हरिकृष्ण शर्मा
मुक्तिनाथ (मुस्ताङ), माघ १० गते । तल्लो मुस्ताङमा चार वर्षपछि यस सिजनको पहिलो पटक हिमपात भएको छ । गएरातिदेखि तल्लो मुस्ताङमा पर्ने थासाङ, घरपझोङ र वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाका बजार तथा ग्रामीण क्षेत्रमा हिमपात भइरहेको छ ।
हिमपात भएसँगै चिसो अत्यधिक बढेको छ । बेनी–जोमसोम सडकको यातायात सेवामा भने हिमपातले असर गरेको छैन । यातायातका साधन चलिरहेका छन् । गएको कात्तिक महिनाको दोस्रो साता हिन्दू तथा बौद्धमार्गीहरूको महत्त्वपूर्ण तिर्थस्थलको मुक्तिनाथ मन्दिर तथा माथिल्लो मुस्ताङमा हिमपात भए पनि कागबेनीदेखि तल हिमपात भएको थिएन ।
अत्याधिक चिसोसँगै हिमपातका कारण सर्वसाधारणको दैनिकी प्रभावित भएको छ । चिसो बढेकाले सर्वसाधारण घर बाहिर निस्कन नसकेको बारागुङ मुक्तिक्षेत्र–४,का वडा अध्यक्ष कर्म घ्यचो गुरुङले बताउनुभयो । वडा अध्यक्ष गुरूङले भन्नुभयो, ‘‘चार वर्षपछि हिमपात भएको छ, अत्याधिक चिसोका कारण सुनसान ।’’ सदरमुकाम जोमसोमस्थित पुथाङ एयरर्पोटबाट समेत आसपासका क्षेत्रमा सेताम्मे हिमपात देखिन्छ । पछिल्लो समयत अत्याधिक चिसोले पर्यटकीयस्थल पनि सुनसान छन् । यता हिमपातले कृषकमा भने खुशीयाली छाएको छ ।

हिउँ पग्लिएर खेतबारीमा रहेको किराहरु मर्ने, चिस्यानका कारण गर्मी सिजनमा बोटबिरुवा फस्टाउने भएकाले उत्पादन बढ्ने कृषि तथा पशु विकास कार्यालय मुस्ताङका कार्यालयका प्रमुख डा.लालमणी अर्यालले बताउनुभयो । हिमपातले स्याउ लगायत अन्य फलफुल, कृषि उत्पादनलाई सघाउने प्रमुख अर्यालको भनाइ छ ।
हिमपातले स्याउ, जौँ, गहुँ, उवा, फापर बालीको उत्पादन वृद्धि हुन्छ । स्याउको परागसेचनका लागि चिसो तापक्रमको आवश्यकता पर्ने र चरन क्षेत्रमा समेत घाँस पलाउन सहज हुने भएकाले नियमित हिमपात कृषकलाई बरदान सावित हुने डा. अर्यालको भनाइ छ । पछिल्लो समय जलवायु परिवर्तनका कारण नियमित हिमपात नहुदाँ कृषि, पशुपालनको क्षेत्रलाई असर गरेको थियो । यसैबिच उपल्लो मुस्ताङमा चिसो बढेसँगै अधिकांश नागरिक जाडो छल्न बेसी झरिसकेका छन् भने विकास निर्माणका काम रोकिएको छ । स्थानीय तह तथा अन्य सरकारी कार्यालयमासेवाग्राहीको उपस्थिति पनि न्यून छ ।





