राधाकृष्ण डुम्रे
वालिङ (स्याङ्जा), माघ १० गते । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि जिल्लामा क्रियाशील दलले उम्मेदवारको मनोनयन दर्ता गरेसँगै मतदाताकेन्द्रित अभियान सुरु गरेका छन् । नेपाली कांग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिस्ट पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टीलगायतका दलले चुनावलक्षित अभियान सुरु गरेका हुन् । दलले निर्वाचन परिचालन कमिटी क्षेत्र र पालिकास्तरमा भेला गरिरहेका छन् ।
नेपाली कांग्रेसले क्षेत्र नं. ब१ र २ को भेला सम्पन्न गरेको छ भने जिल्लास्तरीय भेला तथा अभिमुखीकरण कार्यक्रम चलाउन लागेको कांग्रेस स्याङ्जाका कार्यवाहक सभापति केदार काफ्लेले जानकारी दिनुभयो । नेपाली कांग्रेस स्याङ्जाले स्याङ्जाका सभापति राजु थापाको संयोजकत्वमा एक हजार एक निर्वाचन परिचालन समिति गठन गरेको छ ।
कांग्रेसको बैठकले स्याङ्जाका दुई वटै निर्वाचनमा चुनावी अभियान सञ्चालन गर्ने योजनासहित निर्वाचन परिचालन समिति बनाएको जनाएको छ । क्षेत्र नं. १ मा भरतराज ढकाल र क्षेत्र नं. २ मा भागवतप्रकाश मल्ललाई निर्वाचित गराउन गाउँ गाउँमा पुग्ने योजना बनाएको कांग्रेसले जनाएको छ ।
नेपाली कांग्रेस स्याङ्जाका पूर्वसभापति तथा पूर्वसांसद शङ्कर पाण्डेको संयोजकत्वमा निर्वाचन अनुगमन समिति, नेपाली कांग्रेस स्याङ्जा उपसभापति केदार काफ्लेको संयोजकत्वमा आर्थिक व्यवस्थापन समिति र अर्का उपसभापति शेरबहादुर थापाको संयोजकत्वमा स्थानीय तह समन्वय समिति गठन गरिएको छ ।
स्याङ्जाका सचिव दामोदरको संयोजकत्वमा घोषणपत्र तथा प्रतिबद्धतापत्र साथै जिल्ला सचिवालय समन्वय समिति, सहसचिव ध्रुवबन्धु पौडेलको संयोजकत्वमा भ्रातृ एवं शुभेच्छुक संस्था समन्वय समिति स्याङ्जाका प्रवक्ता भरतप्रसाद लम्सालको संयोजकत्वमा सूचना तथा सञ्चार समिति गठन गरिएको छ ।
नेपाली कांग्रेसका नेता लोकतान्त्रिक यातायात व्यवसायी सङ्घ गण्डकी प्रदेशका अध्यक्ष महेश (गणेश) थापाको संयोजकत्वमा यातायात व्यवस्थापन तथा अन्तरजिल्ला समन्वय समिति गठन गरिएको कांग्रेस स्याङ्जाका सचिव दामोदर लम्सालले जानकारी दिनुभयो ।
यस्तै नेकपा (एमाले) स्याङ्जाले आगामी निर्वाचनका लागि परिचालन कमिटी बनाएको छ । बिहीबार बसेको पार्टी जिल्ला कमिटीको बैठक तथा अभिमूखीकरण कार्यक्रमले पार्टीका जिल्ला अध्यक्ष सूर्यप्रसाद गैरे (पारस) को संयोजकत्वमा एक हजार ५०१ सदस्यीय निर्वाचन परिचालन कमिटी गठन गरेको हो । परिचालन कमिटीमा जिल्ला कमिटी, जिल्ला सल्लाहकार कमिटी, निर्वाचन क्षेत्रीय समन्वय कमिटी, पालिका कमिटी, जनप्रतिनिधि, जनसङ्गठनका केन्द्रीय सदस्य, प्रदेश पदाधिकारी तथा सदस्य, जिल्लाका पदाधिकारी र वडा कमिटीका सबै पदाधिकारी रहने जनाइएको छ ।
साथै बिहीबारको बैठकले पार्टीकी केन्द्रीय सदस्य सीमाकुमारी क्षेत्रीको संयोजकत्वमा निर्वाचन परिचालन हाइकमान्ड, चक्रबहादुर पराजुलीको नेतृत्वमा जिल्ला अनुगमन तथा मूल्याङ्कन समिति र प्रदेश कमिटी सचिवालय सदस्य सुधीर पौडेलको नेतृत्वमा प्रशासनिक सहजीकरण तथा समन्वय समिति गठन गर्ने निर्णय गरेको छ ।