हारारे, माघ १० गते । दक्षिणी जिम्बाब्वेको माताबेलेल्यान्ड साउथ प्रान्तमा आएको भीषण बाढीका कारण एक सवारी साधन बग्दा नौ जनाको ज्यान गएको छ । प्रहरीका अनुसार फिलाबुसी क्षेत्रको मुकुला गाउँ नजिक रहेको त्शाङ्गामुटोपे नदी पार गर्ने क्रममा टोयोटा नोआ गाडी अचानक बढेको बाढीको भेलमा फसेर बगिएको हो ।
नदीमा पानीको बहाव अत्यधिक भएकाले चालकले गाडी नियन्त्रणमा राख्न नसक्दा दुर्घटना भएको बताइएको छ । दुर्घटनामा सात जना वयस्क र दुई जना बालबालिकासहित नौ जनाको घटना स्थलमै डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ । घटनापछि खोज तथा उद्धार कार्य सुरु गरिएको थियो, जसमा स्थानीय बासिन्दाको सक्रिय सहयोग रहेको थियो ।
लामो प्रयासपछि शुक्रबार सबै शव फेला पारिएको र अहिले मृतकको पहिचान तथा आवश्यक कानुनी प्रक्रिया जारी रहेको प्रहरीले जानकारी दिएको छ । प्रहरीले नदी तथा खोलामा पानीको सतह बढेका बेला सवारी साधन प्रयोग नगर्न र जोखिमपूर्ण स्थानमा सावधानी अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ ।
पछिल्ला महिनामा निरन्तर परेको मुसलधारे वर्षाका कारण जिम्बाब्वेका धेरै क्षेत्र प्रभावित भएका छन् । बाढी, पहिरो र अन्य प्राकृतिक विपत्तिका कारण हालसम्म ७० भन्दा बढी व्यक्तिको मृत्यु भइसकेको छ भने देशभर सडक, पुल र अन्य पूर्वाधारमा व्यापक क्षति पुगेको छ । सरकार तथा सम्बन्धित निकायले प्रभावित क्षेत्रमा निगरानी बढाएको र जोखिम कम गर्न आपतकालीन तयारीलाई तीव्र बनाइएको बताएका छन् । रासस/सिन्ह्वा