• १० माघ २०८२, शनिबार

मातृशिशु उपचारमा नयाँ प्रविधि

blog

जीवनको सबैभन्दा नाजुक तर सुन्दर चरण भनेकै जन्मअगाडि बित्ने क्षण हुन् । आमाको कोखभित्र कण कण जोडिँदै एक दिन संसारमा आउने प्रतीक्षामा एउटा सानो मानिसले शान्त रूपमा अव्यक्त भाषा बोलिरहेको हुन्छ । उसको कुनै आवाज हुँदैन तर उसले देखाउने सङ्केत, चाल र सानासाना गतिविधिले आफ्ना भावना व्यक्त गरिरहेका हुन्छन् । गर्भको जीवन जति अद्भूत छ, त्यति नै नाजुक पनि छ । शरीरको असामान्य विकास, अदृश्य विसङ्गति, जन्मिनुअगावै शिशुको शरीरमा देखिने विकार तथा विकलङ्गताको अवस्था वा समयअगावै जन्मिनुपर्ने अवस्थाले भविष्यमा धेरै ठुला समस्या सिर्जना हुने गर्छन् । यी र यस्तै अनेक कारणले गर्भधारण गरेर प्रफुल्लित बनेकी आमा र उनको सम्पूर्ण परिवारलाई डर, चिन्ता र अनिश्चितताको दोसाँधमा उभ्याइदिन्छन् ।

यही असहज यात्रामा साथ दिन नेपालमा केही नयाँ उपचार प्रविधि भित्रिएका छन्, जसमा काठमाडौँ मेडिकल कलेजलगायतका केही अस्पताल तथा स्वास्थ्य संस्था अग्रपङ्क्तिमा देखिएका छन् । मातृशिशु उपचारको क्षेत्रमा अहिले नेपालमा सुरु भएका दुइटा उपचार प्रविधिले धेरै ठुलो आशा जगाएका छन् । तीमध्ये पहिलो छ, आमाको गर्भमै रहेको अवस्थामा शिशुको विकास कसरी भइरहेको छ र उसमा कुनै प्रकारका विकार वा समस्या छन् कि छैनन् भन्ने जानकारी लिन सक्ने उपचार प्रणाली । यसलाई औषधी विज्ञानको भाषामा फेटल मेडिसिन सेवा भन्ने गरिन्छ । यो केवल एउटा चिकित्सा सुविधा मात्र नभएर भविष्यका आमाबाबुसँग गरिएको “हामी तपाईंका आशाहरूलाई बचाउन तयार छौँ” भन्ने वाचा पनि हो । गर्भमा हुने शिशुको विकासलाई सूक्ष्म रूपमा नियाल्न, गर्भमै हुने जटिलता पत्ता लगाउन र सुरक्षित मातृत्वको मार्ग तय गर्न यो नयाँ प्रविधि भित्रिएको हो । 

गर्भको संसार बुझ्ने माध्यम 

फेटल मेडिसिन गर्भमा वृद्धि भइरहेको जीवनको स्वास्थ्य पहिचान र उसको रक्षा गर्ने उपचार प्रणाली हो । गर्भको संसार बाहिरबाट देखिँदैन, सुनिँदैन तर अत्याधुनिक जाँचले गर्भभित्र के भइरहेको छ भन्ने परीक्षण गर्न, नजिकबाट सुन्न र बुझ्न सक्षम बनाएको छ । कसैको मुटु ठिकसँग विकास नभइरहेको हुन सक्छ, कसैको मस्तिष्कमा पानी जमिरहेको हुन सक्छ, अङ्गहरू आवश्यकता अनुसार विकसित नभइरहेका हुन सक्छन्, कसैमा रगत प्रवाहमा अनियमितता देखिन सक्छ, वा जुम्ल्याहा शिशुमा एकबाट अर्कोमा रगत सर्ने जटिल समस्या हुन सक्छ । यस्तो अवस्थामा शिशु गर्भबाटै विभिन्नखाले जटिल समस्या लिएर जन्मिने गर्छ र जन्मेपछि उसले जीवनभर ती समस्यासँग जुध्नुपर्ने हुन्छ । 

मानसिक र शारीरिक रूपमा विकलाङ्ग वा अस्वस्थ शिशु जन्मिँदा स्वयम् उसले जीवनभर पीडा भोग्नुपर्ने त छँदै छ, परिवारले नयाँ सदस्य थपिएको खुसीभन्दा बढी अनेक खालका समस्या झेल्नुपर्ने हुन्छ । यस्तो जाँच समयमै हुन नसक्दा धेरै परिवारले अनावश्यक पीडा सहे, ढिलो जानकारीका कारण कति निर्णय लिनै नसक्ने अवस्थामा पुगे, अनेकौँ प्रकारका समस्या भोग्नु प¥यो र परिरहेको छ । अब जन्मनुपूर्व गर्भमै शिशुको सम्पूर्ण अवस्थाको जाँच गर्ने उपचार प्रणाली सुरु भएको छ र त्यो समस्या निराकारण बाटोतर्फ उन्मुख भएको छ । 

फेटल मेडिसिन सेवा गर्भमा रहेका शिशुमा देखिने सम्भावित चुनौती पहिचान गर्न सक्षम छ । परीक्षणका क्रममा गर्भ रहेको ११ देखि १३ हप्तामा पूर्ण रूपमा स्क्यान गरिन्छ जसमा शिशुको नाकको हड्डी राम्ररी विकसित भइरहेको छ कि छैन, घाँटीको पछाडिको भाग आवश्यक रूपमा विकसित भइरहेको छ कि छैन भन्ने हेरिन्छ, जुन परीक्षणबाट जन्मने शिशु ६० देखि ७० प्रतिशतसम्म ठिक छ भन्ने पत्ता लाग्छ । १३ हप्तामा शिशुको मस्तिष्क, पेट र लम्बाई राम्ररी विकसित भइरहेको छ कि छैन भन्ने जाँच गरिन्छ । त्यसै गरी आवश्यकता अनुसार नियमित स्क्यान गर्दा २० देखि २३ हप्ताको परीक्षणमा जन्मने शिशुको त्यो समयसम्मको सम्पूर्ण अवस्थाको जानकारी प्राप्त गर्न सकिन्छ । यही समयमा शिशुमा क्रोमोजोम र वंशाणुगत गुणको विकास कसरी भइरहेको छ भन्ने जाँच गरिन्छ । त्यो परिणाम हेरेर गर्भवती महिला तथा उनको परिवारले गर्भ कसरी अगाडि बढाउने भन्ने बाटो तय गर्न सक्छन् । त्यसपछि २८ हप्तामा शिशुको टाउकोदेखि खुट्टाको बुढी औँलासम्म सम्पूर्ण अङ्ग र अवस्थाको परीक्षण हुन्छ र आवश्यकता अनुसार परीक्षण अघि बढाइन्छ । 

यो उपचार प्रणालीको उद्देश्य स्वस्थ्य शिशु जन्मिउन् र परिवार तथा जन्मने शिशुको भविष्य सुखमय होस् भन्ने नै हो । यो मात्रै सम्पूर्ण समस्याको समाधान भने होइन । यति धेरै सावधानी अपनाउँदा अपनाउँदै पनि कहिलेकहीँ समयभन्दा अगावै शिशु जन्मिने र जन्माउनुपर्ने अवस्था सिर्जना हुन सक्छ । यस्तो अवस्थामा त्यो शिशुलाई आमाको गर्भभन्दा बाहिरै राखेर सहज रूपमा हुर्काउनका लागि अर्को मìवपूर्ण उपचार प्रणाली सुरु गरिएको छ । सरल भाषामा भन्नुपर्दा, यो उपचार प्रणाली आमाको गर्भभन्दा बाहिर सिर्जना गरिएको कृतिम गर्भ हो जसमा शिशुले आमाको गर्भमा पाउने जस्तै आवश्यक सम्पूर्ण सुविधा प्राप्त गर्छ । यसलाई औषधी विज्ञानले जिराफ मेसिन भनेको छ, जुन समयभन्दा पहले नै जन्मिएका शिशुको स्याहारका लागि विशेषज्ञ डाक्टरको निगरानीमा प्रयोग गरिन्छ । 

जिराफले कसरी काम गर्छ ?

जिराफ नवजात शिशु राख्ने कुनै साधारण उपकरण होइन, यो त त्यो नवजात शिशुका लागि आमाको कोखभन्दा बाहिरको अत्याधुनिक कृत्रिम कोख हो, जसले शिशुलाई आमाको गर्भको जस्तै वातावरण उपलब्ध गराउँछ । समयअगावै जन्मिएका, अत्यन्तै कमजोर, कम तौलका वा श्वासप्रश्वासमा कठिनाइ भएका शिशुलाई जिराफले जीवनका धड्कनको लय समात्न सहयोग गर्छ । शिशुको शरीरलाई आवश्यक तापक्रममा राख्ने, अक्सिजनको मात्रा सन्तुलन गर्ने, श्वासप्रश्वास सहज बनाउने र शरीरभित्र भएका तीव्र परिवर्तन तुरुन्तै देखाउने यसको क्षमताले नवजात शिशुलाई जन्मको कठोर क्षणबाट बिस्तारै सहज जीवनतर्फ अग्रसर गराउँछ । अर्थात् आमाको गर्भभन्दा बाहिरको कृतिम गर्भमा पनि शिशुको विकास समान रूपमा भइरहेको हुन्छ ।

विश्व स्वास्थ्य सङ्गठनका अनुसार अहिले नेपालमा नवजात शिशुको मृत्युदर प्रतिहजारमा प्रतिमहिना १९ जना रहेको छ र सन् २०३० सम्म त्यो दर ११ जनामा झार्न निर्देशन दिएको छ । त्यही लक्ष्य हासिल गर्नका लागि अहिले मातृशिशु उपचारमा अत्याधुनिक प्रणाली भित्र्याइएका हुन् । समयभन्दा अगाडि नै जन्मेका र कम तौल भएका नवजात शिशुको सधन उपचारका लागि जिराफ इन्क्युभेटर मेकानिकल भेन्टिलेटर प्रयोगमा ल्याएको छ । यो एउटै मेसिनको २५ लाख रुपियाँभन्दा बढी पर्छ । यस्तै शिशुको फोक्सो फुलाउनका लागि हाई फ्रिक्वेन्सी अक्सिलेटरी भेन्टिलेसन मेसिनको प्रयोग भइरहेको छ । यसको मूल्य एउटाकै ४० लाखभन्दा बढी पर्छ । यो प्रविधिमार्फत सातदेखि आठ महिनामा जन्मेका र आठ सय ग्रामदेखि एक किलोग्र्रामसम्म तौलका नवजात शिशुको सफल उपचार भइररहेको छ । 

नेपालमा आधुनिक मातृशिशु उपचार अझै पहुँचका हिसाबले समान छैन । त्यसमा पनि देशमा उपल्ब्ध उपचार सेवाका बारेमा सर्वसाधारणमा पूर्ण जानकारी छैन । विदेश जानुपर्ने, समयमै जचाउन नपाउने र जोखिम भोग्नुपर्ने अवस्था अझै कायम छ । यस्तो पृष्ठभूमिमा नेपाल भित्रिएका यी प्रविधिलाई “देशमै सुरक्षित मातृत्वको भरोसा स्थापित गर्ने महìवपूर्ण कदमका रूपमा हेरिएको छ ।