• १३ साउन २०८१, आइतबार

साँफे–मार्तडी लोकमार्ग फेरि अवरुद्ध

blog

पहिरोले अवरुद्ध साँफे मार्तडी लोकमार्गअन्तर्गत अक्कोट सडक । तस्बिर : शेरबहादुर सार्की

बाजुरा, असार ३१ गते । बाजुराको साँफे–मार्तडी लोकमार्गअन्तर्गत पर्ने अम्कोट सडक पुन अवरुद्ध बनेको छ । गत बुधबार राति परेको अविरल वर्षाका कारण तलबाट पहिरो बग्न सुरु भएपछि अम्कोट सडक अवरुद्ध बनेको हो । जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार वर्षाका पानीका कारण अम्कोट सडक भासिएर झन्डै बाइस फिट तल पुगेपछि अम्कोट सडक अवरुद्ध बनेकोे छ । जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख सूर्यबहादुर थापाले लगातार परेको पानीका कारण सडक पूरै पहिरोमा परिणत भएपछि यसलाई पुनः सञ्चालन गर्न अझै समय लाग्ने बताउनुभयो । 

महाकाली यातायातका बस चालक भेषराज जोशीले कामचलाउका रूपमा हिउँदमा यातायात मार्तडी पुगे पनि वर्षाको समयमा थोरै पानी परे पनि पटक पटक सडक अवरुद्ध बन्दै गएको बताउनुभयो । उहाँका अनुसार महेन्द्रनगर, धनगढी अत्तरियाबाट आउने लामो दूरीका बस अहिले बल्देमा रोकिएका छन् ।

सडक पूरै भासिएर नदीको मुखमा पुगेपछि गाडी त के अहिले मानिसलाई पनि आउजाउ गर्न कठिन छ उहाँले बताउनुभयो । काम चलाउन बनाएको सडक हिउँदमा केही दिन सञ्चालन भए पनि अहिले वर्षाका कारण सडकको तल र माथिबाट पहिरो जान थालेपछि सडक अवरुद्ध बन्दै गएको चालक जोशीले बताउनुभयो ।

बूढीगङ्गा नगरपालिका–२ का स्थानीय वीरबहादुर थापाले अम्कोट सडक पहिरोले पटक पटक अवरुद्ध बन्नथालेपछि सदरमुकाम मार्तडीका व्यापारीलाई सामान ढुवानी गर्न निकै सास्ती भएको बताउनुभयो । उहाँले भन्नुभयो, “व्यापारीले फेरि भरियामार्फत सामान ढुवानी गर्न थालेका छन् । भरियाले ढुवानी गर्दा उपभोक्ताले पनि चर्को मूल्यमा सामान खरिद गर्नुपर्ने अवस्था आउँछ ।”

सडक डिभिजन कार्यालय साँफेका सुपरभाइजर गोकुल गिरीका अनुसार साँफे मार्तडी लोकमार्गको सबैभन्दा बढी समस्या हुने भनेको अम्कोट सडक नै हो । यो प्रत्येक वर्षाको समयमा यसरी नै भत्किँदै जान्छ । पानी रोकिएपछि केही दिनभित्र सडक सञ्चालन हुन्छ । वर्षाका कारण सडक अवरुद्ध बनेपछि डिभिजन कार्यालयलाई जानकारी गर्दै सडक मर्मत गर्ने काम सुरु भइरहेको प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द अधिकारीले बताउनुभयो ।