पहराती हो राम, जागल रहु रातिभरि
गामके रखबाली तोंहे, जिम्मे अछि सारि
मिथिला क्षेत्रमा गाइने प्रचलित यो लोकभाकाको धार्मिक तथा सांस्कृतिक महìव छ । खासगरी मङ्सिर महिनामा सुरु भई माघ मसान्तसम्म पहराती भाका गाइन्छ, जसलाई बोलीचालीको भाषामा पराती पनि भनिन्छ । तथापि पहराती गाउन कहिलेदेखि थालियो भन्ने चाहिँ यकिन गर्न सकिन्न ।
नेपाली शब्दकोशमा परातीको अर्थ ‘प्रातः कालमा गाइने एक प्रकारको गीत’ भनिएको छ । पहरको अर्थ पहरा, हेरचाह, रखवारी वा सुरक्षा हो । रातको समयमा पहरा गर्नु नै पहराती हो । वास्तवमा रातिमा भक्ति सङ्गीतद्वारा ईश्वरीय भजनले ठुलो स्वर तथा मधुरमय रागमा आराधना गर्दछाँै, त्यही नै पहराती हो । जसको सदुपयोग र निरन्तरताबाट हाम्रो आत्मा र सम्पूर्ण शरीरकै पवित्रता हुनुका साथै बाहिरी जगत्को पनि जस्तैः चोर, डाँका र भूतप्रेत आत्माको नकारात्मक दोषबाट पहरेदारी हुने गर्दछ ।
खासगरी मैथिली, भोजपुरी र मगही भाषाभाषीका पाका व्यक्तिले गाउँदै आएको परातीले लामो परम्परा बोकेको छ । तराईका बस्तीमा लागेको बाक्लो हुस्सु छिचोल्दै एकाबिहानै पाका व्यक्तिले ओछ्यानबाटै धार्मिक र आध्यात्मिक महत्वको पहरातीको मार्मिक भाका गाउन थाल्छन् । मानव समाज र संस्कृति झल्काउने उत्तम परम्पराकै रूपमा तराईमा पराती विकसित भएको देखिन्छ । नेपाल, भारतमा खासगरी मैथिली तथा मगही सांस्कृतिक परम्परामा आधारित यो आध्यात्मिक लोकसंस्कृतिले तत्कालीन समाजको जीवन दर्शक बोकेको पाइन्छ ।
जन्मभूमिको सच्चा पहरेदारी गर्नु र गराउनु परातीका प्रमुख उद्देश्य रहेको भए पनि भगवत्भक्ति प्राप्त गर्नु जस्तो आध्यात्मिक रहस्य पनि छुपेको छ ।
जाडोको मौसम र चिसोले कुम्भकर्ण जस्तै गहिरो निद्रामा समाज परेको हुन्छ । यस्तो मौका पारी चोर–डाँकाले लुटपाट, चोरी गर्न सक्छन् । धन–सम्पत्ति लुटेर लैजान सक्छन् । त्यसैले समाजलाई जागरुक अवस्थामा राख्न नै पराती गाउने चलन सुरु भएको भन्ने भनाइ पनि छ ।
अर्कातर्फ मानव जीवनलाई सार्थक बनाउन ईश्वरीय आराधना र प्रार्थना पनि उत्तिकै जरुरी रहेको छ । अर्थात् भगवान्को प्रार्थना अथवा आराधनाका लागि बिहानी जस्तो शुभमुहूर्त के होला र ? सूर्य उदय हुनुभन्दा पहिले वास्तवमा भगवान्को आराधना वा प्रार्थना यदि भक्तिपूर्वक गरिएमा त्योभन्दा अर्को शुभमुहूर्त सायदै कुनै होला । तसर्थ पराती यस्तो दैविक प्रार्थना वन्दना या आराधना हो जसका लागि यो नै सबभन्दा उपयुक्त मुहूर्त ठहरिन्छ । त्यस कारण भनिन्छ कि यसबेलामा परातीकै माध्यमबाट ईश्वरका भक्ति, भजन वा आराधना गरिन्छ भने अवश्य भगवान्ले मनकामना पूरा गर्ने छन् ।
दुई दशकअघिसम्म तराई मधेशका कुनाकप्चामा प्रत्येक जाडो मौसमको मङ्सिरबाट पहराती गाउन सुरु गरी माघ महिनाको मसान्तमा समापन गरिने यो दैविक आध्यात्मिक लोकभाकाको बेग्लै महत्व राख्ने गर्दथ्यो । हरेक गाउँसमाजका छाप्रादेखि महलसम्ममा पहराती/परातीको मधुर धुन गुन्जिन्थ्यो । तथापि पछिल्लो समय यो लोकभजन संस्कृतिमा कमी आउँदै गएको पाइन्छ । मिथिला क्षेत्रका ९० प्रतिशत भूभागमा पहराती गाइने लोकसंस्कृति थियो । अहिले यो संस्कृतिमा कमी हुँदै जानु आश्चर्य र उदेकलाग्दो भएको छ । नगन्य मात्रामा मात्र सन्ततिमा यो बहुमूल्य संस्कार र संस्कृति हस्तान्तरण भएको पाइन्छ । हुन त बधैया, कजरी, सोहैर, महराई, झुम्मैर बटगबनी, दाहामरण्डा जस्ता लोकगीत सामान्यता विलोपको अवस्थामा छैनन् तर कमी चाहिँ अवश्य हुँदै गएको छ । तथापि पहराती लोकभाका सङ्कटमा पुगेको छ ।
हराउँदै हरखरा
तराईमो निकै चर्चित तर हराउँदै गएको अर्को पर्व हो– हरखरा । माघीपर्व अथवा माघेसङ्क्रान्ति त कृषिकार्य, खेतीपाती अर्थात् किसान वा कृषकले बिउबिजन शुभारम्भ गरिने एउटा महत्वपूर्ण पर्व हो । तराई मधेशतिर, मिथिलाञ्चल क्षेत्रभरिमा माघेसङ्क्रान्तिकै दिन ‘हरखरा’ पर्व मनाइन्छ । जसमा गोरुको पूजा गरिन्छ, दुबो, धान र फूलले । त्यसै गरी काँधमा हलोसहितको जुवा राखेको हलगोरुको मूर्ति आँगनमा स्थापित गरी पूजा गर्ने प्रचलन तराईमा थियो । बिहानी उठेर सूर्य किरणको लाली देख्नेबित्तिकै किसानले आफ्ना सन्तानलाई गृहस्थ र हरवाहको भूमिकामा कुनै खाली चौर वा पर्ती भएको जमिन अथवा आफ्नो खेतमै लगेर एक/दुई सिरा पार्ने (चिरा पार्ने) गरी हलो जोतेर खेतीपातीको काम पनि संगै शुभारम्भ गर्ने गरिन्छ ।
पहिला ‘लोहरा पसरा’ अर्थात् लोहारको नेहाई भएको स्थल वा गृहमा हलो सामान्य मर्मत गरी आफ्ना सन्तानमध्ये एकलाई गृहस्थ अर्कालाई हरवाह बनाएर कृषक आफू पनि सँगै खेतमा पुगेर दुई/चार सिरा जोतेर फर्किन्छन । कृषक फर्किने बेलासम्म घरका महिलाले आँगनमा पिठार (चामलको पिठो) ले बनाइएको गोरु, जुवा, हलोसहितको हल बाँधेको गोरु बनाइएको हुन्छ । त्यसैमा दुबो, फूलमालाले पूजा गरिन्छ । लोहारले परिपक्क कृषकलाई पान प्रसाद खुवाउने गरिन्छ । कृषकले धान पारिश्रमिकस्वरूप महिनाको दुई पसेरी वा सालको दुई माना लोहारलाई बुझाउने गरिन्छ । योबेला बालबालिकालाई गुड या मिठा मिसाएर चामलको प्रसाद बाँडिन्छ । तर अचेल यो पर्व तराईका प्रायः ठाउँमा हरखरा पर्व विलोप हुँदै छ ।