• १० माघ २०८२, शनिबार

पार्टीको राष्ट्रवादी छवि देखेर एमालेमा आएँ : अग्रवाल

blog

नेकपा (एमाले) प्रवेश गर्नुभएका शेयर लगानीकर्ता दिपेन्द्र अग्रवाल ।

गोरखापत्र अनलाइन

काठमाडौं, माघ १० गते । शेयर लगानीकर्ता दिपेन्द्र अग्रवालले नेकपा (एमाले) पार्टीको राष्ट्रवादी छवि र समृद्ध नेपाल सुखी नेपालीको अभियान मन परेर एमालेमा प्रवेश गरेको बताउनुभएको छ । आज एमाले मुख्यालय च्यासलमा अध्यक्ष केपी शर्मा ओलीको हात खादा लगाएर पार्टी प्रवेश गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

“हुन त यहाँ अरु धेरै पार्टीहरु छन् । तर किन एमाले रोजेभन्दा एमाले अध्यक्ष केपी शर्मा ओलीको राष्ट्रवादी छवि, देश र जनताको पक्षमा निरन्तर लागिरहने साहसी र निडर व्यक्तित्वका कारण यो पार्टी छाने” उहाँले थप्नुभयो, “मुलुक नाकाबन्दीको अवस्थाबाट गुज्रिरहँदा उहाँले लिएको अडान विश्व इतिहासमा उदारणीय छ, त्यो कदमको जति प्रसंशा गरे पनि कम हुन्छ । यो पार्टीले लिएको समृद्ध नेपाल र सुखी नेपालीको अभियान एकदमै राम्रो छ ।” 

नेपालको मिचिएको भूमि नेपालमै गाभेर चुच्चे नक्सामा समेटेको, भूकम्पले थलापरेको संरचनालाई पुनःनिर्माण गरेको, राष्ट्रिय महत्वका आयोजना निर्माण र सम्पन्न गर्न चासो देखाएको, देशभर सडक सञ्जाल विस्तार गरेको, नेपाल र नेपालीको पहिचान गुम्न नदिन लिएको अडान र साहसिक निर्णय एकदम राम्रो भएको उहाँले बताउनुभयो । 

“आज म यहाँ नेपाली सेयर बजारका ७२ लाख लगानीकर्ताको पीडा, संघर्ष, सपना र भविष्य बोकेर उभिएको छु । एक साधारण व्यापारी परिवारबाट उठेर, असाधारण परिस्थितिसँग लड्दै, नेपाली सेयर बजारलाई आफ्नो जीवन बनाएको एक साधारण लगानीकर्ता हुँ” अग्रवालले भन्नुभयो, “मैले बजारलाई केवल पैसा कमाउने ठाउँ मात्र मानेको छैन । यसलाई साना लगानीकर्ताको आशा, युवाको भविष्य, र देशको आर्थिक मेरुदण्ड मानेको छु।”

नेकपा एमालेको सरकार हुँदा लगानिकर्ता उच्च मनोबलले लगानी गर्न तयार रहेको चर्चा गर्दै उहाँले भन्नुभयो, “सबैको भरोसा कमाएको दल हो एमाले । आगामी निर्वाचनमा हामी ७२ लाख लगानिकर्ता एकसाथ उभिन्छौं, उभिने छौं ।” 

पार्टी प्रवेश कुनै स्वार्थले प्रेरित नभएको प्रस्ट पार्दै उहाँले यसलाई समयको आवश्यकताको रुपमा बुझ्न आग्रह गर्नुभयो । “म र मसँगै सयौं लगानीकर्ता कुनै पदका लागि पार्टी प्रवेश गरेका होइनौं, कुनै फाइदाका लागि होइन,  पुँजीबजारको भविष्य सुरक्षित गर्न एमालेमा प्रवेश गरेका हौं । यो आर्थिक सुधारको अभियान हो” उहाँले भन्नुभयो ।