नेपालगन्ज, माघ १० गते। तीनवटा निर्वाचन क्षेत्र रहेको बाँकेमा तीन प्रतिनिधिसभा सदस्य पदका लागि ५६ जनाको उम्मेदवारी कायम भएको छ।
६० जना उम्मेदवारले मनोनयन दर्ता गराए पनि चार जनाले उम्मेदवारी फिर्ता लिएपछि ५६ जनाको उम्मेदवारी कायम भएको मुख्य निर्वाचन अधिकृतको कार्यालय बाँकेले जनाएको छ।
बाँके क्षेत्र नम्बर १ र २ मा चार जनाको उम्मेदवारी फिर्ता भएपनि क्षेत्र नम्बर ३ मा मनोनयन दर्ता गराएका कसैले पनि उम्मेदवारी फिर्ता लिएनन्।
बाँकेका मुख्य निर्वाचन अधिकृत दीपककुमार दाहालका अनुसार क्षेत्र नम्बर १ मा १४ जनाको उम्मेदवारी कायम भएको छ भने क्षेत्र नम्बर २ मा २० जनाको र क्षेत्र नम्बर ३ मा २२ जनाको उम्मेदवारी कायम भएको छ।
उहाँले क्षेत्र नम्बर १ बाट प्रदिप पौडेल र दीपकबहादुर शाहीले उम्मेदवारी फिर्ता लिएको र क्षेत्र नम्बर २ बाट सरस्वतीप्रसाद बर्मा र विजयकुमार गुप्ताले नाम फिर्ता लिएको बताउनुभयो।
जिल्लामा ५६ जनाको उम्मेदवारी कायम भएसँगै उम्मेदवार प्रचार प्रसारमा सक्रिय भएका छन्। जिल्लाका मुख्य निर्वाचन अधिकृत दाहालले सबै उम्मेदवार र दलहरुलाई निर्वाचन आचारसहिंताको पालनामा विशेष ध्यान दिन आग्रह गरिएको जनाउँदै आचारसहिंता उलंघन गरिएको र्पाएमा कानुन अनुसार कारवाही गरिने बताउनुभयो।
विभिन्न दलका उम्मेदवारले जिल्लामा शनिबारबाट जनसम्पर्क र प्रचार प्रसार शुरु गरेको जनाएका छन्।