• १० माघ २०८२, शनिबार

नेपालगन्ज भन्सारद्वारा ६ महिनामा नौ अर्ब ३४ करोड राजस्व सङ्कलन

blog

नेपालगन्ज नाकामा सञ्चालनमा रहेको एकीकृत जाँच चौकी (आइसिपी) । तस्बिर : सिराज खान

सिराज खान
नेपालगन्ज, माघ १० गते ।
पश्चिम नेपालको प्रमुख नाका मध्येको एक नेपालगन्ज नाकाबाट भन्सार कार्यालयले ६ महिनामा नौ अर्ब ३४ करोडभन्दा बढी राजस्व सङ्कलन गरेको छ ।

नेपालगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८२/०८३ को ६ महिनामा नौ अर्ब ३४ करोड ६४ लाख तीन हजार रुपियाँ राजस्व सङ्कलन गरेको सो कार्यालयका प्रमुख जनार्दन पौडेलले बताउनुभयो ।

उहाँले चालु आवको ६ महिनाको अवधीमा गत आवको ६ महिनाको तुलनामा तीन करोडभन्दा बढी राजस्व वृद्धि हुने क्रममा पुगेको बताउनुभयो ।

भन्सार कार्यालयका अनुसार गत आर्थिक वर्षको ६ महिनामा नेपालगन्ज नाकाबाट नौ अर्ब ३१ करोड ६१ लाख ६७ हजार रुपियाँ राजस्व सङ्कलन भएको थियो ।

नेपालगन्ज भन्सार कार्यालयको तथ्याङ्क अनुसार, चालु आवका लागि वार्षिक लक्ष्य २४ अर्ब ५४ करोड ५७ लाख ८२ हजार निर्धारण भएकोमा पुस मसान्तसम्म ६ महिनामा नौ अर्ब ३४ करोड ६४ लाख तीन हजार रुपियाँ असुली भएको छ ।

भन्सार कार्यालयको मासिक लक्ष्य अुनसार हालसम्म असोज र पुस महिना बाहेक अन्य चार महिनामा लक्ष्यभन्दा कम राजस्व सङ्कलन भएको देखिएको छ । असोज महिनामा लक्ष्यको २३ प्रतिशतभन्दा बढी र पुस महिनामा ६ प्रतिशतभन्दा बढी राजस्व असुली भएको छ ।

गत आर्थिक वर्ष २०८१/०८२ मा नेपालगन्ज भन्सारले लक्ष्यको ७४.६४ प्रतिशत राजस्व सङ्कलन गरेको थियो  भने त्यसको अघिल्लो आर्थिक २०८०/०८१ मा ६३.३५ प्रतिशत राजस्व सङ्कलन गरेको थियो ।

नेपाल–भारत सीमाको जमुनाह नाकामा एकीकृत जाँच चौकी सञ्चालनमा आएपछि आयात निर्यात वृद्धि भइ भन्सार राजस्व वृद्धि हुने अपेक्षा गरिए पनि खासै परिणाम आउन नसकेको जनाइएको छ ।

अर्कोतर्फ नेपालगन्ज भन्सारबाट हुने व्यापार घाटा पनि अतिनै उच्च रहेको पाइएको छ । आयात–निर्यातको अनुपातमा निकै ठुलो फरक देखिँदै आएको छ  ।