गर्न जाँदा महिनौँसम्म पालो कुर्नुपर्ने बाध्यता छ । 

क्यान्सर उपचार तीन तरिकाबाट हुन्छ– एउटा सर्जरीबाट, अर्को विकिरणले सेक्ने रेडियोथेरापीबाट र अर्को किमोथेरापीबाट । यसबाहेक इम्युनोथेरापी पनि छ तर नेपालमा अत्यधिक महँगो पर्छ । धेरै नेपाली इम्युनोथेरापीको पहुँचभन्दा बाहिर छन् । त्यो भारतबाट ल्याइयो भने एक पटक लगाएको पाँच लाख भारतीय रुपियाँसम्म पर्छ । नियमित लगाउनुपर्ने पनि हुन्छ । 

(गोरखापत्रका सरोज ढुङ्गेलसँगको कुराकानीमा आधारित )