• १९ पुस २०८१, शुक्रबार

मापदण्डमै रहेर ल्याब सञ्चालन हुनुपर्छ : स्वास्थ्य राज्यमन्त्री

blog

काठमाडौं, असार ३१ गते । स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री हीराचन्द्र केसीले कीर्तिपुरस्थित आयुर्वेद अनुसन्धान केन्द्र र महाराजगञ्जस्थित नेसनल प्याथ ल्याबको निरीक्षण गर्नुभएको छ ।

शुक्रबार स्वास्थ्य राज्यमन्त्री केसीले आयुर्वेद अनुसन्धान केन्द्र र महाराजगञ्जस्थित नेसनल प्याथ ल्याबको अनुगमन गर्नुभएको हो । आयुर्वेद अनुसन्धान केन्द्रको निरीक्षणका क्रममा स्वास्थ्य राज्यमन्त्री केसीले अनुसन्धान केन्द्रको बृहत् विकासका लागि आफू संवेदनशील भएको बताउनुभयो । 

उहाँले नेपालमा पाइने जडीबुटीबारे अध्ययन, त्यसको प्रशोधन र अनुसन्धानबारे केन्द्रले काम गर्दै आएको भन्दै प्रशंसा गर्नुभयो । मन्त्री केसीले भन्नुभयो,  अनुसन्धानका लागि पर्याप्त बजेट नछुट्याएको विषयप्रति सजग छौं । धेरै जसो कर्मचारीहरु करारमा हुनुहुँदोरहेछ । यस विषयलाई मैले गम्भीर रुपमा लिएको छु ।’

उहाँले नेपालमा उत्पादन भएका करोडौं रुपियाँका जडीबुटी विदेश निर्यात भइरहेको भन्दै उत्पादन भएका जडीबुटीको अध्ययन अनुसन्धान हुन जरुरी रहेको बताउनुभयो ।

हाल केन्द्रमा एक जना ११ औं तहका कर्मचारी मात्रै स्थायी दरबन्दीमा कार्यरत छन् । अन्य सबै कर्मचारी करारमा काम गर्दै आएका छन् ।

यस्तै, नेसनल प्याथ ल्यावको अनुगमनका क्रममा स्वास्थ्य राज्यमन्त्री केसीले मापदण्ड नपुगेको ल्याबले सेवा दिँदा गुणस्तरीयता र स्वास्थ्य संवेदनशीलतामा प्रश्न उठ्ने बताउनुभयो । उहाँले भन्नुभयो,  ‘‘अहिले पनि केही प्रयोगशालाहरु मापदण्डभित्र नरहेको पाइएको छ । मापदण्डमा रही प्रक्रियाभित्र रहेर सञ्चालनमा ल्याउन आग्रह गर्छो । नत्र भने कारबाही गर्नुको विकल्प छैन ।’’

सरकारी अस्पतालहरुले परीक्षणका नाममा निजी प्रयोगशालामा पठाउने जनगुनासो आएको भन्दै यसको नियमन आवश्यक रहेको बताउनुभयो । अनुगमनमा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका निर्देशक डा.रुणा झाको पनि उपस्थित थियो ।