• ११ मंसिर २०८१, मङ्गलबार

सातै प्रदेशमा विशिष्टीकृत अनुसन्धान केन्द्र

blog

काठमाडौँ, असार ३१ गते । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) ले सातवटै प्रदेशमा विशिष्टीकृत अनुसन्धान केन्द्र स्थापना गर्ने निर्णय गरेको छ । जसअनुसार प्रदेश १ को विराटनगर, मधेश प्रदेशको बर्दिवास, बागमतीको रामपुर चितवन, गण्डकी प्रदेशको पोखरा, लुम्बिनी प्रदेशको दाङ, कर्णाली प्रदेशको सुर्खेत र सुदूरपश्चिम प्रदेशको महेन्द्रनगर केन्द्र स्थापना हुने भएका छन् ।

नास्टको बिहीबार सम्पन्न ४५औँ प्राज्ञ सभाले उक्त निर्णय गरेको हो । सभाले प्रदेश स्तरीय अनुसन्धान केन्द्र स्थापना एवम् सञ्चालनका लागि केन्द्रीय र व्यवस्थापन समिति गठन गरेको छ । त्यस अवसरमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले परिणाम देखिने गरी काम गर्न नास्टका पदाधिकारीलाई आग्रह गर्नुभयो । उहाँले नास्टले अन्य विश्वविद्यालयहरूसँग सहकार्य र अनुसन्धान केन्द्रित विश्वविद्यालयको अवधारणामा काम गर्नुपर्ने पनि बताउनुभयो ।

विज्ञान र प्रविधि शिक्षालाई प्रवर्धन गर्ने, परम्परागत ज्ञान र सीपलाई आधुनिकीकरण एवं संरक्षण गर्ने, उपयुक्त प्रविधिको पहिचान गरी प्रविधि हस्तान्तरण गर्दै राष्ट्रको सर्वोपरि विकासमा सेवा पु¥याउने गरी नास्टले काम गर्दै आएकामा पौडेलले प्रशंसा पनि गर्नुभयो ।