दाङ समाचारदाता
दाङ, माघ १० गते । प्रदेश सभामा २०७९ सालको निर्वाचनबाट निर्वाचित भएका चार जना सदस्यले कार्यकाल पूरा नहुँदै पद त्याग गरी प्रतिनिधि सभा सदस्य बन्न चुनावी मैदानमा होमिएका छन् ।
लुम्बिनी प्रदेश सभा अन्तर्गत दाङ क्षेत्र नं. ३ (२) बाट निर्वाचित धनबहादुर मास्की प्रदेश सभाको कार्य अवधि नसकिँदै राजीनामा दिएर दाङ क्षेत्र नं. ३ बाट प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवार बन्नुभएको छ ।
२०७९ सालको निर्वाचनमा तत्कालीन नेकपा (माओवादी केन्द्र) बाट नेपाली कांग्रेससहितको गठबन्धनका तर्फबाट उम्मेदवार बन्नुभएका मास्कीले २२ हजार ३२१ मत प्राप्त गरी विजयी हुनुभएको थियो । उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का हुकुम बस्नेतले २० हजार १५८ मत पाउनुभएको थियो ।
प्रदेश सभा सदस्य बनेसँगै आर्थिक मामिलामन्त्रीसमेत बन्नुभएका मास्की यस पटक भने कुनै गठबन्धनबिनै नेपाली कम्युनिस्ट पार्टीबाट प्रतिनिधि सभा निर्वाचनमा होमिनुभएको हो ।
कार्यकाल नसकिँदै राजीनामा दिएको भन्दै आलोचना भइरहे पनि मास्कीले भने मतदाताको माग अनुसार आफू सङ्घीय संसद्मा जान खोजेको दाबी गर्नुभयो । उहाँले भन्नुभयो, “प्रदेश सभामा गर्नुपर्ने काम गरिसकेँ, बाँकी काम प्रतिनिधि सभा सदस्य भएर गर्न चाहन्छु । यो मेरो चाहना होइन, जनताको माग हो ।”
बर्दिया क्षेत्र नं. २ (२) बाट निर्वाचित नागरिक उन्मुक्ति पार्टीका धर्मबहादुर चौधरीले पनि प्रदेश सभा सदस्य पद त्यागेर प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवारी दिनुभएको छ ।
२०७९ को निर्वाचनमा चौधरीले २० हजार १२७ मत ल्याएर झन्डै दोब्बर मतान्तरले विजयी हुनुभएको थियो । उहाँका प्रतिद्वन्द्वी नेकपा (माओवादी केन्द्र) का मानबहादुर थारूले १० हजार ९८४ मत पाउनुभएको थियो ।
नागरिक उन्मुक्ति पार्टी नेपाली कम्युनिस्ट पार्टीमा समाहित भएपछि चौधरीले कुलमान घिसिङ नेतृत्वको उज्यालो पार्टीमा प्रवेश गर्दै प्रदेश सभा सदस्यबाट राजीनामा दिनुभएको थियो ।
उज्यालो पार्टीका महासचिवसमेत रहेका चौधरी बर्दिया क्षेत्र नं. २ बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार बन्नुभएको छ । भौतिक पूर्वाधार विकास मन्त्रीसमेत भइसक्नु भएका चौधरीले पनि जनताको अपेक्षा अनुसार आफू सङ्घीय निर्वाचनमा सहभागी भएको बताउनुभयो ।
बाँके क्षेत्र नं. १ (१) बाट प्रदेश सभा सदस्यमा निर्वाचित कृष्णा केसीले पनि पद त्याग गरी प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवारी दिनुभएको छ । तत्कालीन नेकपा (माओवादी केन्द्र) बाट महिला उम्मेदवारका रूपमा निर्वाचित केसी लुम्बिनी प्रदेश सरकारमा पटक पटक मन्त्रीसमेत भइसक्नुभएको छ ।
२०७९ सालको निर्वाचनमा गठबन्धनबाट विजयी केसी यस पटक भने गठबन्धनबिनै माओवादी केन्द्रबाट विद्रोह गरेर बनेको प्रलोपा पार्टीबाट बाँके क्षेत्र नं. १ बाट उम्मेदवार बन्नुभएको हो ।
अघिल्लो निर्वाचनमा केसीले नौ हजार १०३ मत प्राप्तसहित विजयी हुनुभएको थियो । उहाँका निकटतम प्रतिद्वन्द्वी नागरिक उन्मुक्ति पार्टीका सोमराज चौधरीले सात हजार ९६६ मत पाउनुभएको थियो । रुपन्देही क्षेत्र नं. ४ (१) बाट लोकतान्त्रिक समाजवादी पार्टीका तर्फबाट निर्वाचित कन्हैया बनियाँले पनि प्रदेश सभा सदस्य पद त्यागेर प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवारी दिनुभएको छ ।
२०७९ को निर्वाचनमा बनियाँले १५ हजार १३७ मत प्राप्त गर्नुभएको थियो भने जनमत पार्टीका जितेन्द्रनाथ शुक्ल (बब्लु) नौ हजार २५३ मतसहित दोस्रो हुनुभएको थियो । प्रदेश सभा सदस्यको कार्यकाल नसकिँदै सङ्घीय संसद्को आकाङ्क्षा देखाउँदा चारै जना नेतामाथि आलोचना भइरहेको छ ।