• १० माघ २०८२, शनिबार

क्यामेरा भवनमा मिथ्या सूचना संघर्षबारे गोष्ठी

blog

मिथ्या सूचना संघर्षबारेको गोष्ठीमा सहभागी अतिथि र सहभागीहरु ।

गोरखापत्र अनलाइन

काठमाडौं, माघ १० गते । मिथ्या सूचना संघर्ष बारेको दुई दिने गोष्ठी यहाँ सुरु भएको छ । पत्रकारिता र आमसञ्चार केन्द्रीय विभाग र सिएमआर नेपालको संयुक्त आयोजनामा भएको कार्यक्रम आइतबारसम्म चल्नेछ ।

गोष्ठीको उदघाटनसत्रमा बोल्नुहुँदै त्रिभुवन विश्वविद्यालय मानवीकी तथा समाज विज्ञान संकायका कार्यबाहक डिन डा. बामदेव अधिकारीले मिडिया र सामाजिक सञ्जालमा आएको कन्टेन्ट्सको चेकजाँच नगरी विचार निर्माण गर्दा समस्या आउने गरेको बताउनुभयो । सामाजिक सञ्जाल र मिडियामा आउने कन्टेन्ट्स चेक गरेर मात्र ग्रहण गर्ने चेतको विकास गर्न आवश्यक रहेको उहाँको भनाइ छ ।

मनीपाल एकाडेमी भारतका प्रोफेसर डा. पदमा रानीले मिथ्या र गलत सूचनाले मानिसलाई गलत बाटोमा लग्ने हुनाले त्यसबारे सर्वसाधारणलाई जानकारी दिनुपर्ने बताउनुभयो । कोभिड १९ को बेला मिथ्या सूचनाले विश्वभरी मानिसहरु पीडामा परेको उहाँले अनुभव सुनाउनुभयो । इन्टरनेटको विकासले सूचनामा पहुँच सजिलो भए पनि मिथ्या सूचनाले सबैलाई दुःख दिइरहेको उहाँको भनाइ छ । 

त्रिभुवन विश्वविद्यालय, पत्रकारिता तथा आमसञ्चार विभागका प्रमुख डा. कुन्दन अर्यालले दुई दिनसम्म चल्ने गोष्ठीबाट मिथ्या सूचनाको उत्पादन, त्यसको निराकरणबारेमा गम्भीर छलफल हुने बताउनुभयो । गोष्ठीमा भारत, नेपालका उपत्यका र उपत्यका बाहिरको विचारहरु आदान प्रदान हुने उहाँले बताउनुभयो । 

सिएमआर नेपालका अध्यक्ष नवीन खतिवडाले निर्वाचनका बेला अझ बढी मिथ्या सूचना सम्प्रेषण हुनेगरेकाले त्यसप्रति सजग हुनुपर्ने बताउनुभयो । मिथ्या सूचनाको बाढी विश्वव्यापीरुपमा रहेकाले त्यसको प्रयोगबारेमा सचेतना आवश्यक रहेको बताउनुभयो । 

पहिलो दिनको सेसनमा डा. धिरेन्द्र नाल्बो, डा. विनोद भट्टराई, डा. पदमा रानी प्रमुख बक्ताको रुपमा प्रस्तुति गर्नुभयो । त्यस्तै, प्यानल डिस्कसनमा डा. ऋषिकेस दाहाल, डा. शशिनाथ मरासनी, युवराज शर्मा, तिलब पाठक, सञ्जीवकुमार साह, निलिमा खान, दृष्टि उप्रेती, लेखनाथ पाण्डे, सहयोग रञ्जित, रबीराज बराल, सुनिल पौडेल, अजयकुमार साह, चेतना कुँवर, त्रिभुवन विसी लगायतले सहभागिता जनाउनुभएको थियो । आइतबार हुने कार्यक्रममा प्रमुख वक्ताको रुपमा हरि शर्मा, जाको डु टोइट लगायत रहनुभएको छ ।