शेरबहादुर सार्की
बाजुरा, माघ १० गते । बाजुरामा शुक्रबार रातिबाट वर्षासँगै बाक्लो हिमपात भएको छ । यहाँको हिमाली क्षेत्र स्वामिकार्तिक खापर, जगनाथ, बुढीनन्दा, बडीमालिका र गौमुल लगायतका उच्च स्थानमा वर्षासँगै बाक्लो हिमपात भएको छ ।
वर्षासँगै बाक्लो हिमपात भएपछि अहिले यी स्थानमा चिसो बढ्दै गएको छ । चिसोका कारण वृद्धवृद्धा, बालबालिका र बिरामीहरुलाई समस्या हुने देखिएको छ ।
शुक्रबार रातिदेखि बाक्लो हिमपात हुँदा यहाँका अधिकांश विद्यालयमा पठनपाठन गर्न पनि समस्या हुने भएको बुढीनन्दा नगरपालिका –९ मा रहेको श्री सिद्धेश्वरी अनाथ विपन्न तथा जनजाती आवासीय आधारभूत विद्यालयका प्राधानाध्यापक तुलाबहादुर रावतले बताउनुभयो ।
उहाँले भन्नुभयो, “हाम्रो विद्यालय आवासीय विद्यालय हो । हामीले विद्यार्थीहरुलाई विद्यालयमा नै बसालेर पालन पोषण गर्ने गरेका छौं । उनीहरुको पढाइलाई थप टेवा पुग्ने गरी हामीले प्रत्येक महिनामा शनिबारको दिनमा पनि विद्यालय खुल्ला गर्ने गरेका छौं ।”
उच्च हिमाली क्षेत्रमा बाक्लो हिउँ जमेका कारण गाई, गोरु, भेडाबाख्रालाई चरिचराउन गर्न किसानलाई समस्या हुने स्थानीय प्रेमकली रोयाकाले बताउनुभयो ।

हिउँदेबालीमा राहत
लामो समयको खडेरीले यहाँका अधिकांश ठाउँमा किसानले लगाएको हिउँदे बाली गहुँ, जौ सुक्न थालेको थियो । अहिले वर्षासँगै हिउँ पर्न थालेपछि हिउँदे बालीमा राहत भएको छ ।
लामो समयको खडेरीले हिउँदे बाली गहुँ, जौ, तरकारी सुक्न थालेपछि चिन्तित बन्दै गएका किसान यती बेला भने वर्षातसँगै परेको हिमपातमा निकै खुसी भएका छन् । कात्तिकदेखि मङ्सिरमा छरेको गहुँ र जौ बाली अहिलेसम्म पनि उम्रिन सकेको थिएन । यहाँ अदिलो ठाउँमा उम्रेको जौ गुहुँ पनि सुक्खा खडेरीले सुक्न थालेको थियो ।
ढिलै भए पनि वर्षासँगै हिउँ पर्न थालेपछि हिउँदेबालीलाई केही राहत भएको बुढीनन्दाका –९ का स्थानीय प्रेमकली रोकायाले बताउनुभयो । बाजुरामा दुई लाख ३० हजार ३७ हेक्टर जमिनमध्ये २२ हजार हेक्टर मात्र खेतीयोग्य जमिन छ । यसमध्ये दस हजार ४६० हेक्टर जमिनमा गहुँ खेती गरिन्छ । यसमा १७ हजार ७८२ हेक्टर जमिनमा गहुँ उत्पादन हुन्छ । बाजुरामा पाँच हजार २३५ हेक्टर जमिन मात्र वर्ष भरीमा सिँचाइ हुने गरेको सूचना अधिकारी साहनीले बताउनुभयो ।
