जेनजी आन्दोलनको प्रभाव स्वरूप सङ्घीय चुनाव नजिकिँदै जाँदा मतदाता शिक्षाले निर्णायक भूमिका खेल्ने छ । मतदाता शिक्षाले नै चुनावी परिणामलाई वास्तविक आकार दिनका लागि उत्प्रेरक भूमिका निर्वाह गर्न सक्छ । हाम्रो परिवेशमा राजनीतिक सङ्क्रमण, सङ्घीय पुनर्संरचना र शासन व्यवस्थाको चुनौतीका रूपमा मतदाता शिक्षा केवल साक्षरता र औपचारिक शिक्षासँग मात्र सम्बन्धित विषय होइन । यसले समग्रमा आमजनतालाई राजनीतिक जागरूकता, संवैधानिक समझ, आलोचनात्मक तर्क र नागरिक जिम्मेवारीबोध गराउँछ । आगामी पाँच वर्षका लागि सरकारको नेतृत्व र स्वरूपले बोकेको राजनीतिक दर्शन अनुरूप देश विकासको योजनाबारे बुझ्न आममदतातालाई सचेत बनाउनु पर्छ । पाँच वर्षका लागि राजनीतिक नेतृत्वका कारण आउन सक्ने चुनौतीका सम्बन्धमा नागरिकलाई सचेत बनाउने हुनाले यसले सम्पूर्ण चुनावी परिणाममा नै उथलपुथल ल्याइ दिन सक्छ । नेपालको विगतको चुनावी अनुभवबाट यहाँको लोकतन्त्रप्रतिका दार्शनिक दृष्टिकोणलाई समेत एकीकृत गर्दै निर्वाचन आयोगबाट हुने मतदाता शिक्षाले चुनावलाई प्रत्यक्ष वा अप्रत्यक्ष प्रभाव पार्ने पक्का छ ।
लोकतन्त्रको आधारस्तम्भ
दार्शनिक दृष्टिकोणबाट हेर्दा पनि मतदाता शिक्षा र लोकतन्त्रको आधारभूत मान्यताबिच निश्चित आधारभूत सम्बन्ध देखिन्छ । यस सम्बन्धमा अध्ययन गर्दा शास्त्रीय मान्यता अनुसार लोकतान्त्रिक सिद्धान्तकार जोन स्टुअर्ट मिलले सन् १८५९ मा आफ्नो पुस्तक ‘अन लिबर्टी मा कन्सिडरेसन अन रिप्रिजेन्टेटिभ गभर्मेन्ट’ मा लोकतन्त्रको गुणस्तर सुधार्न सूचित र शिक्षित मतदाताको महत्वमा जोड दिएका छन् । उनले नागरिकले राम्रोसँग चुनावका बारेमा जानकारी राखेर मात्र मतदान गर्न सक्नु पर्छ भनेका छन्, जसको अर्थ देशमा सुशासनका लागि सूचित र शिक्षित मतदाता आवश्यक छ भन्ने नै हो । मतदाता शिक्षाले मतदातामा व्यक्तिगत निर्णय लिने क्षमताको विकास गर्छ । यसले नागरिकलाई हेरफेरको सट्टा योग्यताको आधारमा प्रतिनिधि छनोट गर्न सक्षम बनाउँछ । यस सम्बन्धमा, जिन ज्याक्स रुसोले नागरिक शिक्षालाई लोकप्रिय सार्वभौमिकताको मेरुदण्ड मानेका छन् । सन् १७६२ मा उनले आफ्नो पुस्तक ‘इमिली र अन एजुकेसन’ मा मतदाता शिक्षालाई लोकतान्त्रिक सार्वजनिकताका रूपमा जोड दिएको पाइन्छ, जस अनुसार नागरिकले जिम्मेवारीपूर्वक स्वतन्त्रता प्रयोग गर्न ‘सामान्य इच्छा’ बुझ्नुपर्ने भनिएको छ ।
सन् १९९९ मा आफ्नो पुस्तक
‘डिभलपमेन्ट एज फ्रिडम’ मा अर्का राजनीतिशास्त्री अमत्र्य सेनले आधुनिक राजनीतिक सिद्धान्तका रूपमा कक्षताको दृष्टिकोणले मतदाता शिक्षालाई व्यक्तिहरूको मौलिक स्वतन्त्रता विस्तार गर्ने माध्यमको रूपमा परिभाषित गरेका छन् । जसमा उनले मतदाता शिक्षालार्ई मौलिक स्वतन्त्रताका र शिक्षाका रूपमा चुनावमा लागु गर्दा शिक्षित मतदातासँग नीतिगत विकल्पको मूल्याङ्कन गर्ने, नेताहरूको जाँच गर्ने र लोकतान्त्रिक प्रक्रियामा अर्थपूर्ण रूपमा भाग लिने क्षमता बढी हुने विचार राखेका छन् । यसरी शिक्षाले मतदानलाई कर्मकाण्डीय कार्यबाट सचेत राजनीतिक नेतृत्वको छनोट गर्ने प्रक्रियामा रूपान्तरण गर्छ । नेपालको सन्दर्भमा यस विषयलाई हेर्दा यहाँको लोकतन्त्रबाट आमनागरिक विशेष गरी यसबाट समग्रमा फाइदा लिन चाहने अपेक्षाकृत युवावर्गको सङ्ख्या बढी छ । समय समयमा सडकमा पोखिने युवाका आवाज र आक्रोशलाई बारम्बार अधिनायकवादी शैलीमा अवरोध गरिएको छ । त्यसैले पनि यी दार्शनिक चिन्तन नेपालको वर्तमान अवस्थामा बढी नै प्रासङ्गिक देखिन्छ । सङ्घीय लोकतन्त्रको सफलता संवैधानिक डिजाइनमा मात्र नभई नागरिकको संज्ञानात्मक र नैतिक मूल्यमा पनि निर्भर हुन्छ ।
नेपालमा मतदाता शिक्षा
यस परिप्रेक्षमा हेर्दा नागरिक र राजनीतिक शिक्षा नेपालमा मतदाता शिक्षालाई संविधान, सङ्घीय संरचना, निर्वाचन कानुन, नागरिकको ज्ञान, अधिकार र कर्तव्यका रूपमा प्राथमिकता दिइएको पाइन्छ । मतदाता शिक्षालाई आम सञ्चार माध्यम, सामाजिक सञ्जाल, विभिन्न समयमा भएका राजनीतिक आन्दोलनमार्फत प्रत्यक्ष र अप्रत्यक्ष रूपमा देशैभर फैलाउनु पर्छ । मतदाता शिक्षा मतदानको प्रक्रिया र विधिसँग सम्बन्धित हुन्छ । नेपालमा हाल औपचारिक साक्षरता दरमा उल्लेखनीय सुधार भएको कारणले पनि यहाँ जनसङ्ख्याको दुई तिहाइभन्दा बढी नागरिक राजनीतिक रूपमा अझै परिपक्व भइसकेका छैनन् । धेरै मतदाताले मतपत्र पढ्न सक्छन् । दलको घोषणापत्र, सङ्घीय क्षमता र नीतिगत प्रभावको व्याख्या गर्न सक्षम देखिँदैनन्, फलस्वरूप शासनसत्तामा कमजोर नेतृत्व मात्र हाबी भएको विगतको हाम्रो अनुभव छ । मतदाता शिक्षामा रहेको यो खाडलको प्रत्यक्ष परिणाम चुनावी व्यवहारमा समेत भर पर्छ । नेपालमा विगतका सङ्घीय, प्रान्तीय र स्थानीय चुनावका अनुभवलाई हेर्दा मतदाता शिक्षालाई चुनावी परिणामसँग समेत जोडेर हेरिएको छ ।
मुद्दामा आधारित नेतृत्व छनोट
विशेष गरी सहरी र अर्धसहरी क्षेत्रमा रहेका शिक्षित मतदाताको माग भनेकै भ्रष्टाचार नियन्त्रण, आर्थिक व्यवस्थापन, सार्वजनिक सेवाको समुचित वितरण र संस्थागत जवाफदेहिता जस्ता शासनसँग सम्बन्धित मुद्दालाई प्राथमिकताका रूपमा लिने प्रवृत्ति देखिएको छ । हालैका चुनावमा वैकल्पिक र स्वतन्त्र उम्मेदवारको उदयले समेत यो प्रवृत्ति प्रस्ट परेको देखाउँछ । यी मतदाताले परम्परागत पार्टीका सम्बन्धमा शुसासन कायम गर्न नसक्ने, कमजोर प्रदर्शन गर्ने, पदाधिकारीलाई दण्ड दिने र गलत कार्यलाई पुरस्कृत गर्ने सम्भावना बढी देखिन्छ । यसको विपरीत केही मात्रामा पहिचानको विषयका कारणले समेत मतदाता शिक्षामा आधारित नागरिकको चेतनाको स्तर प्रायः पहिचानमा आधारित मतदानसँग सम्बन्धित देखिन्छ । जातीयता, स्थानीयता, संरक्षक–ग्राहक सम्बन्ध र नेतृत्वले मसेत मतदाता शिक्षालाई प्रभावित पारिरहेको छ । यस विषयसँग सम्बन्धित मतदान स्वाभाविक रूपमा अलोकतान्त्रिक नभए पनि, यसले दलहरू बिचको कार्यक्रमगत प्रतिस्पर्धालाई कमजोर बनाउने सम्भावना हुन्छ ।
लोकप्रियता र गलत सूचनाको प्रतिरोध
निर्वाचन आयोगद्वारा निर्वाचनका समयमा दिइने मतदाता शिक्षाले चुनावको समयमा विभिन्न राजनीतिक दलका राजनीतिक प्रतिबद्धताको आलोचनात्मक मूल्याङ्कन गर्ने क्षमता मतदातामा बढाउँछ । नेपालमा अनुभवजन्य अध्ययन र चुनावको अनुगमन प्रतिवेदनले समेत उच्च शिक्षा हासिल गरेका मतदाता सामाजिक सञ्जालमार्फत विभिन्न खालका अफवाहमार्फत फैलिने अवास्तविक लोकप्रियतावादी प्रतिबद्धता र चुनावको समयमा हुने सबैखाले गलत सूचनाका लागि कम संवेदनशील हुन्छन् भन्ने देखाएको छ । चुनावका समयमा राजनीतिक पक्षबाट हुन सक्ने साइबर बुलिङ, सन्देश वुस्ट र साइबर सेनाको प्रयोगले नेपालमा समेत आगामी चुनावमा डिजिटल अभियान तीव्र हुँदै जाने हुनाले निर्वाचनका समयमा दिइने मतदाता शिक्षाको अझै सन्दर्भिकता देखिन्छ । यसका लागि नेपाल प्रेस काउन्सिल र नेपाल प्रहरीको साइबर ब्युरोले विशेष अनुगमन गर्नुपर्ने हुन्छ ।
नेपालमा मतदाता शिक्षा र मतदानबिचको सम्बन्ध जटिल छ । शिक्षित मतदाताले उच्च राजनीतिक चासो प्रदर्शन गर्दा, बसाइँसराइ, सहरी भेगका नागरिकको चुनाव प्रतिको उदासीनता र मोहभङ्गले कहिलेकाहीँ कम मात्र मतदान हुन सक्छ । यसको विपरीत, कम शिक्षित ग्रामीण मतदाताले प्रायः दलहरूद्वारा सामाजिक परिचालन र सामुदायिक दबाबका कारण बढी मात्रामा मतदान गर्छन् । यसरी मतदाता शिक्षाले मतदाताको निरन्तर सहभागिताको गुणस्तरलाई असर गर्छ । शिक्षित मतदाता चुनावको दिनभन्दा अरू दिन बाहिरका काममा संलग्न हुन्छन् । उनीहरूले जनप्रतिनिधिलाई प्रश्न गर्ने, सूचनाको अधिकार प्रयोग गर्ने, नागरिक समाजको छलफलमा भाग लिने र कानुनी माध्यमबाट असहमति व्यक्त गर्ने अवसर पाएका हुँदैनन् । निर्वाचन आयोगले आमसञ्चार माध्यम र अन्य उपयुक्त माध्यबाट दिने मतदाता शिक्षाले लोकतान्त्रिक जवाफदेहितालाई समेत बलियो बनाउँछ ।
सङ्घीयतामा शिक्षित मतदाता
नेपालको सङ्घीय प्रणालीका कारण मतदाताले यहाँको सङ्घीय, प्रान्तीय र स्थानीय सरकारबिच शक्तिको विभाजन बुझ्न आवश्यक छ । अघिल्ला चुनावबाट प्राप्त अनुभवजन्य प्रमाणले क्षेत्राधिकार र जिम्मेवारीका सम्बन्धमा समेत नागरिकले निश्चित ज्ञान राख्न आवश्यक देखिन्छ । मतदाता शिक्षाले चुनावमार्फत हुने नेतृत्व छनोट विशेष ध्यान दिइन्छ । सङ्घीय उम्मेदवारका राजनीतिक प्रतिबद्धता सङ्घीय अधिकार क्षेत्रभित्र पर्छन् वा प्रान्तीय वा स्थानीय क्षेत्रमा अतिक्रमण गर्छन् कि गर्दैनन् भनी मूल्याङ्कन गर्न समेत शिक्षित मतदाता आवश्यक हुन्छ । केही क्षेत्रमा मतदाता शिक्षाको प्रभाव संरचनात्मक रूपमा समेत सीमित गरिएको देखिन्छ । नेपालमा आममतदाताको शैक्षिक उपलब्धि विभिन्न क्षेत्र, लिङ्ग, जाति र आर्थिक वर्गमा असमान छ । ग्रामीण, सीमान्तकृत र आर्थिक रूपमा वञ्चित समुदायमा प्रायः गुणस्तरीय शिक्षा नभएको कारण मतदातामा निष्पक्ष र स्वतन्त्र रूपमा सूचनाको सहज पहुँच देखिँदैन । यहाँ राजनीतिक दलहरूले समेत वास्तविक मतदाता शिक्षा भन्दा कार्यकर्ताको परिचालनमा बढी लगानी गरेका छन् । यस्ता व्रिmयाकलापले नीतिगत बहसमा बारम्बार नारा, व्यक्तित्व र छोटो अवधिको प्रलोभनलाई जोड दिएका छन् । यो वातावरणले मतदाता शिक्षाको रूपान्तरणको क्षमतालाई समेत सीमित गरेको छ ।
मतदाता शिक्षाको प्रभाव
नेपालमा मतदाता शिक्षाल आसन्न फागुन २१ गते हुने सङ्घीय निर्वाचनलाई प्रभाव पर्ने निश्चित छ । शिक्षित मतदाता रहेका निर्वाचन क्षेत्रमा प्रदर्शनमा आधारित राजनीतिक जनमत बढ्दो देखिन्छ । विशेष गरी पहिलो पटक मतदान गर्ने मतदाता नेतृत्वको विश्वसनीयतामा संवेदनशील हुनु आवश्यक छ । मुद्दामा र पहिचानमा आधारित मतदान बिच ध्रुवीकरण देखिनुले नेपालको हालको शैक्षिक विभाजनलाई प्रतिविम्बित गरेको छ । जहाँ मतदाता शिक्षा कम हुन्छ नयाँ सोचको बिजारोपण नभई दलहरूका परम्परागत रणनीति पुनस्र्थापित हुने पक्का छ । अतः मतदाता शिक्षाले देशैभरि समान रूपमा चुनावी परिणाम निर्धारण नगर्न सक्छ । यसले नेपालको लोकतान्त्रिक विकासको दिशालाई निर्णायक रूपमा प्रभाव पार्नेख पक्का छ ।
लोकतान्त्रिक परिपक्वता
नेपालको आगामी चुनावमा मतदाता शिक्षाको प्रभाव सङ्ख्यात्मक विजय वा हारभन्दा बाहिर छ । यसको मूलमा मतदाता शिक्षाले लोकतान्त्रिक मूल्य अनुरूप आगामी पाँच वर्षका लागि शासनसत्ता हाँक्ने योग्य नेतृत्व छनोट गर्ने नैतिक र तर्कसङ्गत आधारलाई आकार दिएको छ । दार्शनिक आधारमा भन्दा मतदाता शिक्षाले नागरिकलाई स्वायत्त राजनीतिक एजेन्टको रूपमा कार्य गर्न सक्षम बनाउँछ । अनुभवजन्य विषयलाई आधार मान्दासमेत मतदाता शिक्षाले निर्वाचनलाई सार्वजनिक जवाफदेहिता, मुद्दामा आधारित प्रतिस्पर्धा र संस्थागत विश्वासलाई बढावा दिन्छ । मतदाता शिक्षाले चुनावमार्फत नेपाललाई विभिन्न राजनीतिक चुनौती सामना गर्न सक्ने योग्य नेतृत्व दिन्छ । त्यसैले पनि मतदाता शिक्षा नेपालको लोकतन्त्रको सुदृढीकरणका लागि आवश्यक छ । आगामी चुनावले राजनीतिक दल र उम्मेदवारको परीक्षण मात्र नगरी नेपालको मतदाताको असमान तर परिणामात्मक जागरणलाई पनि प्रतिविम्बित गर्छ । लामो समयसम्मको अनुभवबाट नेपालमा लोकतन्त्रको बल भनेकै कसले चुनाव जित्छ भन्नेमा कम र यसका मतदाता कति सूचित, आलोचनात्मक र भावी देशको नेतृत्व छनोटमा संलग्न हुन्छन् भन्नेमा बढी निर्भर गर्छ ।