• १० माघ २०८२, शनिबार

हलमा तीन चलचित्र

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, माघ १० गते । हलमा शुक्रबारदेखि तीन नयाँ चलचित्र ‘परिवर्तन’, हलिउडको ‘मर्सी’ र बलिउडको ‘बोर्डर–२’ प्रदर्शनमा आएका छन् । विजय केरुङ निर्देशित चलचित्र ‘परिवर्तन’ एक्सन–ड्रामामा आधारित छ । चलचित्र साहस, त्याग र वास्तविक बदलाको भावनाले प्रेरित एक युवाको सङ्घर्षको कथा हो । चलचित्रले देशैभर १०४ सो पाएको छ । दिव्यासी फिल्म्सको ब्यानरमा निर्माण भएको चलचित्र कथा तथा निर्माण दीपक सिवाकोटीको रहेको छ भने चलचित्रको पटकथा तथा संवाद शिवम् अधिकारीले लेख्नुभएको हो । चलचित्रमा एक्सनसँगै राजनीतिक विषयवस्तुको कथा पनि उठान गरिएको छ । चलचित्रमा सुशील श्रेष्ठ, अञ्जना बराइली, सरोज खनाल, करिश्मा मानन्धर, बुद्धि तामाङ, हेमन्त बुढाथोकी, सुवास मेचेलगायतको अभिनय रहेको छ ।

त्यस्तै बलिउड चलचित्र ‘बोर्डर–२’  ऐतिहासिक कथावस्तुमा आधारित छ । सन् १९९७ को ‘बोर्डर’ को दोस्रो शृङ्खलाका रूपमा निर्माण भएको चलचित्रलाई अनुराग सिंहले निर्देशन गर्नुभएको छ । सनी देओलका अलावा वरुण धवन, दिलजीत दोसाँझ र अहान सेट्ठीको चलचित्रमा मुख्य भूमिका रहेको छ । जेपी दत्ता, निधि दत्ता, भूषण कुमार र कृष्ण कुमारले संयुक्त रूपमा चलचित्रको निर्माण गर्नुभएको हो ।

क्रिस प्राट र रेबेका फर्गुसन अभिनीत हलिउड चलचित्र ‘मर्सी’ अपराधको भुमरीमा फसेको एक युवाको कथामा केन्द्रित छ । एउटा जासुस आफ्नै श्रीमतीको हत्याको आरोपमा अदालतको कठघरामा उभिएका छन् । उनै जासुसको वरपर कथा घुमेको छ ।