सुर्खेत समाचारदाता
सुर्खेत, माघ १० गते । कर्णाली प्रदेश सभाको हिउँदे अधिवेशन यही माघ १८ गते हुने भएको छ । कर्णाली प्रदेश सरकारको शुक्रबार बिहान बसेको मन्त्रीपरिषद् बैठकले प्रदेश सभाको अधिवेशन माघ १८ गते आइतबार दिउँसो १ बजे आह्वान गर्न प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ । प्रदेश सरकारका प्रवक्ता एव भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विनोदकुमार शाहले प्रदेश सभाको हिउँदे अधिवेशन यही माघ १८ गते आह्वान गर्न प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय गरेको बताउनुभयो ।
यस पटकको हिउँदे अधिवेशन कृषि तथा पशुपन्छी व्यवसाय प्रवर्धन प्रशिक्षण केन्द्रको सभा हलमा हुने तयारी थालिएको छ । वीरेन्द्रनगर बजारको गणेश चोकमा रहेको सो कार्यालयमा सुरुका केही बैठक सञ्चालन गर्ने गरी तयारी थालिएको छ । गत भदौ २४ गतेको जेनजी आन्दोलनका क्रममा आगजनीबाट क्षतिग्रस्त भएको प्रदेश सभा भवन पुनर्निर्माण गर्न समय लाग्ने र हिउँदे अधिवेशन अस्थायी रूपमा सञ्चालनका लागि प्रदेश सभापरिसरमै रहेको सूचना प्रविधि कक्षको मर्मत थालिएको थियो । उक्त कक्ष निर्माण गर्न अझै समय लाग्ने भएकाले तत्कालका लागि कृषि तथा पशुपन्छी प्रशिक्षण केन्द्रको सभा हलमा बैठक सञ्चालन गर्ने तयारी भएको छ ।
प्रदेश सभा सचिवालयका सूचना अधिकारी राजेन्द्र पौडेलले अस्थायी रूपमा बैठक बसाल्ने तयारीस्वरूप सूचना प्रविधिकक्ष बनाउन लागिए पनि लागत अनुसारका सामग्री आउन समय लाग्ने भएकाले अर्को विकल्प सोचिएको बताउनुभयो ।
यद्यपि कृषि तथा पशुपन्छी प्रशिक्षण केन्द्रको सभा हललाई बैठकस्थल बनाउने भनेर पत्र आइनसकेकाले पत्र आउनासाथ तोकिएको दिनमै बैठक बस्ने उहाँले बताउनुभयो । सो स्थानको संरचना सबै नयाँ छ । बैठक सञ्चालन गर्ने विधि अनुसारको केही सजावट मात्र आवश्यक पर्दछ । उहाँका अनुसार सुरुका दुई÷चार वटा बैठक प्रशिक्षण केन्द्रको सभामा हुने र त्यसपछिका बैठक प्रदेश सभाको सूचना प्रविधि कक्षबाट हुने छ ।
अस्थायी रूपमा बैठक चलाउनका लागि निर्माण थालिएको सूचना प्रविधिकक्षको काम करिब आधा सकिएको छ । जस्तापाता र सिमेन्टका केही सामग्री आउन ढिलाइ भएकाले तत्कालका लागि सूचना प्रविधिकक्षबाट बैठक चलाउन नसकिएको सचिवालयका सूचना अधिकारी पौडेलले बताउनुभयो । सूचना प्रविधिकक्ष निर्माणको काम प्रदेश सरकारकै नियमित बजेटबाट भइरहेको छ । जेनजी आन्दोलनका क्रममा प्रदेश सभामा करिब चार करोड बराबरको क्षति भएको छ ।