• १० माघ २०८२, शनिबार

बालमन्दिरमा बालबालिकाको आकर्षण बढ्दै

blog

आफ्ना बालबालिका भर्ना गराउँदै अभिभावक । तस्बिर : टोपलाल अर्याल

टोपलाल अर्याल
रेसुंगा(गुल्मी), माघ १० गते ।
बालमन्दिर तम्घास बजारको मुटुमा छ । बाल मन्दिर निकै पुरानो शैक्षिक संरचना हो । स्वच्छ, सुन्दर पारिवारीक वातावरणसँगै संस्कारको कारणनै बालमन्दिरमा बालकालिका भर्ना गर्नेहरुको आकर्षण बढ्दै गएको छ । प्लेग्रुप, नर्सरी र एलकेजीसम्म बालबालिका बालमन्दिरमा भर्ना गरिन्छ ।

अहिलेको श्रीपञ्चमीमा ३० जना नयाँ बालबालिका भर्ना भएको बालमन्दिरको प्रध्यानाध्यापक सुष्मा श्रेष्ठले बताउनुभयो । बालमन्दिरमा बालबालिका आउने–जाने भइरन्छ । प्ले ग्रुपका बालबालिका बिहान १० बाट २ बजेसम्म र नर्सरी तथा एलकेजीका बालबालिका ३ बजेसम्म बालमन्दिर बस्छन् । बालमन्दिरमा वर्षमा एक पटक नयाँ विद्यार्थीहरु दुई हजार रकम बुझाउँनुपर्छ ।

बालमन्दिरबाट प्रत्येक विद्यार्थीलाई झोला र नगरबाट खाजाको व्यवस्थापन गरिएको छ । खाजा अपर्याप्त हुँदा आफूहरुले पनि खुवाउने श्रेष्ठले बताउनुभयो । बालमन्दिरमा पहिलो चरणमा गेटमा प्रवेश गरेदेखि घर फर्किने बेलासम्म असल संस्कार र आनीवानीको विकासमा आफुहरुको जोड हुने र विस्तारै लेख्नेपढ्ने काममा आकर्षित गर्दै लैजाने गरिन्छ ।

ठुलो खेल मैदान, सुन्दर कक्षा कोठा, शिक्षिका तथा आयाको उत्कृष्ट कार्य सम्पादनको कारण बालबालिकाको आकर्षण बढिरहेको नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष जर्नादन घिमिरेले बताउनुभयो । उहाँले पुरानो शैक्षिक धरोहरलाई संरक्षण र विकास गर्ने सबैको दायित्व भएकाले बिना पूर्वाग्रह काम गर्नुपर्नेमा घिमिरेले जोड दिनुभयो ।

नगरबाट र प्रदेशबाट विभिन्न समयमा विनियोजना गरिएको बजेटबाट बालबालिकामैत्री शौचालय, शैक्षिक सामग्री खरिद, कक्षाकोठा, बैठक कक्ष व्यवस्थापन र मर्मत, कम्प्युटर, प्रोजेक्टर खरिद लगायतको काम गरिएको जिल्ला बाल संगठन गुल्मीका सभापति केशर बहादुर थापाले बताउनुभयो । जिल्ला बाल संगठन गठन भएपछि २०३७ सालबाट शैक्षिक क्रियाकलाप सञ्चालन हुँदै आएको छ ।