• १५ पुस २०८१, सोमबार

सरकारले एसपीपी अस्वीकार गरेको पत्र तत्काल अमेरिकालाई पठाउनुपर्छ : सांसद श्रेष्ठ

blog

काठमाडौं, असार ३० गते । नेकपा (माओवादी केन्द्र)का सांसद नारायणकाजी श्रेष्ठले एसपीपी सम्झौता अस्वीकार गरेको पत्र तत्काल अमेरिकालाई लेख्न सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।

बिहीबार राष्ट्रिय सभाको बैठकमा विशेष समयमा बोल्नुहुँदै सांसद श्रेष्ठले सरकारले अमेरिकासँगको एसपीपी सम्झौता अस्वीकार गर्ने निर्णय गरेको भए पनि हालसम्म अमेरिकालाई पत्र नलेखेको बताउनुभयो ।

सरकारले गरेको यस प्रकारको निर्णयको औपचारिक जानकारी अमेरिकी सरकार र सम्बन्धित प्रदेशलाई पत्राचारमार्फत तत्काल दिनुपर्ने उहाँको भनाइ छ । सांसद श्रेष्ठले कुनै पनि सैनिक गठबन्धन वा शक्ति राष्ट्रहरुसँग अन्तर्निहीत हुने कुनै पनि कदम चाल्न सरकार तयार हुने नहुने दिशामा अगाडि बढ्न अपिल पनि गर्नुभयो ।

संसदबाट एमसीसी पारित गर्दा गरिएको १२ बुँदे व्याख्यात्मक घोषणाको सम्बन्धमा पनि अमेरिकी सरकारले धारणा प्रष्ट नगरेकाले अमेरिकाको धारणा माग्न पत्राचार गर्नुपर्ने सांसद श्रेष्ठ बताउनुहुन्छ ।

अमेरिकाले व्याख्यात्मक घोषणा स्वीकार नगरेमा एमसीसी सम्झौतालाई नयाँ ढङ्गले सोच्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।

त्यस्तै, सांसद श्रेष्ठले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको नाम नेकपा(एमाले)को अर्थ तथा योजना विभागमा परेर विवादित भएकाले उहाँले राजीनामा दिनुपर्ने बताउनुभयो । गर्भनर अधिकारीले पद छोड्दा बेस हुने उहाँको भनाइ छ ।

यसैगरी, सांसद श्रेष्ठले आगामी सङ्घ र प्रदेशको निर्वाचनमा निर्वाचन आयोगले कुनै पनि विदेशी निकायहरुसँग आर्थिक सहयोग लिनु नहुनेमा ध्यानाकर्षण गराउनुभयो । यदि आर्थिक सहयोग आवश्यक भएमा आयोगले प्रत्यक्ष रुपमा नलिइ अर्थ मन्त्रालयमार्फत लिनुपर्ने उहाँले बताउनुभयो ।