गोरखापत्र समाचारदाता
काठमाडौँ, माघ २१ गते । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको आयोजना र नेपाल व्यावसायिक कलाकार सङ्घ, रुपन्देही तथा कालिका मानवज्ञान माध्यमिक विद्यालयको सहआयोजनामा ‘लुम्बिनी प्रादेशिक ललितकला प्रदर्शनी–२०८२’ सुरु भएको छ । प्रदर्शनीको प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छाली र बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले संयुक्त रूपमा उद्घाटन गर्नुभयो ।
कार्यक्रममा प्रमुख अतिथि कुलपति हार्तम्छालीले राष्ट्र र समाजको भौतिक विकास सँगसँगै संस्कृति, शान्ति र विकासका लागि ललितकलाको विशेष महìव रहेको बताउँदै राष्ट्रले यसलाई बोध गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले नेपालमा कलाको मर्मलाई जराबाटै उठाउनुपर्ने आँैल्याउँदै स्थानीय जनजीवनलाई बोध गराउने उद्देश्यले प्रादेशिक ललितकला प्रदर्शनी गरिएको बताउनुभयो ।
बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले बुटवललाई मुख्य केन्द्र र सम्भावना भएको ऐतिहासिक क्षेत्रका रूपमा जोड दिँदै कलाका माध्यमबाट कलाकारले ती विषयवस्तुलाई समेत प्रस्तुत गर्नुपर्ने बताउनुभयो । उहाँले यस्ता गतिविधिलाई पालिकाले गर्नुपर्ने आवश्यक सहयोग गर्न सदैव तत्पर रहेको धारणा राख्नुभयो ।
प्रतिष्ठानका मूर्तिकला विभाग प्रमुख तथा लुम्बिनी प्रदेश समन्वय समिति संयोजक दिनेश्वर महतोले प्रदेश तथा स्थानीय तहले आफ्नो क्षेत्रको ललितकलाको विकास तथा प्रवर्धनमा अग्रणी भूमिका खेल्नुपर्नेमा जोड दिनुभयो । उहाँले प्रदर्शनीमा लुम्बिनी प्रदेशका कला, संस्कृति, पर्यटनसँगै जनजीवनका विविध पाटो समेटिएका कलाकृति रहेको जानकारी दिनुभयो ।
कार्यक्रममा प्रतिष्ठानका समसामयिक चित्रकला विभाग प्रमुख सञ्जय बान्तवा, प्राज्ञसभा सदस्य जुपिटर प्रधान, कालिका मानवज्ञान माध्यमिक विद्यालयका सहायक प्राचार्य पीताम्बर बन्जाडे, कलाकार एच. वी रम्तेलले आआफ्नो धारणा राख्नुभएको थियो । प्रदर्शनीमा समसामयिक चित्रकला÷मूर्तिकला, शिल्प–हस्तकला, वास्तुकला तथा लोककला, बहुआयामिक तथा अन्य सिर्जनात्मक कला विधाका ११५ कलाकारका १५० भन्दा बढी कलाकृति समावेश छन् । नेपाल पर्यटन बोर्ड कला प्रवर्धक रहेको प्रदर्शनी माघ २२ गतेसम्म चल्ने छ ।
यस्तै ललितकलाको अभियान भन्ने मूलभावमा रही नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान, गैँडाकोट नगर प्रज्ञा–प्रतिष्ठान, गैँडाकोट नगरपालिकाको संयुक्त आयोजना तथा सिर्जनशील कलाकार समूह, पोखराको सहकार्य र जनकनमुना माध्यमिक विद्यालयको सहयोगमा ‘गण्डकी प्रादेशिक ललितकला प्रदर्शनी २०८२’ सुरु भएको छ । प्रदर्शनीको नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले उद्घाटन गर्नुभएको थियो ।
गैँडाकोट नगर प्रज्ञा–प्रतिष्ठानका कुलपति गोविन्दराज विनोदी सभाध्यक्ष रहनुभएको कार्यक्रममा नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका नारदमणि हार्तम्छाली, नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका उपकुलपति लालकाजी लामा, प्रतिष्ठानका बहुआयामिक तथा अन्य सिर्जनात्मक कला विभाग प्रमुख तथा गण्डकी प्रदेश समन्वय समिति संयोजक सौरगङ्गा दर्शनधारी, गैँडाकोट नगरपालिकाका प्रमुख मदनभक्त अधिकारीलगायतको सहभागिता रहेको थियो । प्रदर्शनीमा कलाकार मछिन्द्र शाक्य, महेश आचार्य, दुर्गा महतो र सुवर्ण कुमार प्रदानलाई सम्मानित गरिएको थियो । प्रदर्शनी माघ २२ गतेसम्म चल्ने छ ।
एकदिवसीय कला–कार्यशाला सम्पन्न
लुम्बिनी प्रदेशको अर्घाखाँचीमा एकदिवसीय कला–कार्यशाला सम्पन्न भएको छ । कार्यक्रममा प्रतिष्ठानका मूर्तिकला विभाग प्रमुख तथा लुम्बिनी प्रदेश समन्वय समिति संयोजक दिनेश्वर महतोले नेपालको कुनाकाप्चामा रहेका कला र कलाकारलाई मूलधारमा ल्याउने उद्देश्यका साथ कार्यशाला आयोजना गरिएको बताउनुभयो । उहाँले आगामी दिनमा उक्त क्षेत्रका कलाकारले राष्ट्रियस्तरमा आफ्नो उपस्थिति थप सशक्त बनाउने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा प्रतिष्ठानका समसामयिक चित्रकला विभाग प्रमुख सञ्जय बान्तवाले युवामय उमेरलाई कलाको धारले छोप्दा सिर्जनशीलतामा अझ निखार आउने र विविध विधामा लाग्न प्रेरित गर्ने बताउनुभयो । कार्यशालामा स्थानीय विद्यार्थीले कागजमा आफ्ना अनुभूतिलाई उतार्नुभएको थियो भने उहाँहरूलाई कलाकार केशवराज खनालले कलाका आधारभूत ज्ञानको प्रशिक्षण दिनुभएको थियो ।