• १० माघ २०८२, शनिबार

सल्यान कपुरकोटमा निःशुल्क स्वास्थ्य शिविर

blog

सल्यान कपुरकोटमा आयोजित निःशुल्क शिविरमा उपचार लिदै सेवाग्राही ।

प्रतीक इच्छुक शर्मा 

सल्यान, माघ १० गते । कपुरकोट गाउँपालिकामा सञ्चालन गरिएको निःशुल्क स्वास्थ्य शिविरबाट सातसय ३६ जना लाभान्वित भएका छन् । 

कपुरकोट गाउँपालिकाको आयोजनामा र राप्ती आँखा अस्पताल तुल्सीपुर तथा ब्रिनोज कान स्वास्थ्य सामुदायिक सेवा केन्द्र नेपालगन्जको प्राविधिक सहयोगमा दुई दिनसम्म शिविर सञ्चालन गरिएको हो ।

शिविरमा आँखा, नाक, कान तथा घाँटीसम्बन्धी समस्या भएका सेवाग्राहीलाई विशेषज्ञ स्वास्थ्य सेवा प्रदान गरिएको थियो । शिविरमार्फत आँखासम्बन्धी पाँचसय ३५ जना तथा नाक, कान र घाँटीसम्बन्धी समस्या भएका दुईसय १ जनाले सेवा लिएको कपुरकोट गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिनेश पौडेलले जानकारी दिनुभयो । 

उहाँका अनुसार शिविरमा चारसय ९१ जना महिला तथा अन्य पुरुष सेवाग्राही सहभागी भएका थिए । दुईदिने शिविर अवधिमा आँखा, नाक, कान तथा घाँटीसम्बन्धी समस्या भएका ५१ जनाको शल्यक्रिया समेत गरिएको छ ।

पालिकाका दुर्गम बस्तीका स्थानीय नागरिकलाई आँखा, नाक, कान र घाँटीसम्बन्धी उपचारका लागि दाङको तुल्सीपुर वा नेपालगन्जसम्म जानुपर्ने बाध्यतालाई न्यूनीकरण गर्ने उद्देश्यले शिविर आयोजना गरिएको कपुरकोट गाउँपालिका अध्यक्ष दुर्गाबहादुर पुनले बताउनुभयो । घरनजिकै विशेषज्ञ स्वास्थ्य सेवा उपलब्ध गराउँदा सेवाग्राहीले ठुलो राहत महसुस गरेको उहाँको भनाइ छ ।