निराजन परियार
चौमाला (कैलाली), माघ १० गते । आइतबार हुने राष्ट्रियसभा निर्वाचनका लागि सुदूरपश्चिममा तयारी पूरा भएको छ। अस्थायी राजधानी धनगढीमा रहेको राष्ट्रिय सभा निर्वाचन अधिकृतको कार्यालयमा प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख उपप्रमुखका लागि छुट्टाछुट्टै बुथ निर्माण गरिएको छ ।
राष्ट्रिय सभा निर्वाचनका लागि सुदूरपश्चिममा ५३ प्रदेशसभा सदस्यमध्ये ५१ जनाले मतदान गर्नेछन् । प्रदेशसभा सदस्य दीर्घ सोडारी भष्ट्रचार काण्डका कारण निलम्बनमा हुनुहुन्छ । प्रदेश सभा सदस्य डा. तारा जोशी प्रतिनिधि सभा सदस्यको उम्मेदवार हुनुभएको छ । त्यस्तै ८८ वटा स्थानीय तह रहेको सुदूरपश्चिम प्रदेशमा १७६ जना प्रमुख–उप प्रमुखमध्ये १७३ जनाले मात्र मतदान गर्न पाउने सुदूरपश्चिम प्रदेश निर्वाचन कार्यालयका प्रमुख प्रेम भट्टले जानकारी दिनुभयो । उहाँले भोलि विहान ९ बजेदेखि ३ बजेसम्म मतदानको समय निर्धारण गरिएको बताउनुभयो ।
राष्ट्रियसभा निर्वाचनका लागि सुदूरपश्चिममा २ पदका लागि ४ जनाले उम्मेद्वारी दर्ता गरेका छन् । नेपाली काँग्रेसको तर्फबाट बाजुराका खम्मबहादुर खातीले उम्मेद्वारी दर्ता गरेका छन् । उहाँ पूर्व महान्यायधिबक्ता पनि हुन् । यसैगरी नेकपा (एमाले) को तर्फबाट कैलालीकी लिला भण्डारीले उम्मेदवारी दर्ता गराउनुभएको छ । उहाँ पार्टीको केन्द्रीय कमिटी सदस्य हुनुहुन्छ ।
यसैगरी नेपाली कम्युनिष्ट पार्टिले रोजी बस्नेत सुनार र टिकाराम जैशीलाई उम्मेद्वार बनाएको छ । रोजी बस्नेत सुनार पूर्व एकीकृत समाजवादीको हुनुहुन्छ भने भने जैशी पूर्व माओवादीको हुनुहुन्छ ।