नेपालमा धेरै खाले आन्दोलन भए लोकतन्त्रका लागि, गणतन्त्रका लागि, सङ्घीयताका लागि, समावेशीकरणका लागि अनि अरू थुप्रै तर भुँडी आन्दोलन अहिलेसम्म भएन किनभने जसले आन्दोलन गर्नु पथ्र्यो, तिनैको भुँडी रित्तो छ, जसले भुँडी भरिसकेको छ, तिनलाई किन आन्दोलन चाहियो ? यहाँ भुँडीको चिन्ता गर्नेलाई भाषण गर्न दिइँदैन अनि भाषण गर्नेलाई भुँडीको चिन्ता हुँदैन । यहाँ भुँडी ठुला हुनेहरू नै बुद्धिजीवी मानिन्छन् । जसको भुँडी ठुलो छैन, उसले ‘देश विकास’ को कुरा गर्नै पाउँदैन ।
यहाँ देश चलाउने योग्यता ‘भुँडी क्यापसिटी’ मा निर्भर हुन थालेको पनि धेरै भइसक्यो । जुन नेताको भुँडी जति अगाडि छ, उसको अनुभव पनि उति नै अगाडि देखिन्छ । जसको भुँडी ४० इन्चभन्दा मोटो छैन, उसले राजनीति सिकिसकेको मानिँदैन । त्यसैले नेपालमा विद्यार्थी राजनीति, युवा राजनीति अनि भुँडी राजनीति भन्ने छुट्टै तह हुनुपर्ने कुरा गर्छन् यिनै भुँडीवाल । यिनीहरू नै भन्ने गर्छन्, विद्यार्थीले ‘अवसर’ खोज्छन्, युवाले ‘भविष्य’ खोज्छन् अनि नेताले ‘भुँडी’ खोज्छन् । त्यसैले नेपालमा नागरिकतासँगै ‘भुँडी प्रमाणपत्र’ पनि दिनु पर्छ । जसको भुँडी ४० इन्चभन्दा माथि छ, उसलाई स्वचालित रूपमा सांसद बनाइनु पर्छ । जसको भुँडी ४५ इन्च नाघ्यो, उसलाई मन्त्रीपरिषद् सदस्यता स्वतः दिनु पर्छ । ५० इन्च पुगेपछि ‘प्रधानमन्त्री योग्यता’ स्वतः प्राप्त हुन्छ । यी मागलाई हाम्रो इतिहासले पनि बलियोसँग समर्थन गरेको पाइन्छ किनभने हाम्रो इतिहासमा सबैभन्दा सफल योजना भनेकै ‘भुँडी विस्तार योजना’ थियो । यसका लागि ‘भ्रष्टाचार उन्मूलन’ नामको योजना चलाइएको प्रशस्त उदाहरण भेटिन्छन्, जसको मुख्य उद्देश्य भ्रष्टाचार गर्नेलाई उम्काउने थियो । जनताले कर तिर्छन् तर सुविधा नेताले पाउँछन् । करदाताले खुरुखुरु कर बुझाउँछन् अनि त्यो कर भुँडीमा गएर जम्मा हुन पुग्छ ।
भुँडी बढाउने लस्करमा भुँडी घटाउने भेटिँदा अचम्म लाग्नु स्वाभाविकै हो, यस्ता भुँडी कम गर्ने उपाय खोज्नेहरू जिम जान्छन्, कसरत गर्छन् । जसको भुँडी छ, उसले नै नीति बनाउँछ, जसको भुँडी छैन, उसले नै भोट दिन्छ । भुँडी सानो हुँदा ‘मुलुक परिवर्तन गर्नु पर्छ’ भन्ने लाग्छ, भुँडी ठुलो भएपछि ‘स्थायित्व चाहिन्छ’ भन्ने लाग्छ । त्यसैले अब त नेपालमा
‘महँगी महोत्सव’, ‘भ्रष्टाचार प्रतियोगिता’ अनि ‘भुँडी प्रदर्शनी’ को सुरुवात गर्नु पर्छ । जसले गर्दा नेताले आफ्नो भुँडी देखाएर ‘यसपालिको बजेट सफल भएको छ’ भनेर प्रमाणित गरून् । जसको भुँडी ठुलो छ, उसलाई मेडल दिऊँ । अनि जसको भुँडी सानो छ, उसलाई ‘भविष्यमा सुधार गर्न’ भनी प्रोत्साहन पुरस्कार दिऊँ ।
सायद यसैको परिणाम होला, अहिले क्याबिनेट बैठक, सांसदहरूको छलफल अनि चुनावी भाषण पनि भुँडीकै वरिपरि घुम्न थालेका छन् । कोही ‘समृद्धि’ ल्याउने भनेर सत्तामा जान्छन्, कोही ‘समानता’ ल्याउने भनेर भाषण दिन्छन् । जब कुर्सीमा पुग्छन्, तिनको ध्यान जनताको भुँडीमा होइन, आफ्नै भुँडीमा जान्छ । अनि सुरु हुन्छ भुँडीपूजा । अनि यो पूजा कोही सामान्य भक्तजनले होइन, ठुलठुला नेता, मन्त्री, व्यापारी र पहुँचवाला ठालुले गर्न थाल्छन् । उनीहरूको ‘भुँडी’ को सन्तुष्टिका लागि नै नीति बनाइन्छन्, संसद्मा बहस हुन्छ, कानुन पास गरिन्छ अनि जनता चाहिँ चिउरा पानीमा भिजाएर भुँडीको पूजा गर्दै बस्न बाध्य छन् ।
हाम्रो समाजमा पूजा भनेपछि मानिसहरू पण्डित बोलाएर, दियो बालेर, मन्त्र जपेर, फूलमाला चढाएर, सिन्दूर, अक्षता र प्रसाद राखेर गर्ने सोच्छन् । ठुलठुला देवस्थलमा भिड जम्मा हुन्छ, भजनकीर्तन हुन्छ अनि प्रसादको लाइनमा आफैँलाई भगवान् सम्झिएर प्रसाद सिध्याउने काम हुन्छ । नेपालमा मात्र होइन, संसारभर नै एक यस्तो पूजा छ, जसको कुनै निश्चित मिति छैन, कुनै निश्चित विधि छैन तर हरेक दिन हजारौँ, लाखौँ, करोडौँ मानिस यसमा समर्पित छन् ।
यो पूजा हो– भुँडीपूजा !
हो, त्यो यही पूजा हो जसमा कुनै पण्डित चाहिँदैन, कुनै मन्त्र जप्नु पर्दैन, कुनै विशेष मुहूर्त हेरिराख्नु पर्दैन । बिहान सबेरै उठेदेखि राति नसुतेसम्म हरेक घण्टा यो पूजा गर्ने भक्तजन पाइन्छन् । जब बिहानको खाली पेटले दिमाग बन्द गर्न थाल्छ, तब स्वयम्भू भुँडी भगवान्को दर्शन गरिन्छ । ‘डकार आए भगवान्, पेट दुःखे सैतान’ भन्ने उखानलाई आत्मसात् गर्दै, भक्तहरू साँच्चिकै गम्भीरतापूर्वक यो पूजामा सहभागी हुन्छन् । आआफ्नो गच्छे अनुसार कोही चिउराको फाँको मार्न थाल्छन्, कोही पञ्चवर्षीय योजनाको ज्युनार गर्ने तरिका खोज्न थाल्छन् । कुनै पनि पूजा गर्दा विधिपूर्वक गर्नु पर्छ । भुँडीपूजामा पनि अनिवार्य चरण छन्–
भुँडी जागरण
बिहान उठ्नेबित्तिकै पहिलो कुरा भनेको भुँडीको हालखबर बुझ्ने हो । कहिलेकाहीँ रातको बासी खाना खाएपछि भुँडी रिसाउँछ, कहिलेकाहीँ त रातभर उपवास बस्नु परेकाले त्यसले निहुँ खोज्छ । यसकारण बिहानै चिया, बिस्कुट वा झोलिलो भोजनले भुँडीलाई शान्त पार्नु पर्छ । यतिखेर कसै कसैलाई पोहोर सालको बासी बजेट पनि निकै प्यारो लाग्छ अनि उनीहरू त्यसैको ब्रेकफास्ट गर्दै आफ्नो भुँडीपूजाको श्री गणेशाय नमः गर्छन् ।
नित्य नास्ता
यस चरणमा विभिन्न प्रकारका खाना प्रयोग गरिन्छ । आधुनिक युगमा मानिसहरू हेल्दी ब्रेकफास्टको कुरा गर्छन् तर नेपालमा ? आलु पराठा, सेलरोटी, भटमास, मासु, जाँडरक्सी आदि खानेलाई नै ‘भुँडी भक्त’ भन्ने गरिन्छ । यो नित्य नास्तामा सधैँ एयरपोर्टमा पाइने पहेँला डल्लालगायत भ्रष्टाचारको लस्कर पनि पर्ने गरेको तथ्यलाई बिर्सन मिल्दैन भन्छन् यसका जानिफकार । यिनीहरूका भनाइ अनुसार जसले नित्य नास्ता गर्छ, त्यसैको भुँडी बढ्छ अनि भुँडी प्रमाणपत्र प्राप्त गरेर स्वतः सांसद बन्ने योग्यता जुटाउँछ ।
दिवा भोग
दिउँसोको खाना भनेको भुँडीपूजाको मुख्य अघ्र्य हो । यदि यसबेला पेटलाई आदर गरिएन भने काम गर्ने जोस कम हुन्छ, हाकिम रिसाउँछ, अफिसको काम बिग्रिन्छ । यो समयमा दालभात, मासु, तरकारी, अचार, दहीलगायतका परिकार समर्पण गरिन्छ । यतिखेर बिर्सन नहुने कुरा के हो भने त्यो दालभात आफैँले पकाएर होस् वा चुनाव आयो भन्दै जताततै बाँडेको फेला पारेर होस्, खान चाहिँ छोड्न हुन्न । यसरी पेटलाई आदर गर्न पुग्दा झोले, हनुमान आदि उपनामले चिनिने सम्भावनालाई नकार्न सकिँदैन । यहीबेला हो, जति सक्यो त्यति भुँडीमा कोच्ने । अरूको वास्ता नगरी जसले भुँडी भर्न सक्छ, त्यो नै सफल मानिन्छ । सफलताको अर्थ ४० इन्चको भुँडी अनि सांसद पद ।
मध्याह्न स्नान
यो पूजा सम्पन्न भएपछि, भुँडी भगवान्ले डकाररूपी आशीर्वाद दिन्छन् । जति मिठो खाइन्छ उति मिठो डकार आउँछ । यदि खाना खाइसकेपछि डकार आएन भने अझै पनि पेटमा केही अभाव रहेको सङ्केत मानिन्छ । रमाइलो कुरा के भने हाम्रो देशका ४० इन्चे भुँडीवाललाई कहिले पनि डकार नै आउँदैन किनभने उनीहरू कहिल्यै अघाउँदैनन् ।
साँझको दीप प्रज्वलन
साँझको चिया, बिस्कुट, पकौडा, मम, चटपटे, समोसा आदिले भुँडीपूजाको पुनः संस्कार गरिन्छ । सानोतिनो झोलामा अट्ने यी सानातिना पकवान ४० इन्च भुँडी बनाउने दौडमा संलग्न सबै झोलेले निरन्तर रूपमा खानुपर्ने कुराको सुझाव यिनै ४० इन्चेले दिने गरेको सबैतिर देखिन्छ । यस्ता पकवानमा कहिलेकाहीँ सडकमा कालोपत्रे गर्दा बाँकी रहेको अलकत्रा पनि पर्ने गरेको कुरा गर्छन् खान नपाउनेहरू ।
निशा अर्घ
यो पूजाको अन्तिम चरण हो । राति सुत्नुभन्दा अगाडि, पेट भगवान्लाई तृप्त पार्नु पर्छ । ‘भोकै सुत्नु स्वास्थ्यका लागि राम्रो’ भन्ने कुरा किताबमा मात्र सीमित छ । नेपालीका घरमा ‘भोकै सुत्नु प¥यो’ भन्ने वाक्य सुन्नु भनेको बडो दुर्लभ कुरा हो । कसैलाई थाहा नदिई चुपचाप खानु रात्रि भोजनको विशेषता हो । ४० इन्चेहरू यस्तो प्रकारको भोजन गर्न खप्पिस रहेको कुरा उनीहरू नै गर्दै हिँड्छन् । सायद त्यसैले होला, दिनमा भन्दा पनि रातमा हुने घोटालाको सङ्ख्या असङ्ख्य रहेको छ ।
केही मानिस भुँडीपूजाको विरोध गर्छन् । ‘डाइटिङ गर्नु पर्छ’, ‘कम खानु पर्छ’, ‘फास्टिङ गर्नु पर्छ’ भन्ने विदेशी विचारधाराका पक्षपाती देखिन्छन् । तिनीहरूलाई के थाहा ? भुँडीपूजाका अनगन्ती फाइदा छन्–
भुँडी खुसी भयो भने मुड खुसी हुन्छ ।
मुड खुसी भयो भने जीवन खुसी हुन्छ ।
जीवन खुसी भयो भने श्रीमती खुसी हुन्छिन् ।
श्रीमती खुसी भए भने घरको वातावरण शान्त हुन्छ ।
घर शान्त भएपछि समाजमा शान्ति रहन्छ ।
यसरी हेर्दा भुँडीपूजाले व्यक्तिगत मात्र होइन, सामाजिक शान्तिसमेत कायम राख्ने देखिन्छ !
यति सुनिसकेपछि अब तपाईंलाई पनि भुँडीपूजा गर्न मन लागिसक्यो होला । एक प्लेट मम खाएर यसको महिमा मनन गर्ने कि त ?