काठमाडौँ, माघ १५ गते । अल्पविकसितबाट विकासशील मुलुकमा स्तरोन्नति हुँदा नेपालबाट निर्यात हुने गार्मेन्ट र टेक्सटाइललगायतका क्षेत्रमा ठुलो असर पर्ने देखिएको छ ।
विश्वव्यापार सङ्गठन (डब्ल्युटिओ) का अनुसार अल्पविकसितबाट विकासशील मुलुकमा स्तरोन्नति भए गार्मेन्ट, टेक्सटाइलको निर्यातमा १० देखि २० प्रतिशत कमी आउने देखिएको हो । डब्ल्युटिओले गार्मेन्ट र टेक्सटाइल १३.३ प्रतिशतले निर्यात घट्ने अनुमान गरेको छ ।
आगामी २४ नोभेम्बर २०२६ मा नेपाल, बङ्गलादेश र लावा विकासशील देशमा स्तरोन्नति हुँदै छन् । स्तरोन्नति भएपछि नेपालले निर्यात व्यापारमा पाउने छुट सुविधा हट्ने छ । त्यस्तो सुविधा हट्दा स्वदेशी उत्पादनको लागत मूल्य उच्च भई अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न नसक्दा निर्यातमा कमी आउने देखिएको हो ।
यस्तै साउतीले गरेको अध्ययन अनुसार गार्मेन्ट र टेक्सटाइल निर्यात ४.३ प्रतिशतले नियात घट्ने देखिएको छ । अब ती वस्तुको निर्यातमा ६.७ भन्सार महसुल बढ्दा गार्मेन्ट क्षेत्र बढी प्रभावित हुने अनुमान गरिएको छ ।
डब्ल्युटिओका अनुसार हाते शिल्प, पशु उत्पादन, जडीबुटी, फलामे उत्पादन, धातुका सामान, आयातमा आधारित प्रशोधित उत्पादन, सेवा क्षेत्रको निर्यातमा समेत प्रभाव पर्ने छ । कार्पेटको निर्यात आठदेखि १५ प्रतिशतले घट्ने अनुमान छ । कार्पेटको प्रमुख बजार अमेरिका र युरोपेली सङ्घ रहेकामा उच्च भन्सार महसुलका कारण निर्यात घट्ने देखिएको हो । हाते शिल्प, पशु उत्पादन, जडीबुटीको निर्यात १० देखि १८ प्रतिशतसम्म र लौह उत्पादन, धातुका सामानमा तीनदेखि आठ प्रतिशत घट्ने अनुमान गरिएको छ । यस्तै आयातमा आधारित र प्रशोधित उत्पादनको निर्यात १२ देखि २५ प्रतिशतसम्म हुने अनुमान गरिएको छ ।
भन्सार विभागको तथ्याङ्क अनुसार आव २०८२/८३ का छ महिनामा चार अर्ब ५९ करोड ४० लाख २९ हजार रुपियाँको तयारी गार्मेन्ट र एक अर्ब ६६ करोड ३९ लाख ९२ हजार रुपियाँको टेक्सटाइल निर्यात भएको छ ।
यस्तै आव २०८१/८२ मा आठ अर्ब ७५ करोड ४३ लाख ९१ हजार रुपियाँको तयारी गार्मेन्ट र तीन अर्ब आठ करोड ३१ लाख ८७ हजार रुपियाँको टेक्स्टाइल निर्यात भएको थियो । गार्मेन्ट अमेरिका र इयुमा निर्यात हुने गरेकमा टेक्सटाइल भारतमा निर्यात हुने गर्छ ।
साउती र तयारी पोसाक सङ्घले बुधबार आयोजना गरेको गार्मेन्ट निर्यातको प्रतिस्पर्धा, चुनौती र अगाडिको बाटो विषयक ‘पोलेसी डाइलग’ मा वक्ताहरूले नेपाल विकाशील मुलुकमा स्तरोन्नति भएपछि स्वदेशी समग्र निर्यात व्यापारमा ठुलो प्रभाव पर्ने बताएका छन् ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव डा. रामप्रसाद घिमिरेले गार्मेन्ट मात्र नभएर समग्र निर्यात व्यापारमा असर पर्ने जानकारी दिनुभयो । गार्मेन्ट र टेक्सटाइल तुलनात्मक लाभका वस्तु भएकाले निर्यातको सम्भावना धेरै हुँदा सरकार र निजी क्षेत्र मिलेर निर्यात बढाउन सकिने उहाँको भनाइ छ । उत्पादनको प्रतिस्पर्धी क्षमता वृद्धि गरी भन्सारमा सहजीकरण गरेर व्यापार लागत घटाउन सकिने उहाँको भनाइ छ । सावतीका कार्यकारी निर्देशक डा. पारश खरेलले स्वदेशी उत्पादनमा लजिस्टिक कस्ट उच्च, दक्ष जनशक्ति अभाव, उत्पादनको लागत मूल्य महँगो हुँदा निर्यात घट्ने देखिएको बताउनुभयो ।
व्यापार प्रवर्धन तथा निकासी केन्द्रका कार्यकारी निर्देशक शरदविक्रम राणाले सरकार र निजी क्षेत्र मिलेर उत्पादन बढाउन स्पष्ट खाका बनाउन आवश्यक रहेको बताउनुभयो ।
व्यापार विज्ञ रविशङ्कर सैजूले नेपाल विकाशील मुलुकमा स्तरोन्नति भएपछि गार्मेन्ट, कार्पेट, कृषि उत्पादन जस्ता परम्परागत निर्यातमा ठुलो प्रभाव देखिने भएकाले सरकारले नयाँ नयाँ बजार खोजी गरे निर्यात बढाउन आवश्यक रहेको बताउनुभयो । तयारी पोसाक सङ्घका अध्यक्ष पशुपतिदेव पाण्डेले गार्मेन्ट उद्योगमा दक्ष जनशक्ति अभाव, लागत मूल्य महँगो हुँदा निर्यातमा असर पर्ने बताउनुभयो ।