विनय कर्ण
कल्याणपुर (सप्तरी), माघ १० गते । फागुन २१ मा हुने प्रतिनिधि सभा निर्वाचनमा सप्तरीबाट तीन जना राष्ट्रिय अध्यक्ष चुनावी मैदानमा उत्रिएका छन् । क्षेत्र नम्बर २ बाट जनमत पार्टीका अध्यक्ष डा. सिके राउत, जनअधिकार पार्टीका अध्यक्ष डा. शरतसिंह यादव र क्षेत्र नम्बर ३ बाट जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव चुनावी मैदानमा उत्रिनुभएको हो ।
तीन जना राष्ट्रिय अध्यक्ष सप्तरीबाट उम्मेदवार बन्दा यहाँको चुनावी सरगर्मी बढेको मतदाता बताउँछन् । यसअघि २०७९ को निर्वाचनमा सप्तरी–२ बाट जनमत पार्टीका अध्यक्ष डा. राउत र जसपा नेपालका अध्यक्ष यादव आमनेसामने प्रतिस्पर्धामा उत्रिँदा यादव डा. राउतसँग दोब्बर मतान्तरले पराजित हुनुभएको थियो ।
यसरी दुवै राष्ट्रिय अध्यक्ष एउटै निर्वाचन क्षेत्रबाट चुनाव लड्नु र एक जना चुनाव हार्नुले मधेशको राजनीतिमा नकारात्मक प्रभाव परेको मधेशवादी नेता दिनेशप्रसाद साह बताउनुहुन्छ ।
उहाँले भन्नुभयो, “विगतको तितो अनुभवबाट पाठ सिक्दै यस पटकको निर्वाचनमा यादव र डा. राउत दुवै राष्ट्रिय अध्यक्ष फरक क्षेत्रबाट निर्वाचनमा आएको भए सकारात्मक हुने थियो ।”
जेनजी आन्दोलनअघिसम्म डा. राउतसँगै जनमत पार्टीका प्रवक्तासमेत रहिसक्नुभएका डा. शरतसिंह यादव अहिले जनअधिकार पार्टी गठन गरी डा. राउतसँगै सप्तरीको क्षेत्र नं. २ बाट चुनाव लड्नुलाई पनि अर्थपूर्ण रूपमा लिनुपर्ने स्थानीय मतदाता सञ्जय शेखरले बताउनुभयो ।
चार वटा निर्वाचन क्षेत्र रहेको सप्तरीमा विभिन्न दल र स्वतन्त्र गरी १०२ जनाको उम्मेदवारी कायम रहेको छ ।
क्षेत्र नम्बर १ मा नयाँ र पुरानाबिच कडा टक्कर हुने देखिएको छ । नयाँ दल स्वाभिमान पार्टीबाट उम्मेदवार बनेका युवानेता ई. सुमित साह, जनमत पार्टीका तर्फबाट डा. जयकान्त राउत, नेपाली कांग्रेसका जिल्ला सभापति रामदेव साह, एमालेका नेता सुमनराज प्याकुरेल, रास्वपाकी पुष्पा चौधरी मुख्य प्रतिस्पर्धीका रूपमा देखिनुभएको छ ।
यस क्षेत्रमा यसअघिको निर्वाचनमा जसपा नेपालका तर्फबाट उम्मेदवार भएका नवलकिशोर साह विजयी हुनुभएको थियो ।
क्षेत्र नम्बर २ मा जनमत पार्टीका अध्यक्ष डा. राउत २०७९ को निर्वाचनमा भारी मतान्तरले विजयी हुनुभएको थियो । अघिल्लो निर्वाचनमा उहाँकै पार्टीबाट यस क्षेत्रमा प्रदेश सभा सदस्यमा जितेर मुख्यमन्त्रीसमेत भइसकेका सतीशकुमार सिंह नयाँ दल स्वाभिमान पार्टीबाट यसै क्षेत्रमा उम्मेदवारी दिनुभएको छ भने जनमत पार्टी छाडेर जनअधिकार पार्टी खोलेका राष्ट्रिय अध्यक्ष शरदसिंह यादव पनि यसै क्षेत्रबाट उम्मेदवारी दिँदा डा. राउतलाई जित निकाल्न भने सहज नरहेको मधेश मामिलाका जानकार एवं विश्लेषक अधिवक्ता अवधेशकुमार सिंहको तर्क छ । उहाँले २०५६ पछि सप्तरी–२ बाट दोहोरिएर कसैले पनि चुनाव नजितेको स्मरण गराउँदै डा. राउत बलियो भए पनि धेरै मेहनत गर्नुपर्ने अवस्था विद्यमान रहेको बताउनुभयो ।
यस क्षेत्रबाट रास्वपाका युवानेता रामजी यादव, जसपा नेपालबाट पूर्वमन्त्री उमेशप्रसाद यादव, नेपाली कांग्रेसबाट जिल्ला उपसभापति रामकुमार यादव, नेपाल जनता पार्टीबाट पूर्वप्रतिनिधि सभा सदस्य एवं महामन्त्री रञ्जु ठाकुर, राष्ट्रिय मुक्ति पार्टीबाट पूर्वमन्त्री अनिश अन्सारी, नेकपाबाट सूर्यनाथ यादव, उज्यालो नेपाल पार्टीका डा. दीपक चौधरी पनि प्रतिस्पर्धामा देखिएका छन् ।
सप्तरी क्षेत्र नम्बर ३ मा एमालेबाट ताराकान्त चौधरी र उहाँका भतिजा अमरकान्त चौधरी रास्वपाबाट उम्मेदवार बन्नुभएको छ । काका÷भतिजा आमनेसामने भएपछि चुनावमा रोचक प्रतिस्पर्धा हुने स्थानीय मतदाताको तर्क छ । यस क्षेत्रमा अघिल्लो चुनावमा नेपाली कांग्रेसका दिनेशकुमार यादव विजयी हुनुभएको थियो । यो चुनावमा पनि कांग्रेसका तर्फबाट यादव चुनावी मैदानमा उत्रिनुभएको छ ।
यस्तै यस क्षेत्रबाट जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव पनि चुनावी मैदानमा रहनुभएकाले रोचक प्रतिस्पर्धा हुने भएको छ । पहिलो पटक यस क्षेत्रबाट उम्मेदवारी दिनुभएका यादवले जित निकाल्ने दाउमा रहनुभएको छ भने नेपाली कांग्रेसका यादव, एमालेका चौधरी, राष्ट्रिय मुक्ति पार्टी नेपालका सहमहासचिव गजेन्द्रकुमार मण्डल र रास्वपाका अमरकान्त चौधरीबिच मुख्य प्रतिस्पर्धा हुने मतदाताको अनुमान छ ।
क्षेत्र नम्बर ४ मा तीन पटकको विजेता नेपाली कांग्रेसका पूर्वमन्त्री तेजुलाल चौधरी पुनः चुनावी मैदानमा उत्रिनुभएको छ । चौथो जित निकाल्दै इतिहास रच्ने दाउमा रहनुभएका उहाँलाई नेपाली कांग्रेसका पुराना नेता सीताराम साह पार्टी परित्याग गरेर रास्वपाबाट उम्मेदवारी दिनुभएका कारण चुनौती थपिएको स्थानीयको भनाइ छ ।
यहाँबाट जसपा नेपालकी महिला नेतृ डा. बबीसिंह यादव, नेकपा (एमाले) बाट, बालकृष्ण चौधरी र नेकपाबाट रुबी कर्ण पनि चुनावी मैदानमा रहनुभएकाले नयाँ र पुराना उम्मेदवारबिच कडा प्रतिस्पर्धा हुने स्थानीय मतदाता बताउँछन् ।